शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

को हुन् केटामात्र पढाइने स्कूलमा पढ्ने यी एक्ली केटी ?

बिहीबार, ०७ असार २०७५, ११ : १४
बिहीबार, ०७ असार २०७५

सरोज सिंह / बीबीसी

कुनै पनि स्कूलमा कि त छात्र मात्र पढ्छन्, कि छात्रा मात्रै या त दुबै ।

तर भारतको देहरादूनको कर्नल ब्राउन क्याम्ब्रिज स्कूलम दुई सय पचास छात्रको बीचमा एउटी मात्र छात्रा पढ्छिन् ।

१२ वर्षको उमेरमा शिकायना यो कुरामा निकै खुसी छिन् । उनलाई यसमा केही नयाँ लाग्दैन ।

बीबीसीसँगको कुराकानीमा शिकायना भन्छिन्, ‘थोरै भिन्नता त पक्कै छ । तर केटीहरुले सबै कुरा गर्न सक्छन् भने केटा पढ्ने विद्यालयमा किन पढ्न सक्दैनन् ।’

कस्तो थियो स्कूलको पहिलो दिन ?

यो प्रश्नको जवाफमा शिकायनाले निकै रोचक घटना सुनाइन् ।

‘जब म पहिलो दिन कक्षामा गएर बसें । कक्षाकोठामा छिर्नेबित्तिकै शिक्षकले आफ्नो पुरानो अन्दाजमा भन्नुभयो, ‘गुड मर्निङ बोइज’ । तर उहाँको नजर ममाथि पर्नेबित्तिक उहाँले आफूलाई सच्याउँदै भन्नुभयो, ‘अब मैले गुड मर्निङ स्टुडेन्ट्स भन्ने बानी बसाल्नुपर्छ ।’ यसो भन्ने बित्तिकै उनी मज्जाले हाँस्न थालिन् ।

उनको बिन्दास हाँसोले यो प्रमाण दिन्थ्यो कि स्कूलमा शिकायनालाई कुनै समस्या छैन ।

तर दुई सय पचार पुरुषबीच एक्लै पढ्ने निर्णय शिकायनाले आफ्नो मर्जीले लिएकी होइनन् । यसका लागि केही स्थिती जिम्मेवार थिए तर केही उनको भाग्य ।

शिकायना गीत निकै राम्रो गाउँछिन् । टेलिभिजनमा थुप्रै कार्यक्रममा भाग लिइसकेकी छिन् ।

गत वर्ष भोइस अफ इन्डियामा शिकायनाले भाग लिएकी थिइन् र उनी फाइनल राउन्डसम्म पनि पुगिन् ।

यसका लागि सेप्टेम्बर २०१७ देखि फेब्रुअरी २०१८ सम्म उनले आफ्नो पुरानो स्कूलबाट छुट्टी लिनुपरेको थियो ।

जब रियालिटी शोको फाइनलमा भाग लिएपछि शिकायना फिर्ता भइन् तब स्कूलले उनलाई अर्को कक्षामा भर्ना गर्न अस्विकार गर्यो ।

त्यसपछि शिकायनाका पितासँग छोरीलाई त्यहाँबाट निकाल्ने बाहेक दोस्रो विकल्प रहेन ।

उनले शिकायनाका लागि अन्य दुई तीनवटा स्कूलमा पनि फर्म भरे तर उनले कतै भर्ना पाइनन् ।

त्यसपछि उनले आफ्नै स्कूलमा शिकायनालाई भर्ना गर्ने कुरा गरे ।

शिकायनाका पिता विनोद मुखियाले बीबीसीसँगको कुराकानीमा स्कूल प्रशासनलाई यसका लागि मनाउन निकै मेहनत गर्नुपरेको बताए ।

उनी भन्छन्, ‘स्कूलले शिकायनाबारे आफ्नो निर्णय सुनाउन १५ देखि २० दिनको समय लियो । शिकायनालाई भर्ना गर्नु मात्र समस्या थिएन । स्कूलले उनलाई भर्ना दिएपछि उब्जिने प्रश्नहरुमाथि पनि विचार गर्नुपर्दथ्यो ।’

अन्य कस्ता समस्या थिए ?

शिकायनाका बुवा विनोद भन्छन्, ‘स्कूलमा शिकायनाको ड्रेस के हुनेछ ? ट्वाइलेट कता हुन्छ ? यदि अन्य शिक्षकले पनि यस्तै माग गर्न चाहे भने के होला ? स्कूल प्रशासनले यस्ता समस्याको हल निकाल्नु पर्दथ्यो ।’

२० दिनपछि स्कूल प्रशासनले आफ्नो निर्णय विनोदलाई सुनाए जुन शिकायनाको पक्षमा थियो ।

शिकायना आफ्नो पुरानो स्कूलमा ट्युनिक लगाउँथिन् । तर नयाँ स्कूलमा उनी पुरुषले झैं सर्ट पाइन्ट लगाइरहेकी छिन् ।

तर युनिफर्म तय गर्ने प्रक्रिया पनि कम रोचक छैन ।

स्कूल प्रशासनले शिकायनाका आमाबुवालाई नै शिकायनालाई स्कूलमा कस्तो पहिरन लगाउन मनपर्छ भनेर सोधियो । उनका लागि नयाँ स्टाइलको कुर्ता डिजाइन गर्नेबारे पनि कुरा चल्यो । शिकायनालाई पनि यसबारे सोधियो । अन्त्यमा विद्यालयका अन्य विद्यार्थीले जुन युनिफर्म लगाउँछन् उनले पनि त्यही लगाउनेमा निर्णय भयो ।

शिकायनालाई पनि यसमा कुनै आपत्ति थिएन ।

शिकायनाको कक्षामा १८ पुरुष छन् र उनीहरुबीच पाइन्ट र सर्ट लगाएर उनी पनि अन्य विद्याथीझैं देखिन्छिन् । उनको लामो कपालमात्र भिन्न देखिन्छ ।

के शिकायना आएपछि उनका पुरुष साथीहरुको जीवनमा पनि केही परिवर्तन आएको छ ?

यो प्रश्नलाई बीचैमा काट्दै उनी अर्को रोचक प्रसंग जोड्छिन् ।

‘अब कक्षामा कसैले बदमासी गर्छ भने हरेक शिक्षकले यही भन्नुहुन्छ – कक्षामा एउटी केटी पनि छिन्, अलिकति त लाज राख । त्यसकारण केटाहरुलाई लाग्छ कि मेरो कारणले उनीहरुले धेरै गाली खाइरहेका छन् ।’

शिकायनालाई एडमिशनपछि अर्को समस्या शौचालयको पनि छ । तर स्कूल प्रशासनले नयाँ बन्दोबस्त गर्नुको साटो शिायनालाई शिक्षको शौचालय प्रयोग गर्ने अनुमती दिएको छ ।

तर एउटा स्कूलमा ड्रेस र शौचालय मात्र होइन । बच्चालाई अन्य विभिन्न कुराको पनि आवश्यकता पर्छ । जस्तै खेल्ने र मनको कुरा साट्ने साथी ।

केटा र केटीका लागि खेल पनि भिन्न हुन्छन् र साथी पनि । साथै, कुरा गर्ने विषय पनि ।

यस्तोमा शिकायना के गर्छिन् ?

बीबीसीसँग शिकायनाले उनको रुची केटीको जस्तो नभएको बताइन् । भारतमा १२ वर्षकी किशोरीले पुतली खेल्नेछिन्, थोरै फेसन गर्न थाल्नेछिन्, केही फिल्म र सिरियल्सको कुरा गर्न सुरु गर्नेछिन् भनिन्छ । तर मलाई यस्तो पटक्कै मन पर्दैन ।

नयाँ स्कूलमा शिकायनाले लंग टेनिस खेल्न सुरु गरेकी छिन् । तर यहाँ पनि उनको पहिलो रुची गाउनु नै हो ।

स्कूलको गीत गाउने समूहमा पनि उनी एक्ली किशोरी हुन् र उनलाई यसमा गर्व छ ।

तर दुई सय पचास केटाबीच एक्ली केटी पढ्नु त्यति सजिलो छ ?

शिकायनाका पिता विनोदका अनुसार केही पनि सजिलो थिएन ।

विनोद भन्छन्, ‘केटाहरु निकै बदमास हुन्छन् । मैले सधैं भगवानसँग छोरी नै मागेको थिएँ । शिकायना जब जन्मिइन् तब हामीलाई निकै खुसी भयो । तर स्कूलमा भर्ना हुनुअघि हामीले उनलाई निकै काउन्सिलिङ गर्यौं । हामीले शिकायनाको मन पनि बुझ्यौं । हामीले उनलाई अल ब्वाइजमा पढ्न चाहन्छौ भनी सोध्यौं उनले ‘सबै पढिरहेका छन् भने म किन नपढ्ने ?’ भनी प्रश्न सोधिन् ।’

कति खुसी छिन् शिकायना ?

यो त उनको भर्ना हुनुअघिको धारणा थियो । तर एडमिशनपछि के उनको मुड स्विंग भयो ?

यसमा विनोद भन्छन्, ‘सुरुका केही दिनमा हामीले उनलाई दिनदिनै स्कुलमा दिन कस्तो रह्यो भनेर सोध्ने गर्दथ्यौं । तर हरेक पटक उनको अनुहारको खुसीले हाम्रो निर्णय सही थियो भनेर पुष्टि गर्दथ्यो । उनी कुनै दबाबमा छैनन् । ’

शिकायना पढ्न थालेको दुई महिना भयो । के कहिले आमा बुवा वा शिकायनाको मनमा यो क्रममा स्कूल परिवर्तन गर्ने विचार आयो । यसमा शिकायनाका पिता भन्छन्, ‘म हरेक निर्णयमा उनको साथ छु । तपाईं आफै उनलाई सोध्नुहोस् ।’

शिकायनाको भर्नामाथि स्कूलमा प्रधानाध्यापक एस.के. त्यागीसँग पनि बीबीसीले कुरा गरेको छ ।

कक्षामा एक्ली किशोरीलाई पढाउन कहिले समस्या आयो भन्ने प्रश्नमा उनले भने, ‘यो होस्टेल हो । तर शिकायना आफ्ना आमाबुवासँग बस्छिन् । त्यसकारण हामीले अहिलेसम्म समस्या भोग्नुपरेको छैन ।’

शिकायना आएपछि अर्का एक शिक्षकले आफ्नी छोरीका लागि यस्तो अनुरोध गरेका छन् । अर्थात् शिकायनाजस्तै स्कूलमा अब अर्की किशोरीको पनि हाँसो गुञ्जिने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप