बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रेकर्ड ब्रेकर : रोनाल्डोले अझै तोड्न सक्ने १० किर्तिमान

बुधबार, ०६ असार २०७५, १७ : १३
बुधबार, ०६ असार २०७५


एजेन्सी । सन् २०१८ को विश्वकपमा स्पेनविरुद्धको खेलमा ह्याट्रिक गरेका पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रेकर्ड ब्रेकर खेलाडी मानिन्छन् । आफ्नो खेल करियरको अन्त्यतिर रहेका रोनाल्डोले अझै थुप्रै किर्तिमानहरु तोड्न सक्ने सम्भावना छ । 

यहाँ त्यस्ता १० किर्तिमानहरुको चर्चा गरिएको छ । जसलाई उनले अझै भेट्याउन सक्छन् ः

१. विश्वकपको शीर्ष गोलकर्ता
क्रिस्टियानो रोनाल्डोले चार भिन्न विश्वकपमा गोल गरेका छन् । यो उपलब्धि यसअघि जर्मनीका मिरोस्लाभ क्लोज र उवे सिलर तथा ब्राजिलका लिजेन्ड पेलेले मात्र हासिल गरेका थिए । पोर्चुगिज फरवार्डले सन् २००६, २०१० र २०१४ को प्रतियोगितामा मात्र एक–एक गोल गर्न सकेका थिए । तर, शुरुवाती खेलमा नै ह्याट्रिक गरेका रोनाल्डो सन् २०१८ को विश्वकपमा शीर्ष गोलकर्ता बन्ने सम्भावना बलियो बनाएका छन् ।

२. विश्वकप विजेता
दुई वर्षअघि फ्रान्सलाई हराउँदै पोर्चुगलले युरो कपको उपाधि जितेको थियो । यो पोर्चुगलको जर्सीमा रोनाल्डोको पहिलो उपाधि थियो । फर्नान्डो सान्तोषको टोली युरो कपको दाबेदार नभएपनि आश्चर्यजनकको रुपमा प्रतियोगिता जितेको थियो । विश्वकप जित्न भने त्योभन्दा कठिन हुनेछ । स्पेनसँग बराबरीपछि रोनाल्डोले भनेका थिए, ‘हामी दाबेदार होइनौँ, तर उम्मेदवार हौँ ।’ र, उनको गोलले पक्कै पनि त्यो तर्क पुष्टि गर्छ ।

३. अन्तर्राष्ट्रिय खेलमा युरोपको सर्वाधिक गोलकर्ता
यो किर्तिमानको उनी नजिक छन् । स्पेनविरुद्ध ह्याट्रिकसँगै उनले हंगेरीका फ्रेरेन्क पुस्कासको ८४ अन्तर्राष्ट्रिय गोलको किर्तिमान बराबरी गरिसकेका छन् । अब एक गोल गरे उनी कुनै पनि युरोपियन टोलीका तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछन् । 

४. अली देईको अन्तर्राष्ट्रिय गोलको किर्तिमान
पुस्कासलाई उछिनेपछि रोनाल्डोको टार्गेट अब पोर्चुगलका लागि १ सय गोल हुनेछ । इरानका पूर्व फरवार्ड अली देईले राष्ट्रिय टोलीका लागि १०९ गोल गरेका थिए । रोनाल्डो त्यसबाट मात्र २५ गोल टाढा छन् । यदी उनले यो फर्मलाई केही वर्ष जारी राखे, उनले पक्कै पनि त्यो किर्तिमान भेटाउन सक्नेछन् ।

५. ६ युरोपियन कप
रियल म्याड्रिडले पछिल्लो पाँच सिजनमा चारवटा च्याम्पियन्स लिगको उपाधि जितेको छ । रोनाल्डोले म्यान्चेस्टर युनाइटेडमा हुँदा थप एक उपाधि जितेका थिए । उनीभन्दा अघि रियलकै लिजेन्ड पाको गेन्टोले सन् १९५६ र १९६५ को बीचमा ६ वटा युरोपियन कपको उपाधि जितेका थिए । अब एउटा च्याम्पियन्स लिगको उपाधि जिते उनले त्यो किर्तिमान बराबरी गर्नेछन् ।

६. छैटौँ बालोन डि’ओर
लियोनेल मेस्सीसँग पाँचवटा बालोन डि’ओरको उपाधि जितेका छन् जबकि सन् २०१२ सम्म उनी ४–१ ले पछि थिए । पछिल्लो पाँच वर्षमा उनले चार पटक यो उपाधि जितेका छन् । अब एक पटक जिते उनले छैटौँ पटक यो उपाधि हात पार्नेछन् । च्याम्पियन्स लिग विजेता रहेको अवस्थामा रोनाल्डोले विश्वकपमा पनि राम्रो प्रदर्शन गरे अर्को गोल्डन बल रोनाल्डोको हुने पक्का छ ।

७. रियल सबैभन्दा धेरै ट्रफी विजेता
रोनाल्डोले हाल रियलमा १६ वटा ट्रफी जितेका छन् – चार च्याम्प्यिन्स लिग, क्लब विश्वकप, तीन युइएफए सुपर कप, दुई ला लिगा, दुई कोपा डेल रे र दुई स्पेनिस सुपरकोपा । तर, अझै पनि उनी पनि पाको गेन्टोको २३ उपाधिभन्दा पछि छन् । त्यस्तै सर्जियो रामोशभन्दा तीन उपाधिले पछि छन् । यद्यपि, म्यान्चेस्टर युनाइटेडमा उनले थप ९ ट्रफी जितेका छन् ।

८. डि स्टेफानो क्लासिको गोलको किर्तिमान
गत अप्रिलमा क्याम्प नाउमा भएको २–२ को बराबरीमा गोल गर्दै रोनाल्डोले अल्फ्रेडो डि स्टेफानोको क्लासिकोमा १८ गोलको किर्तिमानलाई बराबरी गरेका छन् । यदी उनी अर्को सिजन रियलमा नै बसे क्लासिकोमा उनले स्टेफानो किर्तिमान पक्कै पनि भंग गर्नेछन् र रियलका लागि क्लासिकोमा सर्वाधिक गोलकर्ता बन्नेछन् । यद्यपि, उनको प्रतिद्वन्द्वी मेस्सी २६ गोलसहित धेरै अघि छन् ।

९. पाँचौ युरोपियन गोल्डन सु
योचाहीँ रोनाल्डोका लागि धेरै गाह्रो होला । किनभने आजभोलि उनलाई धरै खेलमा आराम दिइनछ । यदी अर्को सिजन युरोपको सर्वाधिक गोलकर्ता बने उनले मेस्सीको ५ युरोपियन गोल्डन सुको किर्तिमान बराबरी गर्नेछन् । हालसम्म उनले चारपटक (३ रियल, एक युनाइटेड) जितेका छन् ।

१०. रियलका लागि ५ सय गोल
रोनाल्डोले राउलको ३२३ गोलको किर्तिमान तोडेको धेरै भइसकेको छ । उनले मात्र ४३८ खेलमा रियलका ४५० गोल गरेका छन् । अब अर्को सिजन उनको लक्ष्य भनेको ५ सय गोल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप