शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मृत्यु जितेर फर्किए कृष्ण केसी तर...

बुधबार, ०६ असार २०७५, १३ : ०३
बुधबार, ०६ असार २०७५

राधिका भुसाल

प्यूठान । प्रधानमन्त्री केपी ओली अक्सर भन्ने गर्छन् ‘अब कुनै पनि नेपालीले भोकै बस्नुपर्ने छैन, कोही नेपालीले उपचार नपाएर मर्नुपर्ने छैन ।’ 

प्रधानमन्त्रीको यो अभिव्यक्ति प्युठान नगरपालिका वडा नम्बर ९ निवासी कृष्ण केसीको परिवारले पनि बारम्बार सुन्ने गरेका छन् । प्रधानमन्त्रीको यो अभिव्यक्ति बारम्बार सुनेका केसी परिवार भने एक छाक खान र परिवारका सदस्यको उपचार गर्न नसकेर विचल्लीमा परेको छ । 

भनिन्छ, शत्रु लागोस्, दैव नलागोस् । सुन्दै कहाली लाग्दो फिल्मकै कथा जस्तो लाग्ने कृष्ण केसीको आफ्नै शरीर र पारिवारिक घटना बुझ्दा सबैको आँखा रसाउँछ । 

गाउँको एउटा झुपडी सजाएर बसेका यी कृष्णको सानो परिवारमाथि एकाएक बज्रपात हुन थालेको वर्ष दिनभन्दा बढी भएछ । तर उनलाई लागेको घाउ भने अझै आलै छ । 

के थियो घटना ?
आफ्ना भाइ र बुबा गुमाइसकेका कृष्ण आजभन्दा करिब  ५ महिना पहिला बिरामी बहिनी भेट्न काठमाडौँस्थित टिचिङ अस्पताल पुगे । अस्पतालमा उपचाररत बहिनीको स्वास्थ्य अवस्था नजुक देखेपछि उनी आफै एक्कासि भुइँमा ढले । अचेत भएर ढलेका उनलाई केही आफन्त र इष्टमित्रको आर्थिक सहयोगमा लामो समयको उपचारपछि स्वास्थ्यमा केही सुधार त आयो तर भोलिका दिनमा लाग्ने मोटो रकम कहाँबाट जुटाउने भन्ने चिन्ताले उनी र बुढी आमामा थप चिन्ता थपिएको छ । 

घरको बुकुरोबाहेक श्रीसम्पत्ति सबै बेचेर उपचार गरे पनि छोरा पूर्ण रूपमा निको नहुँदा बुढी आमाको आँशु रोकिएको छैन । 

कृष्णको उपचारमा संलग्न रविन्द्र भण्डारीले भने– ‘शरीरको मुख्य भागको करङ निकालिएको छ । डाक्टरको सल्लाहअनुसार अब त्यसलाई झिकेर सिमेन्टको टुक्रा  सोही ठाउँमा राख्नुपर्छ ।’ त्यो टुक्रा बनाउन मात्रै २ लाख ५० हजार लाग्ने र अप्रेसन, औषधिसहित अन्य खर्चका लागि १ लाख समेत गर्दा ३ लाख खर्च हुने पारिवारिक स्रोतले जनाएको  छ । 

केसी परिवारको दर्दनाक पीडा 
उनले एक वर्षभित्रै परिवारका ३ जना सदस्य गुमाए । २०७३  साल तिहारको रमझम चलिरहेकै बेला केसीका २५ वर्षे भाइ कुलबहादुर केसी (फुर्से)को टीकाकै दिन निधन भयो । त्यो पीडा थाम्ने शक्ति प्राप्त नहुँदै घरकै मूली अर्थात् आफ्ना बुबा गुमाउन पुगे उनले । आफ्नो भाइ गुमाएको १ वर्ष नबित्दै २०७४ जेठ २८ गते बुबा डिमबहादुर केसीको निधन हुँदा त्यो परिवारलाई फेरि थाप्नै नसक्ने पीडा थपियो ।  भक्कानिँदै केसीकी आमा चन्द्राले भनिन्– ‘के गर्नु, बाँचेका जतिले त पेट पाल्नै प¥यो, नाङ्गो ढाक्नै प¥यो ।’

छोरी रिनालाई ठूलै स्वास्थ्य समस्या आएपछि जिल्ला अस्पताल प्युठानमा उपचार गराउँदा गराउँदै केसी परिवारको भएको धेरै सम्पत्ति सकियो ।  रोग जिल्लाको अस्पतालमा निको नहुने भएपछि थप उपचारका लागि टिचिङ हस्पिटल काठमाडौँ त पु¥याइयो तर दुखद् कुरा घरमा फर्काउन सकिएन । 

बहिनी रिनालाई स्वस्थ बनाई तुरुन्तै घर फर्काउने बाचा गर्दै गाउँबाट बैनीको उपचारका लागि ब्याजे ऋण खोजी काठमाडाँै पुगेका कृष्ण बैनीको स्वास्थ्य अवस्था नराम्रो देखेपछि अस्पतालमै बेहोस भई ढले, जसको असर टाउकोमा पर्न गयो । उपचार गर्न गएका कृष्ण आफै अचेत भएपछि परिवारमा फेरि अर्को भयानक समस्या थपियो । कृष्ण बेहोस भएर लडेको ३ दिनपछि उनको बैनीको निधन भयो । २०७४ माघ ९ गते कृष्णले लाखौँ रकमसहित आफ्नी बहिनी पनि गुमाए ।  

‘एक वर्षको समयमै आफ्ना दुई सन्तान र श्रीमान गुमाउनुको पीडा त्यसमाथि  एउटा छोरा कृष्ण पनि जिउँदो लास जस्तै बनेपछि आमाको मन कसरी थामिएला ?’ चन्द्राले आँशु पुछ्दै भनिन् । 

अचेत अवस्थामा ओछ्यानमा पल्टिएका कृष्ण । बैनीको शवको अन्त्यष्टि नहुँदै यता कृष्णको टाउकाको अप्रेसन गर्न लाखौँ पैसा आवश्यक प¥यो र अस्पतालले रकम जुटाउन भन्दै गर्दा घरमा वृद्ध आमा र श्रीमती र नाबालक छोराबाहेक कोही थिएनन् । यति मात्र होइन, घरमा रहेको माइलो छोराले हात भाँचेपछि कृष्णकी श्रीमती छोराको उपचारमा खटिनुपर्यो । त्यसको भोलिपल्ट काठमाडौंमा फुपूको मृत्यु हुन पुग्यो । बिरामी कृष्णका कुरुवासमेत भएनन् । यसरी परिवारका सदस्य गुमाउँदै गएका उनी अहिले औषधीको भरमा अर्धचेत अवस्थामा आफ्नै झुपडीमा पल्टिएका छन् ।

कृष्णका घरमा वृद्ध आमा, भर्खरै जन्मिएको बच्चासहित ३ नाबालक  छोरा र श्रीमती छन् । कृष्णका लागि दिन प्रतिदिनको महँगो  औषधी खर्च जुटाउने समस्या छ । गरिब परिवारको आम्दानीका स्रोत सबै बन्द छ भने कमाएर खाने जग्गाजमिन पनि केही छैन । ‘साँझ बिहानको छाक टार्ने उपायसमेत नभएपछि कति दिन भोकभोकै बस्नुपरेको छ’, कृष्णकी वृद्ध आमा चन्द्राले आफ्नो पीडा सुनाइन् ।

नगरपालिकाले दियो एक लाख उपचार खर्च   
जीवन पाउन मृत्युसँग लडिरहेका प्युठान नगरपालिका वडा नम्बर ९ निवासी कृष्ण केसीलाई प्युठान नगरपालिकाले एक लाख उपचार खर्च दिएको छ । 

प्युठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपती, उपप्रमुख शान्ता आचार्य, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारी, वडा न. ९ का वडा अध्यक्ष नेहरसिंह केसी वडा सचिव ध्रुव जिसीलगायतको टोलीले केसीको घरमै पुगेर स्वास्थ्यलाभको कामनासँगै उक्त रकम हस्तान्तरण गरेको हो । बिरामीको स्वास्थ्य अवस्था हेरेपछि नगरपालिका प्रमुख कक्षपतिले कृष्ण केसीको उपचारका लागि मोटो रकम लाग्ने भएकाले सबैलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । 

त्यस्तै केसीका ३ नाबालक छोराहरूको पढाइ लेखाइ, स्वस्थ्य र उज्ज्वल भविष्यका लागि प्यूठान न.पा.लगायत बालबालिकाको क्षेत्रमा काम गर्ने निकायलाई सहयोग गर्न स्थानीयवासी रविन्द्र भण्डारीले आग्रह गरेका छन् । 

 यसरी जुटेको थियो पहिलो पटक उपचार खर्च 
बहिनी रिना केसीको उपचार गर्दा आर्थिक रूपले थिचिएका कृष्ण आफै अचेत भएपछि दुःखका दिन थपिँदै गए । छरछिमेक र आफन्तको सहयोगमा केही उपचार त भयो तर पूर्ण निको भने भएन । घरको सम्पत्ति बेचेको ६ लाख,  मरन्ठानाबासी दीपककुमार नेपाली र सूर्यबहादुर केसीको सक्रियतामा १ लाख २५ हजार, इजरायलमा रहेका नेपालीबाट ६० हजार रकम उपचारकै क्रममा सकिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप