शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप : एकोहोरो टिभी हेर्नाले आँखामा यस्ता समस्या आउन सक्छन्– वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर बेन लिम्बु

सोमबार, ११ असार २०७५, १० : २५
सोमबार, ११ असार २०७५

काठमाडाँै । ४ वर्षको प्रतीक्षापछि फुटबलको महाकुम्भ विश्वकप २०१८ असार ३१ बाट भइरहेको छ । रसियाको राजधानी मस्कोमा आयोजना गरिएको खेलमा अहिलेसम्म धेरै देशले आफ्नो प्रदर्शन देखाइसकेका छन् ।

नेपाल विश्वकपमा सहभागी हुन नसके पनि खेल नहेर्ने नेपाली भने कमै होलान् । एक महिनासम्म हुने विश्वकपमा एक दिनमा ३ वटा खेल हँुदै आइरहेको छ । विश्वकै चासोको विषय बनेको यो खेल नेपालीहरूले पनि पनि निकै चासोको रूपमा हेरेका छन् । यो समयमा लामो समयसम्म टिभीमा हेर्दा स्वास्थ्यको हिसाबलाई आँखालाई समस्या हुने चिकित्सकहरूले बताउँदै आइरहेका छन् । रातभरको अनिँदो आफ्नो टिमले नजित्दाको तनावले गर्दा कति त ननिदाई छर्लङ्गै रात कटाउने गरेका छन् । निरन्तर मोबाइल, टिभी हेर्नु आँखाको स्वास्थ्यका लागि सकारात्मक नभएको डाक्टर बेन लिम्बु बताउँछन् । विश्वकपका फ्यानहरूका लागि निरन्तर टिभी हेर्दा आँखामा हुने समस्याको बारेमा डाक्टर लिम्बुको छोटो जानकारी उनकै शब्दमा । 

विश्वकप नहेर्ने भनेको होइन तर आफ्नो आँखालाई पनि स्वस्थ्य राख्न उत्तिकै जरुरी छ । जिन्दगीको धेरै कुरामा मौका पाइन्छ तर आँखा यस्तो चीज हो, जसले तपाईंलाई दोस्रो मौका दिँदैन । एक पटक गुमेपछि पाउन सकिँदैन । त्यसैले आँखा बचाऊँ । यो परेर सिक्ने कुरा होइन, अर्काको अनुभवबाट जान्ने कुरा हो । धेरै समय मोबाइल हेर्ने, निरन्तर टिभी, कम्प्युटर हेर्ने अनि अहिले रातभरी विश्वकप हेर्ने नेपालीहरूका लागि आँखा स्वास्थ्य बारेमा मेरो म छोटो जानकारी राख्दैछु ।

आँखा स्वास्थ्यलाई निरन्तर राम्रो बनाएर राख्नका लागि निरन्तर पानीको मात्र आवश्यक हुन्छ । तपाईं निरन्तर परेला नझिम्क्याई आँखा हेर्नुहुन्छ भने आँखाको सर्भेस एरिया ठूलो हुन्छ । त्यस्तो हुँदा आँखाको एरिया सुख्खा हुन्छ । 

कम्प्युटर, मोबाइल, ल्यापटप हेर्दा राति निन्द्रा पुगेन भने आँखा सुख्खा बनाइदिन्छ । अहिले विश्वकपको समय चलिरहेको छ । राति टिभी हेर्दा तपाईंको आँखामा ड्राई आइको समस्या धेरै हुन सक्छ ।  

आँखामा सुख्खा हुँदा आँखा दुख्ने, चिलाउने, एकदमै धेरै सुख्खा भयो भने कहिलेकाहीँ आँखा सुख्खा भएर घाउ पनि हुन थाल्छ । माटोमा पानी सुख्खा भयो भने फुट्न थाल्छ नि त्यस्तै आँखाको कालो भाग फुट्न सक्ने सम्भावना हुन्छ । 

कसरी बच्ने 
मोबाइल, टेलिभिजन, ल्यापटप, कम्प्युटर हेर्नु नै आँखाको लागि समस्या हुन्छ भन्न खोजेको भने होइन । दैनिक कामका लागि यो प्रविधि अनिवार्य प्रयोग गर्नु नै पर्छ । तर तपाईं रातभर ननिदाई टिभी हेर्ने बानी छ, अहिले विश्वकप हेर्दै हुनुहुन्छ भने बेलाबेलामा आँखा झिम्क्याउने गर्नुस् । चिकित्सकको भनाइ मान्ने हो भने एक मिनेटमा १६ देखि २० पटकसम्म आँखा झिम्क्यानुपर्ने हुन्छ । एकोहोरो आँखा नझिम्क्याई टिभी हेरेकोहेरै गर्नु आँखका लागि समस्या हुन्छ । 

हेरेकोहेरै गर्दा आँखा पानी सबै उडेर जान्छ । झिम्क्याउनु भयो भने रिप्लेस गर्ने अथवा परेलाले सबैभागमा पानी पुर्याउने काम हुन्छ । 

तर एउटा कुरा याद गर्नुस् माहोलमा हुँदा आँखा झिम्क्याउने कुरामा ख्याल पनि गर्नुपर्छ । अरूले गलत पनि सोच्न सक्छन् । 

यस्तै थाइराइट्स, बाथरोगका बिरामीमा आँखाको सुख्खापन धेरै बढ्छ । अनिदो अनि लामो समयसम्म आँखा खुल्ला पारेर हेर्दा यस्ता रोगीहरूलाई झनै समस्या हुन्छ । यस्ता व्यक्तिले निरन्तर टिभी मोबाइल, ल्यापटप हेर्दा टाउको दुख्ने समस्या पनि हुन्छ । 

लामो समयसम्म टिभी हेर्ने बानी छ भने एउटै पोजिसन अर्थात् एउटै ठाउँमा लामो समयसम्म बसेर टिभी नहेर्दा नै राम्रो हुन्छ । किनकि हाम्रो आँखामा नजिक र टाढा हेर्ने दुईवटा सिस्टम रहेको हुन्छ । धेरै लामो समयसम्म एकै ठाउँमा बसेर हेर्दा समस्या हुने हुँदा ठाउँ परिवर्तन गर्दै टिभी हेर्नु राम्रो हो । 

टिभी हेराइमा परिवर्तन गर्ने, समय समयमा आँखालाई विश्राम दिने गर्नुपर्छ । 

टिभी हेर्दा हामी पर बसेर हेर्छाैं भने मोबाइल नजिकमा पर्छ । नजिकबाट हेर्दा आँखालाई झनै समस्या हुन्छ । जसले गर्दा  टाउको दुख्ने समस्या हुन्छ । 

मान्छे आजकाल विश्वकप टिभीमा भन्दा पनि मोबाइलमा हेर्ने धेरै छन् । टिभीभन्दा मोबाइल आँखा स्वास्थ्यको  लागि झनै समस्या हो ।

यी सबै कुराले आँखामा पार्ने नकारात्मक असर भनेको सुख्खापन नै हो । यसबाट बच्नका लागि कृत्रिम आँसुको पनि प्रयोग गर्नुपर्छ । थाइराइट, बाथरोग र स्टोरेट नामका औषधि खाने बिरामीहरूको आँखा त्यसै सुख्खा भइरहेको हुन्छ । त्यस्ता बिरामीले कृत्रिम आँसुको पनि प्रयोग गर्नुपर्ने हुन्छ । 

विश्वकपको सन्दर्भमा कुरा गर्ने हो भने एक रातमा ३ वटा गेम रहेका छन् । आँखालाई सुरक्षित राख्नका लागि आफूलाई मन नपरेको गेम नहेर्दा पनि हुन्छ । जसले गर्दा अनिदो पनि कम हुन्छ । तपाईंको आँखामा खासै समस्या पनि आउँदैन् ।

(डाक्टर लिम्बु वरिष्ठ नेत्ररोग विशेषज्ञ हुन् । उनी तिलगङ्गा आँखा अस्पतालमा कार्यरत छन् ।) 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप