मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मेड इन नेपाल ‘पानीमन्त्र’ : पानी सकिए आफैं तान्ने, ट्याङ्की भरिएपछि स्वतः बन्द

सोमबार, ११ असार २०७५, ११ : ५८
सोमबार, ११ असार २०७५

अभिनेता दयाहाङ राईले सामाजिक सञ्जाल फेसबुक (मे १६) मा लेखे, ‘पानी मन्त्र । मेड इन नेपाल । यो मेसिनले घरको छतमा रहेको पानीट्याङ्कीको पानी सकिएपछि पानी तान्ने मेसिन आफैं चलाउँछ । र, भरिएपछि आफैं बन्द गर्छ । पानी र बिजुली दुवैको बचत गर्न सकिन्छ । बाँकी जानकारीका लागि फोटोमै नम्बर छ ।’

अभिनेता राईले फेसबुकमा लेखेको ‘स्टाटस’ ले पानीमन्त्रबारे सोच्न बाध्य बनाउँछ । ‘स्टाटस’ पढेपछि पानीमन्त्र त्यत्तिकैै उपयोगी रहेको प्रस्ट हुन्छ । फाइदा पनि देखाउँछ । काठमाडौंका प्रत्येक घरमा पानी तान्दा कम्ती १० देखि २० लिटरसम्म पानी खेर गइरहेको हुन्छ । पानी तानेपछि पानी भरियो कि भरिएन भनेर थाहा पाउने माध्यम नहुँदा पानी खेर जाने गर्छ । पानी पोखिएपछि मात्रै ट्याङ्की भरिएछ भनेर थाहा पाइन्छ । काठमाडौंका प्रत्येक घरबाट १० लिटरमात्रै पानी खेर जाँदा दैनिक हजारौं लिटर पानी खेर गइरहेको हुन्छ । 

एक थोपा पानी खेर जान नदिने हो पानीमन्त्र जडान गर्न सकिन्छ । ‘अन्डरग्राउन्ड’ ट्याङ्कीबाट घर वा कार्यालयको छतमा राखिएका पानीट्याङ्कीसम्म पानी तान्ने डिभाइसलाई पानीमन्त्र भनिएको हो । यो डिभाइस जोडेपछि ट्याङ्कीमा पानी छ कि छैन, पानी भरियो कि भरिएन भनेर हेरिरहन पर्दैन । घर वा कार्यालयको छतमा रहेको ट्याङ्कीको पानीको निश्चित मात्रा घट्दै गएपछि डिभाइसले पानी आफैं तान्छ । ट्याङ्की भरिएपछि बन्द गरिदिन्छ ।

‘पानीमन्त्र प्रयोग गर्नेको घर वा कार्यालयको छत र अन्डरग्राउन्ड ट्याङ्कीमा सेन्सर राखिएको हुन्छ । सेन्सर सधैं अन हुनुपर्छ,’ इनोभेटिभ घर नेपाल अध्यक्ष विक्रान्त कार्कीले जानकारी गराए, ‘सेन्सर चौबीसै घन्टा अन भए पनि एउटा मोबाइल चार्ज गर्दा जति विद्युत् खपत हुन्छ, त्योभन्दा बढी विद्युत् खपत हुँदैन ।’ 

‘अन्डरग्राउन्ड’ ट्याङ्कीमा राखिएको सेन्सरले पानी छ कि छैन भनेर सूचना दिइरहन्छ । माथिको ट्याङ्कीमा पानीको निश्चित मात्रा कम हुँदै गएपछि तलको ट्याङ्कीमा जडान गरिएको सेन्सरलाई जानकारी गराउँछ । ट्याङ्कीको पानीको निश्चित मात्रा कम हुँदै गएको जानकारी पाएपछि पानी आफैं तान्छ । ट्याङ्की भरिएपछि आफैं बन्द हुन्छ । 

यस्तो उपयोगी पानीमन्त्र जडान गर्न कति खर्च लाग्ला ? ‘२५ मिटर तार आवश्यक हुन्छ,’ इनोभेटिभ घर नेपाल सचिव अनिल कार्कीले सुनाए, ‘तारसहित ६ हजार ५ सय पर्छ । ५ सय डिस्काउन्ट दिने गरेका छौं । एक वर्ष वारेन्टी पनि छ ।’

पानीमन्त्रको अहिलेको डिभाइस ‘विथ वायर’ हो । ‘हामीले वायरलेस सेवा दिने अन्तिम चरणमा छौं,’ इनोभेटिभ घर नेपाल सचिव कार्कीले खुसी व्यक्त गरे, ‘वायरलेस सेवाले महिनाभरि कति पानी प्रयोग भयो, कतिपटक पानी तानियो, कुन समयमा पानी बढी खपत भयो भन्ने तथ्यांकसमेत निकाल्न सक्छ ।’ त्यतिमात्रै होइन, यो सेवा लिनेले फ्यान, बिजुलीबत्ती, टीभीलगायत अन र अफ अटोमेटिक गर्न सक्छन् । फ्यान, बिजुलीबत्ती, टीभी ‘अन’ गरेर घरबाहिर निस्के आफू जहाँ रहे पनि त्यहाँबाट ‘अफ’ गर्न सकिन्छ । 

सेवाग्राहीले वर्ष दिनदेखि पानीमन्त्र प्रयोग गर्दै आएका छन् । ६ हजार मूल्य तोकिए पनि २५ सयमा उपलब्ध गराउने इनोभेटिभ घर नेपालले तयारी थालेको छ । २५ घरले पानीमन्त्रको सदुपयोग गर्दै आएका छन् । अहिलेसम्म काम नलाग्ने भयो भनेर कसैले सिकायत गरेर ‘रिप्लेस’ गर्न नपरेको अध्यक्ष कार्कीले बताए । 

‘लन्च भएको वर्ष दिन पूरा भयो । तर, मागअनुसार आपूर्ति गर्न सकेका छैनौ,’ उनको स्वीकारोक्ति छ, ‘यो डिभाइस बनाउने मेसिन नेपालमा उपलब्ध छैन । अहिले हामीले हातैले बनाइरहेका छौं । डिभाइस बनाउन चाहिने आवश्यक सामान चीनबाट ल्याउनुपर्छ । चीनबाट सामान ल्याएपछि त्यसको असर डिभाइसको मूल्यमा देखिन्छ ।’

इनोभेटिभ घर नेपालले पानीमन्त्रसहित ताल सफा गर्ने यन्त्र, सडक सफा गर्ने स्वीपर र मोबाइल ट्वाइलेट निर्माणमा काम गरिरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप