शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय रेल समयमै काठमाडौं आइपुग्नेमा चिनियाँ शंका !

बिहीबार, ०७ असार २०७५, १६ : ५७
बिहीबार, ०७ असार २०७५

छेन्दु (चीन)– बैशाख अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  नेपाल भ्रमणमा आउँदा ‘विवादित’ अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यास गरियो । भारतीय लगानीको उक्त जलविद्युत आयोजनाबारे विप्लव नेतृत्वको नेकपा सहितका राजनीतिक दलले राष्ट्रिय हितमा नरहेको भन्दै आपत्ति जनाइरहेका छन् । नेपाल सरकारसँग सम्झौता गर्ने र विभिन्न बहाना बनाउँदै आयोजना होल्ड मात्रै गर्ने पूरानै समस्याका कारण कतिपयले यसलाई पनि जोडेर विरोध समेत गर्दै आएको अवस्था छ । 

यसैक्रममा उत्तरी छिमेकी मुलुक चीनले समेत नेपालमा प्रशस्त भारतीय लगानी आएको भनिएपनि त्यो प्रभावकारी नहुने गरेको संकेत गरेको छ ।  चीनको सिचुवान प्रान्तस्थित सिचुवान विश्वविद्यालयका  अन्तर्राष्ट्रिय  मामिलाका प्राध्यापक दाई योङहोङले  चीनले नेपालमा राजनीतिक स्थायित्व र  समृद्धि भएको हेर्न चाहेको भन्दै त्यसका लागि सहकार्य गर्न चीन सरकार इच्छुक रहेको बताएका छन्  । 

भारतले नेपालमा लगानीको लागि सम्झौता गरेपनि कतिपय आयोजना होल्ड गरेर राखेको  भन्दै त्यसमा चीन भने इमान्दार रहेको बताए । ‘नेपालले निर्वाचनपछि स्थिर सरकार पाएको छ ।  विगतमा जस्तो एक वर्ष पनि पूरा नभई अब सरकार बदलिने अवस्थाको अन्त्य भएको चीनले ठानेको छ’ प्राध्यापक योङहोङले  विश्वविद्यालयमा पुगेका नेपाली पत्रकारको एक टोलीसँग भने, ‘चीन नेपालको समृद्धि भएको हेर्न चाहन्छ र त्यसको लागि सघाउन तयार छ ।’

चीनले जनाएको कुनैपनि प्रतिबद्धता पूरा गरेरै छाड्ने भन्दै उनले चिनियाँ रेल काठमाडौंसम्म पुर्याउन पनि काम सुरु भइसकेको बताए ।  ‘ल्हासा– सिगात्से– काठमाडौं रेलमार्ग निर्माणका लागि चीनको तर्फबाट प्रारम्भिक चरणमा काम सुरु भइसकेको छ । दुई देशबीच सम्झौता भएसँगै यसको काम अगाडि बढ्ने नै छ’, योङहाङले भने, ‘बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल सिगात्सेसम्म पुगिसकेको छ ।

 काठमाडौं टाढा छैन ।’ यसो त  जारी चीन भ्रमणमा क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच बेइजिङमा यसबारे विस्तृत समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।  चीनले काठमाडौंसम्म रेलमार्ग निर्माणमा  नेपाललाई सघाउने र रेलमार्ग लुम्बिनीसम्म विस्तार गरिने प्रस्ताव अघि सारेकै बेला  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय पक्षले पनि रक्सौल–काठमाडौं रेलमार्ग निर्माण गर्ने घोषणा गरेको थियो ।  चीनले नेपालमा रेलमार्ग निर्माण गर्ने घोषणा गरेसँगै भारतले पनि काउन्टरस्वरुप घोषणा गरेको कतिपयले टिप्पणी गर्छन् । 

सिचुवान विश्वविद्यालयका  प्राध्यापक योङहाङको भनाईमा पनि यस्तै भाव प्रष्टिन्छ ।  चीनले सम्झौता गरेका काम पूरा गरेरै छाड्ने दाबीसहित उनी भन्छन्, ‘भारतले परियोजना निर्माणमा सम्झौता गरेर होल्ड मात्रै गर्ने गरेको देखिन्छ । यसबाटै कसको रेल काठमाडौं चाँडो पुग्छ भन्ने प्रष्टिन्छ । ’

हुन पनि भारतले ठूला परियोजना निर्माण सम्झौता गरेपनि अधिकांश निर्माण समयमा भएका छैनन् भने कति सुरु समेत नगरि होल्ड गरेर राखिएको अवस्था छ ।  पन्चेश्वर परियोजना, हुलाकी राजमार्ग, भूकम्पको पुनःनिर्माणमा आएको प्रतिबद्धता यसका जल्दोबल्दो उदाहरण हुन् । 

चीनले आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड इनिटिएटिभ (बीआरआई) मा जोड दिँदै आएको र यसका लागि चिनियाँ रेल सिगात्सेसम्म आइपुगिसकेको छ । ‘इकोनोमिक बेल्ट’को रुपमा  चीनले बीआरआईलाई   समग्र एसिया र युरोपसम्म जोड्ने प्रस्ताव अघि सार्दै आएको छ । यद्यपि, पश्चिमा देशहरुले असहमति जनाउँदै आएका छन् ।  

‘नेपाल भू–परिवेष्ठित भूलूक नभई एक हिराको टुक्रा’ भएको भन्ने चिनियाँ अभिव्यक्तिले पनि नेपालको बीआरआईबाट पनि फाइदा लिन सक्छ भन्ने प्रष्ट हुन्छ  । योङहाङ भन्छन्, ‘व्यापारका साथै बहुउपयोगी रहेको बिआरआई नेपालको आर्थिक समृद्धिमा एउटा कोषेढुँगा हुनसक्छ । नेपाल  भूपरिवेष्ठित देश नभई एउटा सुनको टुक्रा हो ।’  नेपालको आर्थिक  समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले यसका लागि मात्रै बलियो सरकार र भिजन आवश्यक रहेको उनको भनाई थियो ।

 चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत मामिला हेर्ने चाईले पनि नेपालको विकास र समृद्धिमा चीन हातेमालो गर्न तयार रहेको भन्दै काठमाडौंसम्म रेलमार्ग लैजानको लागि हालैमात्रै रसुवा र नुवाकोटमा प्रारम्भिक सर्वेक्षण गरिएको बताए । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको चाहना छिमेकमा पनि आर्थिक समृद्धि र स्थायित्व होस् भन्ने रहेको उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप