बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चालक बिनै चल्ने यस्तो छ चिनियाँ स्काई रेल

शनिबार, ०९ असार २०७५, १९ : ३१
शनिबार, ०९ असार २०७५

छेन्दु (चीन) –नेपालमा मेट्रो रेल र पूर्वपश्चिम रेलमार्ग निर्माणको चर्चा चल्दै गर्दा उत्तरी छिमेकी मुलुक चीनले भने स्काई रेलको  प्रोजेक्ट सुरु गरेको छ । हाल सिचुवान प्रान्तमा परीक्षण सुरु भएको रेल सेवा दूततर गतिमा निर्माण गरेर देशभर फैलाउने उद्देश्य चीन सरकारले लिएको छ । 

चीनको निजी क्षेत्रको कम्पनी जोङटाङ स्काई रेलवेज ग्रुपले जिम्मा पाएको रेल मार्ग निर्माणको काम हाल १०.५ किलोमिटरमात्रै सम्पन्न भएको छ। 

जोङटाङ स्काई रेलवेज गु्रपका उपाध्यक्ष तथा प्रमुख इन्जिनियर वाङ काईले स्काइ रेल  सुरक्षित, सुविधाजनक र दीगो भएको जानकारी दिए । 

  उक्त आयोजना निर्माणका लागि एक किलोमिटर बराबर १० लाख चिनियाँ युआन खर्च हुने उनको भनाई छ ।   उनको भनाईमा  साधारण रेलमार्गको दाँजोमा स्काई रेल निर्माण सात गुणा सस्तो पर्छ । उनी भन्छन्, ‘साधारण रेलमार्ग निर्माणमा  एक किलोमिटर बराबर करीब ८ (८० लाख) मिलियन  युआन खर्च हुन हुन्छ । तर स्काई रेलवेज  एक किलोमिटर बनाउन  एक मिलियन(१० लाख) युआन बजेट पर्याप्त हुन्छ  । यो मात्रै नभएर यो सुरक्षित सुविधाजनक  र दीगो पनि छ ।’

‘हामीले जोङटाङ स्काई  रेलवे पार्कमा निर्माण गरेको १०.५  किलोमिटर रेलमार्गमा हालसम्म यात्रुसहित ३० हजार किलोमिटर गुडाएर परीक्षण गरिसकेका छौं । कुनैपनि फल्ट हालसम्म देखिएको छैन’, उनी अगाडि भन्छन्,  ‘यो एकदमै सतप्रतिशत सुरक्षित रहेको छ ।’ 

‘साधारण रेलमार्ग निर्माणमा  एक किलोमिटर बराबर करीब ८ (८० लाख) मिलियन  युआन खर्च हुन हुन्छ । तर स्काई रेलवेज  एक किलोमिटर बनाउन  एक मिलियन(१० लाख) युआन बजेट पर्याप्त हुन्छ  । यो मात्रै नभएर यो सुरक्षित सुविधाजनक  र दीगो पनि छ ।’

चालक बिनै जमिनमाथिबाट गुडाइने रेलको नियन्त्रण एकसाथ कन्ट्रोल रुपबाट  गरिन्छ ।  ब्याट्रीबाट चल्ने उक्त रेल वातावरण मैत्री  मानिएको छ । प्रदूषणका साथै चर्को ट्राफिक जामको समस्या भोगिरहेको  चीनका लागि यो परियोजना हितकर समेत मानिएको छ ।  रेलको इन्धनको काम गर्ने  ब्याट्रीले एक पटक चार्ज गरेपछि २ सय किलोमिटरको दूरी तय गर्छ । 
२ सय किलोमिटर यात्रा तय गर्ने ब्याट्री पूर्ण रुपमा चार्ज गर्न मात्र एक घण्टामा सम्भव हुने पनि बताइएको छ । 

स्काई रेलवेजले दिएको जानकारी अनुसार  हाल छेन्दुस्थित स्काई पार्कमा हाल निर्माण गरिएको १०.५  किलोमिटर लामो रेलमार्ग जस्तै उच्च प्रविधियुक्त रेलमार्गको निर्माण व्यावसायिक प्रयोजनका लागि आगामी दिनमा गरिनेछ । रेलमार्गको तल्लोभागमा झुडिएर रेल गुड्नेछन् । 

चीनमा नयाँ प्रयोग र झुडिएर जमिनमाथि रेल गुडाइँदै गर्दा  जनस्तरबाट कस्तो प्रतिक्रिया प्राप्त भएको छ भन्ने जिज्ञासामा वाङ भन्छन्, ‘वास्तवमै नयाँ प्रयोग भएकाले कतिपयले गुण्डागुड्दै रेल खस्ने हो कि भन्नेसम्मका पनि आशंका गरे किनकी यो हाम्रा लागि नितान्त नौलो प्रयोग हो । तर, हामीले निरन्तर दिगो, आरामदायी र भरपर्दो हुने विश्वास दिलाएपछि यो अन्य रेल जस्तै समान्य रुपमा सबैले लिएको पाएका छौं । 
अहिले निर्माणकै चरणमा रहेकाले सिचुवान प्रान्त सरकार कहिलेदेखि व्यवसायिक रुपमा  सेवा प्रदान गर्ने भन्नेमा भने स्पष्ट छैन । अहिले  स्काई रेलको पूर्वाधार विकास गर्ने र  पर्याप्त निर्माण सम्पन्न भएपछि मात्रै त्यसलाई व्यवसायिक रुप दिने योजनामा चीन रहेको छ । 

‘हामीले अहिलेसम्म कहिलेदेखि व्यवसायिक रुपमा जाने भन्नेमा सोचेका छैनौं’, इन्जिनियर वाङ भन्छन्, ‘अहिले रेलको पूर्वाधार निर्माणमा मात्रै जोड दिएका छौं । ’

स्काई रेल निर्माणका लागि  चीन सरकारले सम्पूर्ण डिजाइन तय गरिसकेको छ भने आगामी वर्षभित्र सिचुवानमा २०० किलोमिटर निर्माण सम्पन्न गर्ने लक्ष्य पनि लिएको छ। त्यसपछि  सिचुवानकै अरु पर्यटकीय क्षेत्रका साथै अन्यप्रदेशमा विस्तार गर्दै लगिने  बताइएको छ । 

तर, रेलमार्ग निर्माणमा  सहरी र समथर भुभागमा  सहज भएपनि ग्रामिण क्षेत्रमा विस्तार गर्न खर्चिलो  बन्न सक्ने पनि औंल्याइएको छ । यद्यपी चुनौतिलाई समाना गर्दै तीब्रगतिमा निर्माण कार्य बिस्तार गरिँदै लगिने  योजना बनाइएको छ  । 

चीनले आगामी वर्षभित्र सिचुवानमा २०० किलोमिटर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। त्यसपछि  सिचुवानकै अरु पर्यटकीय क्षेत्रका साथै अन्य प्रान्तमा विस्तार गर्दै लगिने  छ । 

हालैमात्रै नयाँ कन्सेप्टसहित अघि सारिएकाले  यो परियोजना निस्चित चिनियाँ भूभागमा भन्दापनि  देशव्यापि बनाउने लक्ष्य राखिएकाले  निरन्तर काम भइरहने चीनियाँ पक्षले जनाएको छ । 

स्काइ रेलमार्ग परियोजनाको पहिलो १.५ किलोमिटर निर्माण सन् २०१६ को सेप्टेम्बर महिनामा  सम्पन्न भएको थियो । त्यसयता थप ८.५ किलोमिटर  निर्माण गरेर परीक्षण थालिएको थियो । यो  बीचमा ३० हजार किलोमिटर परीक्षण यात्रा भइसकेको अवस्थामा अब पूर्ण रुपमा सुरक्षित र भरपर्दो पाइएकाले देशव्यापी  विस्तारको योजनासहित निर्माणलाई तीब्रता दिन लागिएको हो । जसअनुसार आगामी वर्षमात्रै २०० किलोमिटर निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

 

हाल निर्माण गरिएको १०.५ किलोमिटर स्काई रेलमार्गमा  हरेक ३० मिटर दूरीको फरकमा ९.५ मिटर अग्लो  खम्बाको निर्माण गरिएको छ । सो खम्बामाथि रेलको लिग निर्माण गरिएको छ भने रेल तल्लो भाग भएर झुण्डिएर गुड्ने छ।   यही मोडल अब बिस्तार गरिने मार्गमा पनि अपनाइनेछ । 

पूर्वाधार विकासका साथै रेल र सडक सञ्जाल तीब्र रुपमा विकास गरेको चीनले पछिल्लो समय स्काई रेलको पनि अवधारणा ल्याएको हो । 

चीनले स्काई रेलमार्गको अवधारणा ल्याउँदै गर्दा  काठमाडौंमा मेट्रो रेल, पूर्वपश्चिम रेलमार्ग, रक्सौल– काठमाडौं रेलमार्ग , चीनकै ल्हासा- सिगात्से–काठमाडौं रेलमार्गको अवधारणा अघि सारेको नेपालका लागि यो थप प्रेरणादायी बन्न सक्छ । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप