बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दुवादीको निशानामा सुश्मा स्वराज

आइतबार, १० असार २०७५, ०८ : १७
आइतबार, १० असार २०७५

बीबीसी

मुसलमान युवकसँग विवाह गर्ने हिन्दु महिलाको पासपोर्ट बनाउन मद्दत गरेपछि अब भारतकी विदेशमन्त्री सुश्मा स्वराज सोसल मिडियामा हिन्दुवादीको निशानामा छिन् ।

तन्वी सेठले लखनउ पासपोर्ट कार्यालयमा तैनाथ एक अधिकारी विकास मिश्रले उनलाई धर्मको आधारमा भेदभाव गरेको आरोप लगाएकी थिइन् ।

तन्वीका श्रीमान् अनस सिद्दीकीले मिडियासँग उनलाई धर्म परिवर्तन गर्न  र फेरा लिनका लागि दबाब दिइएको आरोप लगाए ।

त्यसपछि तन्वीले सुश्मा स्वराजलाई ट्याग गर्दै ट्वीट गरिन् । फलस्वरुप पासपोर्ट कार्यालयले तत्काल उनलाई पासपोर्ट जारी गरे ।

पासपोर्ट पाएपछि तन्वी सेठले भनेकी थिइन्, ‘अरु कसैसँग पनि यस्तो नहोस् भन्ने आशा छ । हाम्रो विवाह भएको ११ वर्ष भयो र हामीले कहिले पनि यस्तो स्थितीको सामना गर्नु परेको थिएन । पछि अधिकारीले माफी माग्दै हाम्रो पासपोर्ट जारी गरे ।’

विवादमा फसेका पासपोर्ट कार्यालयका अधिकारी विकास मिश्रले आफ्नो सफाईमा मिडियासँग भनेका थिए, ‘मैले तन्वी सेठसँग विवाह दर्तामा राखिएको नाम सादिया अनस लेख्नका लागि आग्रह गरेको थिए तर उनले अस्विकार गरिन् । हामीले कडा जाँच गर्नुपर्ने हुन्छ ता कि कसैले आफ्नो नाम परिवर्तन गरेर पासपोर्ट नबनाओस् ।’

यी आरोपपछि विकास मिश्रको ट्रान्सफर लखनउबाट गोरखपुर गराइयो । सोसल मिडियामा यो मुद्दाले चर्चा पाएपछि केही हिन्दुवादी समूहले विकास मिश्रको समर्थनमा अभियान चलाएका थिए ।

तन्वी सेठलाई पासपोर्ट दिइयो तर पूरा प्रक्रियामाथि प्रश्न उठाएपछि उनको पासपोर्टमाथि थप अनुसन्धान पनि हुनसक्छ ।

यसैबीच फेसबुकमा सुश्मा स्वराजको पेजलाई नकारात्मक रेटिङ दिइँदैछ ।

यस्तै ट्वीटरमा पनि सुश्मा स्वराजमाथि विभिन्न आरोप लगाइँदैछ ।

राजपूत विपुल सिंहले ट्वीटरमा लेखे, ‘ती अधिकारीको के गल्ती थियो, उनले त आफ्नो कर्तव्य निभाए । ’

रुद्र राजपुरोहितले लेखे, ‘विकास मिश्रा, नियमको पालना गर्दै आकाशभन्दा पनि माथि पुगे र सुश्मा स्वराज सेकुलरिजमको चक्करमा पातालभन्दा पनि तल ।’

सचिन गुप्ताले लेखे, ‘म तपाईंलाई अनफलो गर्दैैछु किनभने तपाईंले कुनै प्रारम्भिक अनुसन्धान नगरी पासपोर्ट अधिकारीलाई यो आधारमा दोषी मान्नुभयो किनभने उजुरीकर्ता मुसलमान हुन् ।’

एकातर्फ सुश्मा स्वराजलाई ट्वीटरमा अनफलो गर्ने अभियान चलाइरहेका छन् भने केहीले उनका पूर्ववत कामको चर्चा गरिरहेका छन् ।

संजय कुमारले लेखे, ‘विदेशमन्त्री सुश्मा जीको काम प्रशंसनीय रहेको छ । हामीले यो बिर्सनुहुन्न ।’

सुश्मा स्वराज सोसल मिडियामा अत्यधिक सक्रिय छिन् । फेसबुकमा उनका तीस लाख फलोअर्स छन् भने ट्वीटरमा उनलाई लगभग एक करोडले फलो गर्दछन् ।

सुश्मा स्वराज ट्वीटरमार्फत सर्वसाधारणको समस्या सुल्झाउनका लागि पनि चर्चित छिन् । धेरै मानिसहरुले सुश्मालाई ट्याग गरेर आफ्नो समस्या बारे जानकारी गराउँछन् र उनले धेरैजसो त्यस्ता समस्यालाई सम्बोधन पनि गर्ने गर्छिन् ।

तन्वी सेठले जब सुश्मा स्वराजलाई ट्याग गरेर ट्वीट गरिन् तब उनले अधिकारीलाई कारवाही गर्न निर्देशन दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप