शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपा एकीकरण प्रकृया : राजासहितको प्रजातन्त्रमा सहमतिको प्रयत्न

शुक्रबार, ०८ असार २०७५, ११ : ५०
शुक्रबार, ०८ असार २०७५

काठमाडौँ । गत निर्वाचनकै मुखमा फुटेर तीन टुक्रा भएका राप्रपा पुनः एकीकरण हुने भएको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको हो । यी दुई पार्टी एकीकरण भएको एक वर्ष नबित्दै फुटेर तीन टुक्रा भएका थिए । फुटको झन्डै ८ महिनापछि पुनः एकीकरणको गृहकार्य शुरु भएको दुवै दलका नेताहरुले बताएका छन् । 

एकीकरण प्रकृया टुङ्गोमा पुर्याउन सैद्धान्तिक सहमति जुटाउने प्रयास भइरहेको राप्रपाका उपाध्यक्ष तथा सो पार्टीका तर्फबाट गठित वार्ता समितिका संयोजक बुद्धिमान तामाङले बताए । 

नेता तामाङका अनुसार राप्रपा र राप्रपा प्रजातान्त्रिक दुवै पार्टीका तर्फबाट गठित बार्ता कमिटीबीच पहिलो चरणमा मंगलबार भएको छलफलमा सैद्धान्तिक सहमतिबारे सामान्य कुराकानी भएको र तत्कालै अर्को छलफल गरेर सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिनेछ । एकीकरणका लागि डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीसँग पनि कुराकानी अघि बढाउने तयारी भएको छ । डा लोहनी अमेरिकामा छन् । उनी अझै केही दिनपछि मात्रै स्वदेश फर्कने सो पार्टीका नेताहरुले बताएका छन् ।

‘सकेसम्म दुवै पक्षले एकताका लागि आ–आफ्नो पक्षबाट मोडालिटी तय गरेर अर्को बैठकमा पेश गर्ने र त्यसमा सहमति जुटाउने प्रयास गरिनेछ,’ राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका वार्ता टोली संयोजक तामाङले रातोपाटीलाई बताए । 

एकताका लागि राप्रपाबाट तामाङका साथै उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवं वार्ता टोली संयोजक दीपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्मा नेतृत्वमा छ्ट्टाछुट्टै वार्ता समिति गठन भएका थिए । 

तत्कालिन सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा विवाद भएपछि नेता पशुपतिशमशेर राणाले गत वर्षको २२ साउनमा केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्य पुर्याएर पार्टी फुटाएका थिए भने लोहनीले छुट्टै पार्टी गठन गरेका थिए । यी तीनवटै पार्टी पछिल्लो संसदीय निर्वाचनमा संसदबाहिरै छन् । 

राजासहितको प्रजातान्त्रमा जोड

तीनवटै राप्रपाको नीति र सिद्धान्त मिल्दोजुल्दो छ । कमल थापा नेतृत्वको राप्रपाले संवैधानिक राजसंस्था र हिन्दु राज्यलाई आफ्नो मुल सिद्धान्त बनाएको छ भने लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीको सिद्धान्त पनि त्यहि छ । 

उता राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले संवैधानिक राजतन्त्र नभनेपनि परम्परागत शक्ति भनेर राजसंस्था आवाश्यक छ भनेर संकेत गर्दै आएको छ । ‘सबैको विचार मिल्दोजुल्दो भएकाले पार्टी एकीकरण गर्दा सैद्धान्तिक रुपमा राजासहितको प्रजातन्त्रमै सहमति हुनसक्छ, किनकी काङग्रेस या अरु कुनै शक्तिसँग मिल्नुभन्दा पनि राजासहितको लोकतन्त्रको पक्षमा सहमति भए बैकल्पिक तेस्रो शक्तिका रुपमा एकीकृत राप्रपालाई लैजान सकिन्छ भन्नेमा खासै मतभेद छैन,’ राप्रपाका नेता तामाङले भने ।   

नौ भाईको सक्रियता 
राप्रपा एकीकरणको गृहकार्य भइरहेका बेला पुर्व राजा ज्ञानेन्द्र शाहलाई गत चैतमा झापा पुगेर भेटवार्ता गरेका तीनवटै पार्टीका नेताहरुले राप्रपाका तर्फबाट एकता समितिका संयोजक बुद्धिमान तामाङलाई भेटेर तत्काल पार्टी एकता गर्न सुझाव दिएका छन् । बिहीबार संयोजक तामाङको घर कपनमा पुगेर उनीहरुले एकता अपरिहार्य भएको भन्दै त्यसका लागि दबाब दिएका हुन् । 

‘पूर्व राजासँग भेटेका सबै जनाबीच भेटवार्ता भएको हो, भेटमा हामीले एकता प्रकृयालाई टुङ्गोमा पुर्याउन सुझाव दियौ’ राप्रपा प्रजातान्त्रिकका नेता सगुनसुन्दर लावतीले भने, ‘ अबको एकता मजबुत र केन्द्रदेखि स्थानीय तहसम्म युवा तथा महिलालाई प्राथमिकता दिनुपर्छ त्यही अनुसारको विधान व्यवस्था गर्न भनेका छौ ।’

पूर्व राजा शाहले गत चैतमा तीनवटै राप्रपाका नौ जना दोस्रो तहका नेतालाई झापामा बोलाएर पार्टी एकीकरणका लागि आ–आफ्नो पार्टीमा दबाब दिन सुझाव दिएका थिए । श्रोतका अनुसार पूर्व राजाको सुझाव अनुसार नै ती नेताहरुले तीनै पार्टी एकीकरण गर्नुपर्ने र राजसंस्थालाई समेत स्पेश दिनुपर्नेमा जोड दिँदै आएका छन् ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप