शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौँडामा देउवाको ‘डोजर’ : अब एक ढिक्का कि दुई ठुन्का काङ्ग्रेस ?

बिहीबार, ०७ असार २०७५, ११ : ०४
बिहीबार, ०७ असार २०७५

काठमाडौँ । आफ्नाविरुद्ध मोर्चाबन्दीमा उत्रिएका काङ्ग्रेसजनलाई पार्टी सभापति शेरबहादुर देउवाले हेटौँडामा जारी जिल्ला सभापतिहरूको चौथो राष्ट्रिय भेलामा शक्तिको डोजर चलाएर आलोचकलाई बोल्नै नदिएको बताएका छन् । पार्टी सुधारको पक्षमा लागेका नेताहरूलाई भेलामा बोल्नै प्रतिबन्ध लगाएपछि सभापति देउवाले भनेजस्तो पार्टी एक ढिक्का हुनेभन्दा पनि गुटगत राजनीतिले बढवा पाउने काङ्ग्रेस नेताहरूको बुझाइ छ । 

‘देउवाले हेटौँडामा चलाएको डोजरले काङ्ग्रेस एक ढिक्का होइन, थप मोर्चाबन्दी हुने देखिन्छ’, केन्द्रीय सदस्य वीरबहादुर बलायरले रातोपाटीलाई बताए । अर्का नेता चीनकाजी श्रेष्ठले  जिल्ला सभापतिको भेलापछि काङ्ग्रेसमा एकताको सञ्चार भरिने अपेक्षा गरिए पनि त्यस्तो नदेखिएको टिप्पणी गरे । ‘हाम्रो त त्यहाँ खासै काम थिएन तर जुन उत्साहले सभापतिहरू भेला भएका थिए फर्कंदा त्यस्तो त्यो उत्साह मर्ने गुनासो मैले सुने’, उनले भने ।  तर प्रवक्ता विश्वप्रकाश शर्माले भेलाले काङ्ग्रेसलाई नयाँ शिराबाट अघि बढाउन सहयोग पुग्ने दाबी गरे । 

उनले भने, ‘भेलाले केही हदसम्म भए पनि पार्टीलाई बलिायो बनाउन सहयोग गर्छ, भेलाले महत्वपूर्ण सुझाव दिने अपेक्षा गरिएको छ ।’ 

गत निर्वाचनमा आएको कमजोर परिणाममा देउवा दोषी देखेको विरोधी तप्कालाई उनले तत्कालीन दुई ठूला दल एमाले र माओवादीको कार्यगत एकता नै प्रमुख कारण देखाएर सभापतिहरूको भेलामा पनि आफ्नो बचाउलाई पुनः निरन्तरता दिए । जबकि भेलामा उपस्थित केन्द्रीय सदस्य र सभापतिसहित झण्डै ३ सय काङ्ग्रेसी देउवाले आफ्नो कमजोरी स्वीकार्दै नेतृत्व परिवर्तनको मार्ग प्रशस्त गर्ने आशमा हेटाँैडा पुगेका थिए । तर, ठीक विपरीत देउवाले आफ्नो बचाउ मात्रै गरेनन्, आगामी महाधिवेशनमा समेत नेतृत्व छोड्ने कुनै सङ्केत गरेनन् । 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले गत निर्वाचनमा पार्टीले बेहोरेको हारलाई काङ्ग्रेसले एउटा लडाइँ हारे पनि मैदान नहारेको भनेर व्याख्या गरे । त्यसबेला उनले भने– ‘यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरू नेपाली काङ्ग्रेसको आदर्शबाट निर्देशित छन् र यो संविधानको सफल कार्यान्वयन पनि हामीले नै गरेका छौँ । यस अर्थमा हाम्रो विचारले जितेको छ । तसर्थ म साथीहरूलाई कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगडि बढ्न आह्वान गर्दछु ।’  

पार्टीभित्रबाट आएका असतुष्टिहरूबारे आफू जानकार रहेको भन्दै देउवाले त्यस्ता अभिव्यक्तिलाई आफूले स्वभाविक रूपमा लिएको बताए । ‘कतिपय कुराहरूलाई मैले  स्वाभाविक रूपमा लिएको छु भने कतिपय कुरा अतिरन्जित र अशोभनिय ढङ्गले पनि उठ्ने गरेका छन् । पछिल्लो समयमा संविधानको निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुँदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र ऊर्जा त्यसतर्फ केन्द्रित भयो’, देउवाको भनाइ छ ।  

देउवाले यसरी चलाए डोजर

‘देउवालाई पार्टीभित्र आफूविरुद्ध मोर्चाबन्दी भइरहेको छ भन्ने थाहा नहुने कुरै थिएन । त्यसैले उनकै निर्देशनमा भेलाको उद्घाटन सत्रमा आफूबाहेक रामचन्द्र पौडेलले मात्र सम्बोधन गर्नेगरी कार्यक्रम निर्धारण गरियो । अरू नेताले बोल्दा आफूविरुद्ध चर्को आवाज आउने ठानेर नै देउवाले यस्तो योजना बनाएका थिए’, एक केन्द्रीय सदस्यले भने, ‘बिहान ११ बजे जिल्ला सभापतिहरूको भेला उद्घाटन कार्यक्रम तय भएको थियो । तर झण्डै तीन घण्टा ढिलो मात्रै उद्घाटन गरियो । उद्घाटन सत्रमा पार्टी सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम थियो तर अन्तिममा अर्का नेता विमलेन्द्र निधि र विजय गच्छदारलाई उद्घाटन सत्रमा मन्तव्यका लागि योजनाबद्ध ढङ्गले निम्त्याएर विपक्षी मोर्चामाथि डोजर चलाइयो । यसले गर्दा पूर्व पदाधिकारीहरू अक्रोशित बन्नु स्वभाविक थियो ।’ 

देउवाको यो कदमपछि पछिल्लो समय देउवा विरोधी खेमामा मोर्चाबन्दी कस्दै आएका नेता प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्जुननरसिंह केसीहरू आफूलाई बोल्न प्रतिबन्ध लगाइएको भन्दै आक्रोशित बने । त्यसको विरोधमा उनीहरू दोस्रो दिनको बन्द सत्रमा मञ्चमा बस्नुको साटो दर्शक दीर्घामै बसे । 

कतिपय केन्द्रीय सदस्यहरू त तीन दिनसम्मका लागि भनेर हेटौँडा पुगे पनि दोस्रो दिन नै आफ्नो बाटो तताउन बाध्य भए । त्यसमध्येका प्रकाशमान सिंह, चीनकाजी श्रेष्ठ, वीरबहादुर बलायर, हृदयराम थानी गोविन्द भट्टराई आनन्द ढुङ्गानाहरू बुधबारै राजधानी फर्किसकेका छन् भने केन्द्रीय सदस्य गुरुराज घिमिरेलगायतको ठूलो टोली बिहीबार बिहानै हेटाँैडा छाडेको छ ।   

तेस्रो धारको कसरत कायमै 

काङ्ग्रेसमा देउवा र रामचन्द्र पौडेलबाहेक अर्को एउटा समूह छ । जुन समूहमा बढीजसो युवा नेताहरू छन् । जसले गत निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै देउवालाई नेतृत्व छाड्न बारम्बार दबाबसमेत दिँदै आएका छन् । तर पनि देउवा टसको मस भएका छैनन् । त्यसपछि यो समूहले नेता पौडेल र कृष्णप्रसाद सिटौलालाई समेत मिल्न सुझाव दिइसकेका छन् । तर अब यो समूह देउवा र पौडेल दुवै नेतृत्वका लागि असफल भइसकेको निष्कर्षमा पुग्दै आफैले नेतृत्व लिने कसरतमा लागेको छ । त्यसका लागि यो समूहका सदस्यहरूले देश दौडाहासमेत गरिसकेका छन् । 

त्यस क्रममा उनीहरूले देउवा र पौडेल दुवै असफल भइसकेकाले अब काङ्ग्रेसको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने भन्दै त्यसका लागि आफूहरूलाई सहयोग गर्न जिल्ला सभापति र महासमिति सदस्यहरूसँग आग्रह गरेका छन् । 

यही समूहले हेटौँडामा जारी सभापतिहरूको भेलामा सहभागी सभापतिहरूलाई आठ भाइका नाममा एउटा सामूहिक सुझाव वितरण गरे । जसमा महासमितिमार्फत सङ्घीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया अविलम्ब सुरु गर्न नेतृत्वलाई दबब दिन सुझाव दिएका छन् । उनीहरूले काङ्ग्रेस नेतृत्व कमजोर र प्रतिपक्षीय भूमिका समेत निभाउन नसकेको ठहर गरेका छन् । यो समूहमा नेताहरू गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, किरण यादव र रामकृष्ण यादव छन् । ‘०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरौँ र २०७६ मा केन्द्रीय महाधिवेशन गरौँ, यसले हाम्रो सङ्गठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउने छ र सशक्त प्रतिपक्षको भूमिका हुनेछ’, आठ नेताले जारी गरेको पत्रमा उल्लेख छ । तर, देउवा भने तत्काल स्थानीय र प्रादेशिक तहको अधिवेशनको विपक्षमा रहँदै आएका छन् ।

उनीहरू जिल्ला सभापतिको भेला अवधिभर हेटौँडामै बसेर आफ्नो पक्षमा माहोल तयार गर्न जिल्ला सभापतिहरूलाई छुट्टाछुट्टै भेटघाट गर्न सक्रिय छन् ।

३८ मा चार सभापति देउवाको  पक्षमा 

बुधबार ७७ मध्ये ३८ जिल्ला सभापतिहरूले धारणा राखे । जसमा चार जनाले मात्रै देउवाको बचाउ गरे । कञ्चनपुर सभापति हरिप्रसाद बोहराले पार्टीले निर्वाचनमा पराजय हुनुको दोष देउवालाई मात्र दिन नहुने बताए । गुट–उपगुट र कम्युनिस्ट पार्टीहरूबीचको गठबन्धनका कारण चुनावमा हार बेहोर्नुपरेको उनले बताए ।  दोलखा सभापति रुद्र खड्काले निर्वाचनमा हार उम्मेदवारका कमी–कमजोरीका कारण पनि हुन सक्ने औँल्याए । बाजुराका सभापति कविराज पण्डितले विगतमा भएका कमी–कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताए भने पर्वतका सभापति खिमानन्द भुसालले पनि सभापति देउवाको बचाउ गरेका थिए । 

अन्य जिल्ला सभापतिहरूले भने सभापति देउवाको कडा आलोचना गरे । गोरखाका सभापति हरि घलेले ०३६ सालको जनमत सङ्ग्रहमा पराजयको अपजस तत्कालीन पार्टी सभापति बीपी कोइरालाले एक्लै लिएको कुराबाट पाठ सिक्न देउवालाई सुझाव दिए । केही जिल्ला सभापतिले जिल्ला सभापतिमा पराजित नेतालाई पनि राखेर पनि टिकट वितरणको निर्णय गर्ने केद्रको परिपत्रलाई समानान्तर कमिटीको अभ्यासका रूपमा पनि औँल्याए । त्यसबाट जितेको सभापतिलाई अवमूल्यन गरिएको उनीहरूको धारणा थियो । 

सिन्धुपाल्चोकका सभापति विकास लामाले दिलमा तीर हानेर दुख्यो कि दुखेन भनेर केन्द्रीय सभापतिले सोध्ने गरेको आरोप लगाए । कालीकोटका हर्ष बमले इरानका राजा रेजी पेहल्वीको उदाहरण दिँदै काङ्ग्रेस सभापति देउवालाई पनि उनीसँगै तुलना गरे । बर्दियाका सभापति सञ्जय गौतमले केन्द्रीय सभापतिमा रामचन्द्र पौडेलका पक्षमा भोट हाल्ने पदाधिकारीहरूलाई बारम्बार पीडा दिने काम भएको दाबी गरे । खोटाङका नरेशकुमार श्रेष्ठले सभापति देउवाले नातागोतालाई मात्र च्यापेको आरोप लगाए । पाल्पाका सभापति वीरबहादुर रानाले हारेको सभापतिलाई विश्वासमा लिएर टिकट वितरण गर्नु भनेपछि निर्वाचित सभापतिको अधिकार बाँकी नरहेको बताए । तेह्रथुमका सभापति गोविन्द ढुङ्गानाले व्यापारीलाई निर्वाचन अभियानमा लगाएर पार्टीले उल्टै सम्बन्धित क्षेत्रका मानिसलाई पार्टीले टाढा पारेको आरोप लगाए । ललितपुरका सभापति मदनबहादुर अमात्यले निर्वाचन भएको एक वर्षपछि समीक्षा गरेर पार्टी नसुनिने बताए । पार्टीमा घात–अन्तर्घातको शृङ्खला कृष्णप्रसाद भट्टराईलाई हराएरै सुरु भएको औँल्याए । धादिङका सभापति रमेश धमलाले निर्वाचन गराउने काङ्ग्रेस र माओवादी गठबन्धनका दुईवटा सरकारका रवैयाकै कारण पार्टीले पराजय बेहोर्नुपरेको बताए । केन्द्रीय सदस्य गगन थापाले भने, ‘आज सरकारमा छैन, त्यही भएर पार्टी बनाउन लाग्छु भन्नुभएको छ । तर न संसदमाा भूमिका निर्वाह गरेको देखिन्छ, न त पार्टी बनाउन कुनै निष्कर्षमा पुग्नुभएको छ ।’ सांसदहरूलाई प्रशिक्षण र निर्देशनको अभाव रहेको उनले औँल्याए । दुई सय १५ वटा ठाउँमा चुनाव जितेका काङ्ग्रेसका जनप्रतिनिधिले वर्तमान सरकारलेभन्दा बढी र अभूतपूर्व काम गरेर देखाउनुपर्ने थापाले सुझाए । वर्तमान सरकारले लोकतन्त्रमाथि गरिरहेको प्रहारबारे काङ्ग्रेसको कुनै धारणा नआएको उनले बताए । बाँकी सभापतिले बिहीबार बोल्ने छन् । 

सभापतिले के देलान् सुझाव ?
भेलामा सहभागी नुुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीका अनुसार पार्टी नेतृत्वलाई सुझाव दिनेक्रम बिहीबार पनि जारी रहनेछ । बिहीबार जिल्ला सभापतिहरूले बोल्ने क्रम नसकिए अरू एक दिन भेला लम्बिनेछ । 

उनका अनुसार पार्टी सभापतिदेखि केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने विधान संशोधनको पक्षमा अधिकांश सभापतिहरू एकमत देखिएका छन् ।

‘केन्द्रीय सदस्यदेखि सबै नेता तल्लो तहबाटै निर्वाचित हुँदै नेतृत्वमा पुग्नेगरी विधान संशोधन गर्नुपर्छ भनेर प्रस्ताव लैजाने तयारी भएको छ’,  कालिकोटका हर्ष बमले भने रातोपाटीलाई बताए । उनले विधानमा रहेको पदेन व्यवस्थाले नेतृत्वलाई खुसी बनाएर पार्टी केन्द्रीय समितिमा पुग्ने र त्यसकै बलमा पाटीभित्र शासन चलाउने प्रवृत्ति हाबी भएकाले विधान संशोधनको पक्षमा जनमत जुटाउन आवाश्यक भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप