शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

को पुग्ला नकआउट : पोर्चुगलसामु इरान तगारो, स्पेनलाई मोरक्कोको चुनौती

सोमबार, ११ असार २०७५, १२ : ४०
सोमबार, ११ असार २०७५

काठमाडौँ । इरानले यस प्रतियोगितामा सबैभन्दा बढी १ सय ७ पटकसम्म बल क्लियरेन्स, ट्याकल र सेभ गरेको छ । कार्लाेस क्विरोजको टोलीले यस प्रतियोगितामा एक मात्रै गोल व्यहोरेको छ । 

सन् २०१० को विश्वकपमा ब्राजिलविरुद्ध गोलरहित बराबरी खेलेपछि पोर्चुगलले खेल नखाएको भनेकै यस विश्वकपमा मोरक्को विरुद्ध १–० को जित निकाल्दाको खेलमा हो । 

अग्रपङ्क्तिमा कप्तान क्रिस्ट्रियानो रोनाल्डो निकै फर्ममा छन् र अहिलेसम्म पोर्चुगलका तर्फबाट भएका सबै गोल उनले नै गरेका हुन् । तर आन्द्रेई सिल्भाले आफ्नो स्वभाविक खेल देखाउन सकेका छैनन् । त्यसैले पोर्चुगलमाथि दबाब हुनेछ । 

स्पेन विरुद्ध मोरक्को 
सन् २०१० को विजेता स्पेन निश्चित जितसहित दोस्रो चरणको यात्रा गर्न चाहन्छ । यता, मोरक्को विश्वकपबाट अङ्कविहीन भएर फर्कन चाहँदैन । यस खेल हारेमा स्पेनको दोस्रो चरणको यात्रा पोर्चुगल र इरानबीचको नतिजामा निर्भर हुनेछ । त्यसैले आफ्नो भाग्यको फैसला अर्को खेलले गरेको हेर्न स्पेन चाहँदैन । 

कागजी रूपमा फर्नान्डो हियरोको टोली अत्यधिक बलियो छ । यो टोली विश्वकपको दाबेदार हो । तर इरानले उसलाई पछिल्लो खेलमा धेरै दबाबमा राखेको थियो । यद्यपि अन्त्यमा स्पेनले जितिछाड्यो । सन् २०१० को युरोकपमा अन्तिम १६ मा इटलीसँग पराजित भएपछि खेलेका २२ खेलमा स्पेनले हार व्यहोरेको छैन । 

यता यस विश्वकपमा मोरक्कोले लगातार दुई खेल गुमायो । यद्यपि उसको खेल हेर्नलायक थियो । लगातार तीन खेल गुमाउन मोरक्को चाहँदैन । विश्वकपमा कम्तीमा पनि एक गोल गर्न चाहन्छ । यस विश्वकपमा उसले अहिलेसम्म गोल गरेको छैन । 

यस्तो छ दोस्रो चरणको समीकरण 

स्पेन र मोरक्को तथा पोर्चुगल र इरानबीचको खेलमा एकै समय अर्थात ११ बजेर ४५ मिनेट जाँदा (नेपाली समयअनुसार) हुनेछ । 

अन्तिम खेलमा पोर्चुगल र स्पेन दुवै विजयी भएमा उनीहरूले अन्तिम खेलमा गरेको गोलका आधारमा समूह विजेता चयन हुनेछ । यदि दुवै टोलीले समान गोलअन्तरको विजय हासिल गरे भने को समूह विजेता बन्ने ? दुवै टोलीले समान गोल अन्तरको बराबरी खेलमा पनि यही अवस्था आउनेछ । 

सुरुवाती खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । आआफ्नो दोस्रो खेलमा उनीहरूले १–० कै समान जित निकाले । त्यसैले अहिलेसम्म अङ्क, गोलअन्तर, गरेको गोल र हेड टु हेड सबै बराबर छ । 
यस्तो अवस्थामा फिफा फेयर प्ले सिस्टमबाट समूह विजेताको टुङ्गो लाग्नेछ । फिफाको नियमअनुसार दुई टोलीबीच अङ्क र गोलअन्तर समान भएमा धेरै गोल गर्ने टोलीमाथि हुनेछ । यदि गरेको गोल सङ्ख्या र खाएको गोलसङ्ख्या पनि बराबर भएमा हेड टु हेड र त्यो पनि बराबर भए फेयर प्ले सिस्टममा अब्बल ठहरिने टोली माथि पर्नेछ । 

के हो  फेयर प्ले सिस्टम ?

समान अङ्क, समान गोलअन्तर, गरेको गोल र खाएको गोल पनि बराबर अनि हेड टु हेड पनि बराबर । यस्तो अवस्थाका दुई टोलीबीच तुलना हुन्छ । पहेँलो कार्ड, दुई पहेँलो कार्ड, रातो कार्ड र पहेँलो कार्ड अनि त्यसपछि रातो कार्ड यी सबैको हिसाब गरेर टोलीको अङ्क घटाउँदै लगिन्छ र अङ्क घट्दा जुन टोली माथि रहन्छ । त्यही टोली छनोट हुनेछ । समूह चरणका खेलमा प्रत्येक खेलाडीले पाएको एक पहेँलो कार्डबापत १ अङ्क कटौती हुन्छ । यदि एकै खेलाडील दुई पहेँलो कार्ड (अप्रत्यक्ष रेड कार्ड) खाएको छ भने ३ अङ्क कटौती हुन्छ । सीधा रातो कार्डका लागि ४ अङ्क कटौती हुन्छ । पहेँलो कार्ड र त्यसपछि रातो कार्ड खाएको छ भने ५ अङ्क कटौती हुन्छ । 

अन्तिम खेलअघिसम्म स्पेनको फेयर प्ले रेकर्ड राम्रो छ । उसले समूहका सुरुवाती दुई खेलमा एक कार्ड मात्रै खाएको छ । पोर्चुगलले दुईवटा कार्ड खाएको छ । 

अन्य सम्भावना 
इरानसँगको खेल जितेमा वा बराबरीमै टुङ्गिएमा पोर्चुगल सीधै छनोट हुनेछ ।  जितले ७ र बराबरीले ५ अङ्क पोर्चुगलको नाममा हुनेछ । खेल हारेमा इरान बाहिरिनेछ । 

बराबरी भएमा  इरानको ४ अङ्क हुनेछ । यस्तो अवस्थामा मोरक्को विरुद्ध स्पेनले २ गोलअन्तरको हार व्यहोरेको खण्डमा इरान दोस्रो चरण पुग्नेछ । पोर्चुगल समूह विजेता बन्नेछ । 

पराजित भएको खण्डमा पनि पोर्चुगल दोस्रो चरण पुग्नेछ । तर त्यसका लागि पोर्चुगलभन्दा स्पेन धेरै गोलअन्तरले पराजित हुनुपर्छ वा उस्तै अन्तरले पराजित भएमा फिफा फेयर प्ले सिस्टम  लागू हुुनेछ ।

उदाहरणका लागि, पोर्चुगल र इरानले ४–४ गोलको बराबरी खेले र अर्को खेलमा स्पेनलाई मोरक्कोले १–० ले रोक्यो भने इरान दोस्रो चरणमा जानेछ किनकि उसले गरेको गोलसङ्ख्या यस खेलमा ४ र मोरक्को विरुद्ध १ जोड्दा कल ५ पुग्नेछ । खाएको गोलसङ्ख्या स्पेनविरुद्ध १ र पोर्चुगलविरुद्ध ४ गरेर ४ गोल नै पुग्नेछ अर्थात गोलअन्तर शून्य । 

अब, स्पेनले १–० ले मोरक्कोसँग पराजित भएको अवस्था मान्दा उसले गरेको गोल पोर्चुगल विरुद्ध ३ र इरानविरुद्ध १ अर्थात ४ हुनेछ र खाएको गोलसङ्ख्या पोर्चुगलविरुद्ध ३ र मोरक्कोविरुद्ध १ जोड्दा ४ नै  अर्थात गोलअन्तर शून्य हुनेछ ।

यस्तो परिस्थिति आएमा धेरै गोल गर्ने टिम इरान दोस्रो चरण पुग्नेछ । 

यदि इरान र पोर्चुगलबीच आज ३–३ गोलको बराबरी भएमा र अर्को खेलमा स्पेन १–० ले नै पराजित भएमा स्पेन जानेछ । किनकि यस्तो स्थितिमा दुवै टोलीले गरेको गोल ४ र खाएको गोल ४ हुनेछ । जब दुवै टोलीले गरेको र खाएको गोल समान हुन्छ अनि हेड टु हेडका आधारमा निर्णय लिइन्छ । स्पेनले इरानलाई हराएकाले हेड टु हेडमा स्पेन अघि हुन्छ ।

अब बाँकी रह्यो मोरक्को, अहिलेसम्म यस समूहको पुछारमा रहेको मोरक्कोले दुई खेल गुमाइसकेको छ । अन्तिम खेल जितेको खण्डमा पनि मोरक्कोले दोस्रो चरण प्रवेश गर्न सक्नेछैन । किनकि जितबाट पनि मोरक्कोले हासिल गर्ने ३ अङ्क हो । स्पेन र पोर्चुगलले अन्तिम खेलअघि नै ४–४ अङ्क जोडिसकेका छन् । 

समग्रमा टोलीहरूको विभाजन यसरी हुन्छ 
१. धेरै अङ्क हासिल गर्ने टोली 

२. अङ्क बराबर भएमा गोलअन्तर । (खाएको र गरेको गोललाई आधार मानेर )

३. गोलअन्तर बराबर भएमा धेरै गोल गर्ने टोली (धेरै गोल गरेर धेरै गोल खाने टोली नै माथि रहन्छ) 

४. गरेको र खाएको गोल पनि बराबर भएमा हेड टु हेड (दुई टोली एक आपसमा भिड्दा जो विजयी भएको थियो । उसैको पक्षमा निर्णय हुन्छ ।)

५. हेड टु हेड पनि बराबर भएमा फिफा फेयर प्ले सिस्टम । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप