बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पन्ध्र दिनपछि मनसुन विस्तारै सक्रिय बन्दै

शनिबार, ०९ असार २०७५, १९ : २९
शनिबार, ०९ असार २०७५

काठमाडौँ । मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुन शुरु भएको १५ दिन बितिसक्दा पनि कमजोर मनसुनका कारण पर्याप्त वर्षा हुन सकेको छैन । 

सामान्यत नेपालमा (१० जुन) बाट मनसुन प्रवेश गर्ने गरेको छ । यो वर्ष ८ जुन (जेठ २५) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र केही दिनभित्रै नेपालभर फैलिने अनुमानसहित महाशाखाले घोषणा गरेको थियो । 

अहिले कमजोर रहेको मनसुन क्रमिकरुपमा विस्तारै बलियो हुँदै जाने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । 

‘मनसुन विस्तारै सक्रिय बन्दै गएको छ, देशका पूर्व र मध्य क्षेत्रमा यसको गतिविधि देखिन्छ । पश्चिमी भेगमा भने पश्चिमी वायुको प्रभाव देखिएकाले मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ’, उनले भने । 

आज साँझ काठमाडौँ उपत्यकासहित मध्य र पूर्वका विभिन्न क्षेत्रमा वर्षा हुने देखिएको छ । देशका विभिन्न भागका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ । 

असारमा धान रोप्ने मुख्य मौसममा पर्याप्त वर्षा नहुँदा किसान खिन्न भएका छन् । काठमाडौँ उपत्यका आसपासका फाँटमा समेत वर्षाको अभावमा रोपाइँ हुन सकेको छैन । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी सिमरामा ३६ तथा दीपायलमा २० मिलिमिटर वर्षा भएको छ । 
काठमाडौँमा ६, भैरहवामा ८, दाङमा ७ र ताप्लेजुङमा ३ मिलिमिटर वर्षा भएको छ । 

आज काठमाडौँको अधिकतम तापक्रम २९.५ र न्यूनतम २०.४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप