बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनतामुखी सेवा र पूर्वाधारमा प्रदेश सरकारको जोड

शुक्रबार, ०८ असार २०७५, १५ : ५०
शुक्रबार, ०८ असार २०७५

पोखरा– पोखरा लेखनाथ महानगरपालिकाले आसन्न तेस्रो नगरसभामा लैजाने नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयमा प्रदेश नं ४ का मुख्यमन्त्रीसहित मन्त्रीसँग गरिएको छलफलमा जनतामुखी सेवा र पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । 

प्रदेशको समृद्धि र विकास जनतासँग प्रत्यक्ष जोडिएको बताउँदै छलफलमा सहभागी मन्त्रीहरूले जनतामुखी सेवा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै जनअपेक्षालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए । 

छलफलमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको विकासका लागि महानगरसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउँदै प्राथमिकताका क्षेत्र तोकेर विकास निर्माणका साथै सार्वजनिक जग्गाको संरक्षणमा ध्यान दिन सुझाव दिए । 

उनले महानगरले आन्तरिक सडक व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै चारदेखि छ लेनका सडक निर्माणलाई प्राथमिकता दिएमात्र पोखराको सुन्दरता झल्किने धारणा राखे । 

क्षेत्रीय बसपार्क निर्माण प्रदेश सरकारको प्राथमिकता भएकाले महानगरले मेट्रो बसपार्कतर्फ सोच्न आग्रह गर्दै उनले पोखराको प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने योजनालाई समेट्नुपर्ने उल्लेख गरे । 

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा प्रदेशको राजधानी भएकाले यसलाई आधुनिक शहर निर्माण गर्न आवश्यक पूर्वाधारमा जोड दिनुपर्ने बताए । 

सडक विस्तारका साथै बसबिसौनी निर्माणमा ध्यान दिएर पोखराको ट्राफिक व्यवस्थापन अपरिहार्य भएको बताउँदै उनले महानगरले कर बढाएर नभई दायरा बढाएर राजश्व संकलनमा जोड दिनुपर्ने औंल्याए । 

आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले स्थानीय तह र प्रदेश बलियो भएमात्र संघीयता बलियो हुने धारणा राखे । उनले पोखरा शहरलाई प्रविधिले निगरानी गर्नुपर्ने उल्लेख गर्दै सडक सुरक्षामा ध्यान दिन आवश्यक भएकामा जोड दिए । 

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पोखराका पर्यटकीय र ऐतिहासिकस्थलको संरक्षण गर्नुपर्ने बताउँदै जथाभावी राखिएका बिजुलीका पोल हटाएर तारलाई जमिनमुनि व्यवस्थापन गर्नुपर्ने उल्लेख गरे । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले पोखराका कृषि कोल्ड स्टोर्स निर्माणको योजना मन्त्रालले बनाएको बताउँदै महानगरसँग सहकार्य गर्ने धारणा राखे । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन पूर्वाधारमा महानगरसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउँदै रत्नमन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउन मन्त्रालय र महानगरको सहकार्य हुनुपर्नेमा जोड दिए । 

सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले प्रदेश विश्वविद्यालय र प्राविधिक महाविद्यालय बनाउने योजना मन्त्रालयले बनाएकाले महानगरसँग सहकार्य गरेर काम गर्ने विचार व्यक्त गरे । 


प्रदेश नं ४ का मुख्यसचिव नारायणप्रसाद बिडारीले महानगरले पर्यटन र कृषिलाई विशेष महत्व दिनुपर्ने उल्लेख गरे । 

महानगर प्रमुख मानबहादुर जिसीले स्थानीय तह सेवा प्रदायक संस्था भएकाले सेवालाई चुस्त, दुरुस्त, छिटो, छरितो बनाउँदै पोखरालाई आधुनिक शहर बनाउन चाहिने पूर्वाधार निर्माणलगायतका विषयलाई प्राथमिकतामा राखिएको बताए । 

छलफलमा पोखरा लेखनाथ महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेललगायतले महानगरका भावी योजनालगायतका विषयमा आ–आफ्ना धारणा राखे । 

यही असार १० गते महानगरको तेस्रो महानगरसभा हुँदैछ । महानगरले रु पाँच अर्ब ६५ करोडको बजेट ल्याउने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप