शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली बुबा आमा बनी नागरिकता बनाइदिने विसी धरौटीमा रिहा

शनिबार, ०९ असार २०७५, १८ : २७
शनिबार, ०९ असार २०७५

-बिष्णु कुमार आले 

अर्घाखाँची । अर्घाखाँचीमा नक्कली बुबा आमाको नाता कायम गरी भारतीय महिलालाई बंशजको  नागरिकता बनाईदिएको थाहा भएपछि पक्राउ परेका  सितगंगा १३ का वडा अध्यक्ष दुर्गा बहादुर बिसीलाई जिल्ला अदालतले धरौटीमा छोडेको छ । 

बिसीलाई ७७ हजार रूपैयाँ धरौटी लिएर जिल्ला अदालतले छोडेको हो । नक्कली बाबु बनि  झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि पक्राउ परेका अन्य  दुई जना सीता भाट क्षेत्री र कर्ण बहादुर भाट क्षेत्री तोकिएको १ लाख २५ हजार धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् । 

वडा नम्वर–१३  सिमलपानी डढुवाका चुडामणि भाट क्षेत्रीले भारतको झारखण्ड माईती घर भएकी श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन झुठो विवरण पेश गरि नागरिकता बनाईदिएको  अभियोगमा उनीहरू पक्राउ परेका थिए ।

उनीहरुले भारतीय महिलालाई नागरिकता प्रमाणपत्र दिलाउन कर्णबहादुर भाट क्षेत्री बुबा र मृत्यु भैसकेकी श्रीमती मनिभाट क्षेत्रीलाई आमा बनाएर  झुटो विवरण पेश गरि कीर्ते गरेका थिए । 

नक्कली बुबा आमाको नाता कायम गरी वडाध्यक्ष बिसीले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७४ साउन २३ गते नेपाली नागरिकताको प्रमाणपत्र बनाईदिएका थिए ।

नक्कली नागरिकता बनाउन योजना बनाउने सीता भाटक्षेत्रीको  श्रीमान  चुडामणि भाट क्षेत्री भने फरार रहेका छन् । उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप