शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अदुवाको निर्यात १७१.२ प्रतिशतले बढ्यो, ६४ करोडको नुडल्स र पास्ता विदेशियो

सोमबार, ११ असार २०७५, १० : ०५
सोमबार, ११ असार २०७५

काठमाडौँ । नेपाल आयातमुखी अर्थतन्त्र भएको बढ्दै गएको ब्यापार घाटाले पुष्टि गर्छ । तर नेपालमा यस्ता केही नगन्य वस्तु पनि छन् जुन क्रमशः आत्मनिर्भरतर्फ लम्किरहेका छन् । अदुवा, कुखुराको मासु, कुखुरालाई खुवाउने मकैको दाना लगायतको वस्तुमा आत्मनिर्भरतर्फ नेपाल गइरहेको छ । यद्यपि, यी सामानहरू विदेशबाट भित्रन भने पूर्णरूपमा बन्द भएको छैन । 

चालु आर्थिक वर्षको दश महिनामा नुडल्स र पास्ता ६४ करोड २६ लाख रुपियाँको निर्यात भएको छ । गत वर्षको तुलनामा यो ९.३ प्रतिशतले घटेको हो । गत वर्ष ७० करोड ८८ लाख रुपियाँ बराबरको नुडल्स र पास्ता  विदेशिएको थियो । अदुवाको निर्यात भने उत्साहजनक वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा १७१.२ प्रतिशतले अदुवाको निर्यातमा वृद्धि भएको छ । ५९ करोड १४ लाख रुपियाँ बराबरको अदुवा निर्यात भएको छ । गत वर्ष २१ करोड ८० लाख रुपियाँ बराबरको अदुवा निर्यात भएको थियो । यता मासुको निर्यात ६१.२ प्रतिशतले वृद्धि भएको छ । ४४ करोड ४१ लाख रुपियाँ बराबरको मासु निर्यात भएको हो । गत वर्ष २७ करोड ४४ लाख रुपियाँको मासु निर्यात भएको थियो । 

गत आर्थिक वर्षको (२०७३/७४) १० महिनामा १ अर्ब १८ करोड १६ लाख रुपियाँको फेल्ट निर्यात भएकोमा चालु आवको १० महिनामा ७.१ प्रतिशतले निर्यात बढेर १ अर्ब २६ करोड ५१ लाख रुपियाँ पुगेको छ । यस्तै चिया निर्यात पनि २२.६ प्रतिशतले बढेको छ । अलैँचीको निर्यात पनि २२.७ प्रतिशतले वृद्धि भएको छ । 

धागो, छुर्पी र मासुमा आत्मनिर्भर बन्दै   
पछिल्ला वर्षहरूमा धागो, छुर्पी  कुखुराको मासु, फेल्टका सामानलगायत उल्लेख्य रूपमा निर्यात भइरहेको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रले जनाएको छ । फेल्टका सामानहरूको माग युरोपियन युनियन र अमेरिकातर्फ बढी भएकाले त्यतैतिर निकासी भइरहेका छन् भने नेपाली धागोको टर्कीमा र मासु भियतनाममा बढी माग भइरहेको ब्यापार निकासी तथा प्रवद्र्धन केन्द्रले जनाएको छ । 

नेपालका प्रमुख व्यापारिक साझेदार देशमध्ये निर्यातका प्रमुख गन्तव्यमा भारततर्फ अलँैची, जुस, कपडा, धागो, फलाम तथा स्टिलका उत्पादन, जुत्ता, रोजिन र रेजिन  एसिड, जुटका बोरा, झोला प्रमुख रूपमा निर्यात भइरहेको छ  । यसैगरी नेपालबाट यूएसएतर्फ जाने सामानहरूमा उनीको गलैँचा, तयारी पोसाक,  पस्मिना, छुर्पी, हस्तकलाका सामान प्रमुख रूपमा निर्यात हुन्छन् । यस्तै जर्मनीतर्फ फेल्टका सामान, चिया, टोपी, सुतीका झोला, ट्रान्सफर्मर निर्यात हुन्छन् ।  यस्तै नेपालको प्रमुख साझेदारमध्ये एक यूकेतर्फ ऊनीको गलैँचा, पस्मिना, हस्तकलाका सामान, तयारी चाउचाउलगायत निर्यात हुन्छन् । 

ब्यापार निकासी प्रवद्र्धन केन्द्रका  विमल नेपाल कतिपय वस्तुहरूमा आत्मनिर्भर हुने सम्भावना भए पनि वैदेशिक रोजगारमा जानेक्रम बढेपछि भएका जनि बाँझै रहेकाले पनि आत्मनिर्भर हुन नसकिरहेको बताउँछन् ।  उनी भन्छन्, ‘मानिसहरू आफ्ना भएका जमिन बाँझो राखेर विदेशीनेक्रम बढ्दै भएको छ  भने धेरैजसो बस्ती विकासका लागि भन्दै प्लटिङ गरेर खेतीयोग्य जमिन प्रयोग हुन थालेको छ । यसले पनि आत्मनिर्भर त के अलिअलि भइरहेको उत्पादन पनि घट्ने जस्तो देखिन्छ ।’  

सरकारले आगामी पाँच वर्षभित्र कृषि उत्पादकत्व दोब्बर बनाउने लक्ष्य लिएको छ । क्रमशः व्यापारघाटा कम गर्ने भनेको छ । बढ्दो परनिर्भरता र घट्दो जनशक्तिले सरकारको लक्ष्य निकै चुनौतीपूर्ण देखिएको छ । आयात ९३.७ प्रतिशत छ भने निर्यात जम्मा ६.३ प्रतिशत रहेको चालु आवको (२०७४/७५) १० महिनाको तथ्याङ्कमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप