बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चाइना–पाकिस्तान इकोनोमिक करिडोरः आर्थिक समृद्धिको आधार

बुधबार, ०६ असार २०७५, १४ : ००
बुधबार, ०६ असार २०७५

–रमेश लम्साल 
काठमाडौँ– संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को सदस्य समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वाधार विकासको काम तीव्र रुपमा अगाडि बढिरहेको छ । 

चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत रेलमार्ग निर्माणले तिव्रता पाएको छ । जुन पाकिस्तानको आर्थिक विकासको वृहत राजमार्गको रुपमा विकास हुने सङ्केतहरु देखा परेका छन् । नेपालमा समेत रेलमार्ग निर्माणको चर्चा सुरु भइरहेको बेला पाकिस्तानको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र महत्वपूर्ण रेलमार्ग निर्माण सम्पन्न हुने देखिएको छ । 

चीनले पाकिस्तानमा सन् २०२० सम्म पेशावरदेखि कराचीसम्मको रेलमार्ग निर्माण सम्पन्न गर्न लागेको छ । चिनियाँ सहयोगमा निर्माण भइरहेको पहिलो चरणको उक्त परियोजनामा प्रतिघण्टा १६० किलोमिटरको गतिमा रेल गुड्नेछ । 

रेलमार्ग अबको दुई वर्षभित्र निर्माण सम्पन्न हुने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । यस्तै दोस्रो चरणमा चिनियाँ सहयोगमा नै मुल्तन हैदरवाद रेलमार्ग निर्माण हुनेछ । यस्तै तेस्रो चरणमा हैदरवाद र कराची खण्डको रेलमार्ग समेत निर्माण हुनेछ । 

चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत सो रेलमार्गको काम भइरहेको र त्यसले पाकिस्तानको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको पाकिस्तानी सञ्चार माध्यमहरुको दावी छ । पाकिस्तानमा यसअघि सञ्चालनमा रहेको रेलमार्गको स्तरोन्नति गर्ने र नयाँ लाइन निर्माण गर्ने योजना पनि सँगै अगाडि बढिरहेको छ । 

त्यसमा हाल सञ्चालनमा नै रहेको कराची पेशावर रेललाइनको मुख्य खण्डको स्तारोन्नति गरिनेछ । एक लाइन मात्रै रहेको रेलमार्गलाई दोहोरो लाइन बनाउने कार्य जारी रहेको हो ।  पाकिस्तानी सञ्चार माध्यमहरुकाअनुसार हाल रेलमार्गको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ । सो रेलमार्गको विस्तार पछि पाकिस्तानको सार्वजनिक यातायातको करिब ७० प्रतिशत आवागमनलाई सहज रुपमा सम्बोधन गर्न सकिने दावी गरिएको छ । 

सो रेलमार्ग ४ हजार ६९३ मिटर उचाइमा रहेको कुन्जेरव पास भएर जाने छ । पाकिस्तानको हिमाली क्षेत्रमा समेत रेल कुदाउने सपना चिनियाँ सहयोगमा पूरा हुन लागेको छ ।  चीन पाकिस्तान इकोनोमिक करिडोरको यो नै महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ । यो रेलमार्ग चीनले नै निर्माण गरिरहेको कराची र गुदर बन्दरगाहलाई समेत जोड्नेछ । पाकिस्तानको अर्थतन्त्र माथि उकास्ने भन्दै चीनले दुई विशाल बन्दरगाह समेत बनाइरहेको छ । 

ती बन्दरगाह सन् २०३० सम्म पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने चीन र पाकिस्तानको संयुक्त योजना रहेको छ । रेलमार्ग विस्तारका लागि ५ अर्ब अमेरिकी डलर खर्च गर्ने चीनको योजना रहेको छ ।  चीन पाकिस्तान इकोनोमिक करिडोरको महत्वपूर्ण परियोजनाको नाम दिइएको कराची पेशावर रेलमार्ग कूल १ हजार ६८७ किलोमिटर लामो रहेको छ । सो रेलमार्गको लागत ३६५ अर्ब डलर रहेको छ । 

पहिलो चरणमा उक्त परिमाण खर्च गर्ने र क्रमशः खर्चको मात्रा बढाउँदै लैजाने योजना समेत रहेको छ । पहिलो चरणको काम गत वर्ष नै सकिइसकेको छ । हाल सोही रेलमार्गको दोस्रो र तेस्रो चरणको काम जारी रहेको छ । 

दोस्रो चरणको रेलमार्गमा ८.२ बिलियन खर्च हुनेछ । सबै रेलमार्गको काम सन् २०२१ भित्र सकिनेछन् । पाकिस्तानमा रेलमार्गबाट वार्षिक ४८० मिलियन आम्दानी हुने छ ।  चिनियाँ रेल इन्जिनियर र पाकिस्तानी प्राविधिकले संयुक्त रुपमा काम गरिरहेका छन् । उनीहरुले एउटा मार्ग मध्यम गतिको र अर्को उच्च गतिमा कुद्ने रेलमार्ग निर्माण गरिरहेका हुन् । 

यस्तै, चीनको सहयोगमा निर्माण भइरहेको कोटरी– अत्तोक दोस्रो रेलमार्गलाई चिनियाँहरुले आफ्नै नाम दिएका छन्– सुन्तला रंग । सो मार्ग १ हजार २५४ किलोमिटर लामो हुनेछ । सो रेलमार्गले कोटरी र सिन्ध प्रान्तलाई जोड्ने छ । सो रेलमार्गलाई ज्याकोवावाद र सिन्ध प्रान्तलाई जोड्ने गरी एक आपसमा अन्तरसम्बन्धित गरिनेछ । जुन पाकिस्तानको आवश्यकता नै बनेको छ । ‘यात्रु आवागमनलाई सहज बनाउने अरु कुनै उपाय नै छैन, जुन हामी गरिरहेका छौ’ पाकिस्तानी रेल अधिकारीको भनाइ छ । 

यस्तै, तेस्रो चरणको परियोजनामा रोहरी– चमन रेलमार्ग रहेको छ । सो मार्ग ५६० किलोमिटर दुरीको रहेको छ ।  यस्तै, पाकिस्तानको अर्को महत्वपूर्ण प्रान्त क्वेटा जोड्न महत्वपूर्ण मानिएको छ । यस्तै लाहोरमा मेट्रो रेल्वे लाइन निर्माणका लागि समेत चीन पाकिस्तान इकोनोमिक करिडोर अन्तगर्त काम भइरहेको छ । 

यो मार्ग यसै वर्ष सम्पन्न हुने लक्ष्य प्रक्षेपण गरिएको छ । कूल २७.१ किलोमिटर लामो मेट्रो रेलको लागत १६५.२० अर्ब डलर रहेको छ । दैनिक कूल २ लाख ५० हजार यात्रु सो मेट्रोले बोक्नेछ भने त्यो बढेर ५ लाख पुग्ने अनुमान गरिएको छ । 

यस्तै चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत खुन्जेरव रेलमार्ग पनि रहेको छ । कूल ६८२ किलोमिटर लामो उक्त रेलमार्गले चीन र पाकिस्तानलाई जोड्नेछ । यो रेलमार्ग हाल सञ्चालनमा रहेको काराकोलम राजमार्गको समानान्तर रुपमा निर्माण हुनेछ । यो रेलमार्ग सन् २०३० मा सम्पन्न हुनेछ । सो रेलमार्गको लागत १२ अर्ब रहेको छ । 

चिनियाँ राष्ट्रपति सि चिनफिङले सन् २०१५ मा गर्नुभएको पाकिस्तान भ्रमणपछि सो रेलमार्ग मिर्नाण गर्ने सम्झौता भएको थियो ।  चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजनामा सहज आवागमन, रेलमार्ग, हवाईमार्ग, यातायात प्रणालीको सुधार गर्ने लगायतका विषय समेटिएका छन् । व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्दै दुई देशको आर्थिक विकास र समृद्धि गर्ने लक्ष्य राखिएको छ । 

शान्ति, विकास र आर्थिक समृद्धि नै सो परियोजनाको मूल मक्सद रहेको देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजनाले आफ्नो देशलाई विश्व अर्थतन्त्रमा उदाउदो शक्तिका रुपमा स्थापित गर्ने विश्वास व्यक्तगर्दै आएका छन् । 

चीन, पाकिस्तान र मध्य एसियाको आर्थिक विकास र साझेदारीमा महत्वपूर्ण योगदान पुर्याउन सो परियोजना सहयोगी हुने आश गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप