शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संसद बैठक : कुन सांसदले के-के भने ?

शुक्रबार, ०८ असार २०७५, १३ : ०२
शुक्रबार, ०८ असार २०७५

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले सुकुम्बासी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन ।  

सांसदहरुले पूर्वाधार विकास र स्वास्थ्य क्षेत्रमा हाल देखिएका जल्दाबल्दा समस्या तत्काल समाधान गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा बोल्दै सांसद भानुभक्त ढकालले विगत ४० वर्षदेखि थाती रहेको सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराए । उनले जग्गा हुने तर लालपूर्जा नहुने समस्या तत्काल समाधान गर्न सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । 

सांसद योगेश भट्टराईले ताप्लेजुङको आठराई–त्रिवेणी गाउँपालिका र लिखुवाखोला गाउँपालिकाको केन्द्रमा तत्काल इलाका प्रहरी कार्यालय स्थापन गर्न  सरकारसँग माग गरे ।

उनले सुरक्षा निकायको अभावमा ताल्लेजुङलगायत देशका विभिन्न गाउँपालिकाहरुमा वित्तीय संस्थाहरुको स्थापना हुन नसकेको उल्लेख गर्दै तत्काल सुरक्षाको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

त्यसैगरी सांसद मिना सुब्बाले सुनसरीको धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य विमामार्फत् उपलब्ध गराइदै आएको निःशुल्क औषधि ४ महिनायता बन्द भएको भन्दै सो सेवा तत्काल उपलब्ध गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

अर्का सांसद यज्ञराज सुनुवारले खुर्कोट सडक खण्ड वरपरको आवागमनलाई सहज बनाउने गरी पुल निर्माणमा ढिलाई नगर्न पनि सरकारसँग माग गरिन् । सांसदहरुले सिंहदरबारको अधिकार गाउँ–गाउँ पुर्याउने योजनालाई प्रभावकारी रुपमा अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिसभाका सांसदहरुले मूल्य वृद्धि नियन्त्रण गर्न चासो नदिएको आरोप लगाउँदै सरकारको चर्को आलोचना गरेका छन ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद प्रकाश रसायलीले मूल्य वृद्धिविरुद्ध शान्तिपूर्ण विरोध प्रर्दशनमा उत्रिएका आफ्नो पार्टीका नेता, कार्यकर्तालाई देशका विभिन्न भागमा सरकारले चरम यातना दिएको उल्लेख गर्दै तत्काल छानवीन गर्न समिति गठन गर्न सरकारसँग माग गरे । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार नागरिकप्रति उत्तरदायी नभएको भन्दै आक्रोश पनि व्यक्त गरे ।

सांसद रसायलीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको संकल्पप्रति पनि व्यंग गरे ।

सरकारले चर्को मूल्यवृद्धि गरेर  ‘दुःखी नेपाली, मूल्य वृद्धि भएको नेपाल’ बनाउन चाहको भन्दै सांसद रसायलीले सरकारप्रति व्यंग्य गरे । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठगी गर्ने ठेकेदारहरुलाई तत्काल कार्वाही नगरे सरकारको औचित्य समाप्त हुने चेतावनी दिए । 

उनले कर्मचारीहरुलाई व्यवसाय संचालन गर्ने विधेयक ल्याउन लागेको भन्दै आपत्ति पनि जनाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडेलले प्युठानमा गौमुखी पर्यटन क्षेत्रको विकास गर्न सरकारसँग माग गरिन् । 

ग्रामिण विकासका लागि प्यूठानमा गौमुखी पर्यटन विकास आवश्यक रहेको उनको भनाई छ । 

सांसदहरुले बाढि, पहिरो र डुबान समस्या समाधान लागि उपयुक्त कदम चाल्न पनि सरकारलाई पुनः दवाव दिएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप