शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता बजारमा भित्रिए यस्ता गीत

सोमबार, ११ असार २०७५, १२ : २०
सोमबार, ११ असार २०७५

काठमाडौँ– दैनिक आधा दर्जनभन्दा बढी नयाँ गीत सङ्गीत सार्वजनिक हुने नेपाली चलचित्र बजार केही समययता सुस्ताएको छ । ‘२१औँ फिफा विश्वकप २०१८’ को रौनकले होला सायद अहिले सातामा ६, ७ वटा मात्र नयाँ गीत सङ्गीत सार्वजनिक भएको पाइन्छ । सर्वसाधारण मात्र हैन कलाकार, गायक गायिकालगायत सबै प्रकारका सेलिब्रेटी विश्वकपतिर रमाइरहेकाले पनि गीत सङ्गीतमा कमी सङ्गीतर्कीहरूकै भनाइ रहेको छ । यो साता पनि बजारमा करिब आधा दर्जन गीत सङ्गीत सार्वजनिक भए । ती यस प्रकार रहेका छन् । 

‘रेल गाडी’

मोडल पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाह पनि अभिनयमा आएकी छन् । उनी अभिनित पहिलो म्युजिक भिडियो ‘रेल गाडी’ सार्वजनिक भएको छ । यो गीतमा गायक इरोज लामाको स्वर र सङ्गीत रहेको छ । 

भिडियोमा रोशनीले अनुराग ठकुरीसँग अभिनय गरेकी छन् । अनुरागले पनि यसै भिडियोबाट अभिनयमा डेब्यु गरेका हुन् । भिडियो विकास सुवेदीले निर्देशन गरेका हुन् । भिडियोमा अनिक के. मानन्धरको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी कलाकार अनुरागले नै गरेका छन् । 

‘अलिकति पिरतीको बैना देऊ’

गायिका मिना राईले आफ्नो नयाँ गीत ‘अलिकति पिरतीको बैना देऊ’ सार्वजनिक गरेकी छिन् । बिहीबार राजधानीमा एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो डान्स रियालिटी सो ‘छमछमी सिजन ३’का फस्टरनर अप मनिता राई, मनी के राई, दिपेश राई र सपना मगरमाथि फिचरिङ गरिएको छ । 
गीतमा मङ्गल राईको शब्द र  गायिका मिनाकै सङ्गीत रहेको छ । गोदावरी वरिपरि छायाङ्कन गरिएको भिडियाको देवराज गुरुङले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । 

‘मर्छु अब त’

गीतकार तथा सङ्गीतकार अनिल खनालको लय तथा शब्द सिर्जनामा हिक्मत क्षेत्रीको लोकदोहोरी ‘मर्छु अब त’ गीतको भिडियो बजारमा आएको छ । गायक हिक्मत क्षेत्री र गायिका देवी घर्तीको सुमधुर स्वर रहेको गीतमा वियोगान्त अभिव्यक्तिहरू व्यक्त छन् । मरुभूमि नारायणले  छायाङ्कन गरेको भिडियो राज पाठकले निर्देशन गरेका हुन् । गीतको मार्मिक भिडियोमा राहुल, पूजा, दीपक, लक्ष्मीको अभिनय देख्न सकिन्छ ।

‘अहिलेका ठिटीहरू’
कमल थापा मगरको स्वर, शब्द तथा सङ्गीत रहेको लोकपप गीत ‘अहिलेका ठिटीहरू’ सार्वजनिक भएको छ । गीतको भिडियो पनि बनेको छ । जसलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । चर्चित मोडल करिष्मा ढकाल र गायक स्वयम् कमल थापा मगरको अभिनय रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाङ्कन र दीपक विष्टको सम्पादन रहेको छ ।

‘मुख चुच्चो पार’ 
तीजको गीत ‘मुख चुच्चो पार’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक भिडियोमा मोडल अञ्जली अधिकारीले नाचेकी छन् । गायिका एलिना खनालको यो गीतको भिडियोमा अञ्जलीसँगै सुजन कोइरालाले पनि देखिएका छन् । गणेश अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् ।

‘बाहिर माया देखाएर’

गायिका काव्या आचार्यको स्वरमा रहेको बाहिर माया देखाएर बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । साइरा मगरको शब्द रचना रहेको गीतमा सङ्गीत मित्र केसीको रहेको छ । सनी सुनारले छायाङ्कन गरेको भिडियोलाई एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा साइरा मगर, विवेक मगर र पन्था लामाको अभिनय देख्न सकिन्छ । 

‘कर्ली कपाल’
मोडलहरू काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनयमा गायक प्रेम प्रकाश ओलीको  ‘कर्ली कपाल’ बोलको गीत बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफ्नो प्रस्तुति दिन निकै खप्पिस रहेका गायक प्रेम प्रकाश ओलीले विभिन्न समयमा आफ्नो सिर्जना बजारमा ल्याउने गर्छन् । एकनारायण भण्डारीको शब्द तथा लय गीतमा छ । 
 

‘धन हुनेलाई’    

गीतकार केशव विश्वकर्माको मार्मिक गीत ‘धन हुनेलाई’ सार्वजनिक गरिएको छ । आशावादी र यथार्थवादी शैलीको यो गीत भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमा गायक र सङ्गीतकार प्रदीप लामाको सङ्गीत छ भने सङ्गीत संयोजन पुस्कर सुनुवारले गरेका छन् । शुरशाला आइडल बाल गायक यायुश केसी र गायिका जिग्मी शेर्पाले यसमा स्वर दिएका छन् ।

गीतको निकै आकर्षक भिडियो बनाइएको छ । गीतकार विश्वकर्मा आफैले निर्देशन गरेको भिडियोमा बरिष्ठ कलाकार रामचन्द्र अधिकारी (गोक्ते काजी) र बाल कलाकार जेनिशा बुढा मगरको मार्मिक अभिनय देख्न सकिन्छ । यी कलाकारको साथमा पुष्कर सुनुवार, मोडेल एलिसा बजगाईं, शिसम न्यौपाने, सुवाश तिमिल्सिनालगायतको समेत अभिनय भिडियोमा समेटिएको छ ।

मुकेश हुमागाईंको छायाङ्कन, मोहन सुनुवारको सम्पादन रहेको भिडियो मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप