बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सर पीडित बलिउड अभिनेता इरफानको लण्डन अस्पतालबाट मार्मिक पत्र

बुधबार, ०६ असार २०७५, १० : १३
बुधबार, ०६ असार २०७५

केही महिना अघि मलाई अचानक थाहा भयो कि म न्यूरोएन्डोक्राइन क्यान्सरबाट ग्रस्त छु । मैले पहिलो पटक यो शब्द सुनेको थिएँ ।

सर्च गर्न थालें, पत्ता लाग्यो कि यो रोगमा त्यति धेरै अनुसन्धान भएका रहेनछन्, किनभने यो एक अचम्मको शारिरिक अवस्थाको नाम हो त्यसकारण यसको उपचारको अनिश्चितता धेरै छ ।

अहिलेसम्म आफ्नो यात्रामा म तीब्र–मन्द गतिले अघि बढिरहेको थिएँ । मसँग मेरा योजना, आकांक्षा, सपना र उद्देश्यहरु थिए ।

म यसमा लीन हुँदै अघि बढिरहेको थिए, अचानक कसैले पिठ्युँमा धाप मारेर भन्यो, ‘तपाईंको स्टेसन आइपुगेको छ, कृपया उत्रनुहोस् ।’

मैले बुझिनँ र भने, ‘होइन, मेरो स्टेशन अहिले आइपुगेको छैन ।’

जवाफ पाएँ, ‘अर्को कुनै पनि स्टेशनमा तपाईं उत्रनुपर्छ, तपाईंको गन्तव्य आइसकेको छ ।’

अचानक महसुस हुन्छ कि तपाईं कुनै ढकनी (कर्क) जस्तै अपरिचित सागरमा, अप्रत्यासित छालहरुमा बगिरहनु भएको छ... छालहरुमाथि नियन्त्रण पाउने भ्रम पालेर ।

निकै डराएर म आफ्नो छोरासँग भन्छु, ‘आजको यो हालतमा म केवल यतिमात्र चाहन्छु... म यो मानसिक स्थितीलाई हडबडी, डर, तनाव वा डरले उत्तेजित अवस्थामा बाँच्न चाहन्नँ । मलाई कुनै पनि हालतमा आफ्नो खुट्टा चाहिन्छ जसमा उभिएर म आफ्नो स्थितीमा तटस्थ भएर बाँच्न सकूँ । म उभिन चाहन्छु ।’

मेरो यस्तो मनसाय थियो, मेरो उद्देश्य थियो...

केही हप्तापछि म एक अस्पतालमा भर्ना भएँ । अत्यधिक पीडा भइरहेको थियो । थाहा थियो पीडा हुन्छ भन्ने तर यस्तो पीडा... । अब पीडाको तीब्रता बुझिरहेको छु ।

केहीले पनि काम गरिरहेको छैन । न कुनै सान्त्वना, न नै आश्वासन । पीडा भगवानभन्दा पनि ठूलो र विशाल महसुस भयो ।

म जुन अस्पतालमा भर्ना भएको छु, त्यसमा बाल्कोनी पनि छ । बाहिरको दृश्य मज्जाले देखिन्छ । कोमा वार्ड मेरोभन्दा ठिक माथि छ । सडकको एकतर्फ मेरो अस्पताल छ र अर्कोतर्फ लोर्डस् स्टेडियम ।

म पीडाको गिरफ्तमा छु ।

त्यसपछि एकदिन यो महसुस भयो... जस्तो कि म कुनै यस्तो वस्तुको हिस्सा होइन, जसले निश्चित हुने दाबी गरिरहेको छ । न अस्पताल न स्टेडियम । मभित्र जुन शेष थियो त्यो वास्तवमा संसारको असिम शक्ति र बुद्धिको प्रभाव थियो । मनले भन्यो । केवल अनिश्चितता नै निश्चित छ ।

यो अनुभवले मलाई समर्पण र विश्वासका लागि तयार गर्यो । अब नतिजा जे सुकै होस्, यसले चाहे जता पुर्याओस्, आजभन्दा आठ महिनापछि वा आजभन्दा चार महिनापछि वा दुई वर्षपछि । चिन्ता किनारा लाग्यो र विलिन हुनथाल्यो । त्यसपछि मेरो दिमागबाट मर्ने बाँच्ने हिसाब बाहिरियो ।

पहिलो पटक मलाई ‘स्वतन्त्रता’ को महसुस भयो, वास्तविक अर्थमा ! एउटा उपलब्धिको महसुस ।

यो यात्रामा संसारभरीका मानिसहरु.... सबैले मेरो स्वास्थ्यको लागि प्रार्थना गरिरहनु भएको छ । म जसलाई चिन्छु र जसलाई चिन्दिनँ, उहाँहरु सबैले अलग–अलग स्थान र टाइम जोनबाट मेरा लागि प्रार्थना गरिरहनु भएको छ । मलाई लाग्छ कि उहाँहरुको प्रार्थना मिलेर अब एक भएको छ, एउटा ठूलो शक्ति । तीब्र जीवनधारा बनेर मेरो स्पाइनमार्फत ममाथि प्रवेश गरेर टाउकोको कपालसँग अंकुरित भइरहेको छ ।

अंकुरित भएर यो कहिले कोपिला, कहिले पात, कहिले पालुवा बन्ने गर्दछ । म खुसी भएर यसलाई हेर्ने गर्दछु । मानिसहरुको सामूहिक प्रार्थनाबाट उब्जिएका हरेक पालुवा, हरेक पात, हरेक फूलले मलाई एउटा नयाँ दुनियाँ देखाउँछ ।

(बलिउड अभिनेता इरफान खान बिरामी छन् र लण्डनको एक अस्पतालमा उपचार गराइरहेका छन् । यो मार्मिक चिठ्ठी उनले लण्डनबाट आफ्ना मित्र र पत्रकार अजय ब्रह्मात्मजलाई पठाएका हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप