बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारत भ्रमणमा गएका कृषिमन्त्री के–के सम्झौता गरेर फर्किए ?

शुक्रबार, ०८ असार २०७५, १७ : ४०
शुक्रबार, ०८ असार २०७५

काठमाडौं–नेपाल र भारतबीच कृषि क्षेत्रको विकासका लागि आधा दर्जन समझदारी भएको छ ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले भारतले नेपालको कृषि क्षेत्रको विकासका लागि आधा दर्जन क्षेत्रमा सहयोग गर्ने समझदारी गरेको जानकारी गराएका हुन् । भारतमा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागी भई शुक्रबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ कृषि अनुसन्धान विश्वविद्यालय स्थापनाका लागि भारतले सहयोग गर्ने लगायतका सहमति गरिएको बताउनु भएको हो ।

समझदारीमा नेपालको कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि, रोजगारी सृजना, कृषि उपजको बढदो आयात प्रतिष्थापन गर्न भारतीय पक्षले कृषिमा नयाँ साझेदारीका सम्भावनाहरु खोज्न सहमति भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भएको छलफल अनुसार मन्त्री खनाल र भारतीय समकक्षीबीच नेपालको कृषि क्षेत्रको विकासका सहमति गर्ने समझदारी भएको हो । सोही सहमतिलाई एक महिनाभित्र कार्यान्वयनमा लैजाने गरी तयारी गर्ने निर्णय पनि गरिएको मन्त्री खनालले बताए  ।

समझदारी अनुसार भारतले कृषि अनुसन्धान परिषदलाई अनुसन्धानमूलक विश्वविद्यालय बनाउनका लागि आवश्यक सहयोग गर्नेछ । त्यसैगरी अर्गानिक खेती, प्राङगारिक मलको प्रयोग र करेन्टाईन चेकपोष्ट स्थापनाका बारेमा पनि सहमति गरिएको छ । करेन्टटाईन नेपालको ४ वटा ठाउँमा स्थापना गर्ने सहमति गर्न पनि भारत सहमत भएको मन्त्री खनालले जानकारी दिए । मन्त्री खनालले अदुवामा हुने निकासीको समस्या तत्काल समाधान गर्न पनि भारतीय पक्षसँग आग्रह गरिएको पनि स्पष्ट पारे । 

उनले अदुवा निकासीमा नेपाली पक्षकै समस्या भएको हुनसक्ने भन्दै त्यसमा पुनरावलोकन गर्ने योजना पनि अघि सारेका छन् । समझदारी अनुसार भारतले नेपाललाई आवश्यक रासायनिक मल उपलब्ध गराउनेछ । नेपाली किसानहरुलाई समयमै मल उपलब्ध गराउने गरी सहमति गरिएको पनि मन्त्री खनालले बताए ।

उनले नेपालको निर्यात व्यापारमा कुनै समस्या भए तत्काल समाधान गर्ने प्रतिवद्धता पनि भारतीय पक्षले जनाएको उल्लेख गरे । भारतले नेपालको अर्गानिक खेती प्रविधिको विकासका लागि पाईलट प्रोजेक्टमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ । नेपाल–भारतबीच सन १९९१ पछि कृषि क्षेत्रमा भएको यो नै पहिलो समझदारी हो । सो समझदारीलाई अघि बढाउन थप छलफलका लागि भारतीय कृषि मन्त्री राधामोहन सिंह नेपाल आउनेछन् । 

मन्त्री खनालले भारतीय समकक्षी सिंहको नेपाल भ्रमण छिट्टै हुने विश्वास पनि व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नै नेपालको कृषि क्षेत्रको विकासमा समझदारी गरेर अघि बढने सहमति भएको थियो । सोही सहमतिलाई अघि बढाउन कृषि मन्त्री खनाल भारत गएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप