शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एक हप्तामा स्वीडेनको कूल ग्राहस्त उत्पादन बराबर चीनको पैसा डुब्यो

शनिबार, ०९ असार २०७५, १५ : १७
शनिबार, ०९ असार २०७५

एजेन्सी । चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धको दायरा लगातार बढिरहेको छ । यसका कारण चीनको शेयर बजारमा ठूलो उथुपुथुल भइरहेको छ ।

जनवरीको तुलनामा शंघाई कम्पोजिट इन्डेक्समा १९ प्रतिशतले गिरावट आएको छ । शुक्रबार यो २,८८९.७६ अंकमा बन्द भयो । डरका कारण मानिसहरुले लागतार शेयर बेचिरहेका छन् भने किन्ने कोही पनि छैनन् ।

सन् २०१५ पछि चीनको पूँजी बजारमा पहिलो पटक यस्तो गिरावट देखिएको हो । साउथ चाइना मोर्निङ पोष्टमा प्रकाशित रिपोर्टका अनुसार चिनियाँ पूँजी बजारमा यो हप्ता ५१४ अर्ब डलरको नोक्सानी भयो जुन स्वीडेनको अर्थतन्त्र बराबर हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ सय अर्ब डलरको अतिरिक्त शुल्क लगाउने चेतावनी दिएपछि यस्तो नोक्सानी भएको हो । चीनले कुनै पनि अमेरिकी कदमको कडा जवाफ गर्ने बताएपछि ट्रम्पले यस्तो चेतावनी दिएका थिए ।

शंघाई कम्पोजिटमा पछिल्लो दुई वर्ष ३४ प्रतिशतले बृद्धि भएको थियो । यो ठूला कम्पनीको फाइदाको कारण आएको थियो । कयौँ एजेन्सीका अनुसार चिनियाँ पूँजी बजार व्यापार युद्ध र पूँजीको कमीको दोहोरो मारमा जुझीरहेको छ ।

ब्लुमबर्गको रिपोर्ट अनुसार व्यापार युद्धका कारण चिनियाँ पूँजीबजारमा विदेशी लगानीकर्ताको भरोसा डगमगाएको छ ।

साउथ चाइना मोर्निङ पोष्टको रिपोर्टमा विदेशी लगानीकर्ताले मंगलबार मात्र ३०६.३ अर्ब युआन बराबरको शेयर बिक्री गरेका थिए भने बुधबार ८३४.२ मिलियन युआनको शेयर बिक्री गरे ।

त्यहीँ खरिदमा भने किर्तिमानी गिरावट दर्ज भयो । 

ब्लुमबर्गका अनुसार अमेरिकासँगको सम्भावित व्यापार युद्धका कारण लगानीकर्ताहरु सशंकित बनेका छन् । धेरै विश्लेषकहरु भन्छन्, अमेरिकासँगको व्यापार युद्धमा चीनले ठूलो नोक्सानी बेहोर्नुपर्नेछ ।
चीनले अमेरिकालाई यसको जवाफ दिने बताए पनि पूँजीबजारमा लागानीकर्ताहरु आस्वस्त हुन सकिरहेका छैनन् ।

यद्यपि, यसको असर अब अर्को हप्ता अमेरिकी शेयर बजारमा पनि देखिनेछ । केही विश्लेषकहरु अमेरिकाले शुरु गरेको यो युद्ध शीत युद्धको हालत पैदा गर्ने आशंका व्यक्त गरिरहेका छन् ।

चीन र अमेरिका विश्वकै दुई ठूला अर्थतन्त्र हुन् र दुईबीच लामो समय तनाव कायम रहे यसको असर विश्वभरको अर्थतन्त्रमा देखिनेछ ।

शुक्रबार जापानको पूँजीबजार पनि १.१ प्रतिशतले घटेको थियो ।

वाल स्ट्रिट जर्नलको रिपोर्टमा भियतनाम र फिलिपिन्सको पूँजीबजार पनि अस्थिर बनिसकेको छ ।

यो युद्ध चीन र अमेरिकाबीचमा मात्र सिमित छैन । ट्रम्पले युरोपको अटो इन्डस्ट्रीमाथि २० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् भने युरोपले पनि अमेरिकाका सामानमाथि आयात शुल्क बढाउने घोषणा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप