शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ठक्कर ललितपुरमा पक्राउ : फिल्मी शैलीमा यसरी समातिए ‘हिट एण्ड रन’ चालक

बुधबार, ०६ असार २०७५, ०९ : ३९
बुधबार, ०६ असार २०७५

ललितपुर । समय : राती १० बजेर १० मिनेट

स्थान : सिनामंगल, काठमाडौँ ।

एउटा खैरो रंगको गाडी तीव्र गतिमा हुँइकिदै आउँछ ।

सिनामंगल प्रहरी बिट नजिकै एक महिलालाई ठक्कर दिन्छ । महिलाको घटनास्थलमा नै मृत्यु हुन्छ । तर, उक्त गाडी त्यहाँ नरोकी तीव्र गतिमा फरार हुन्छ ।

यता, सडक बत्तीसमेत नभएको स्थानमा अन्धकार भएको कारण प्रहरीले उक्त गाडीको नम्बरसमेत टिप्न असमर्थ हुन्छ ।

लगत्तै, राजधानीका प्रहरीको सञ्चार सेटमा हल्लीखल्ली गरिन्छ – एउटा खैरो रङ्गको टाटा सुमो जस्तो देखिने गाडीले एक महिलालाई ठक्कर दिएर भागेको छ ।’

तर, नम्बर नै नभएको गाडी, हुलिया नै अस्पष्ट भएको गाडीलाई रातको अन्धकारमा कसरी पक्राउ गर्ने ? प्रहरीहरु अलमलमा पर्छन् ।

राजधानीकै अर्को जिल्ला ललितपुरमा ट्राफिक प्रहरीहरु नियमित रात्रीकालिन जाँचमा व्यस्त थिए । सानेपा नजिकै रहेको कालोपुलमा असई मधु थापाको कमाण्डमा ट्राफिक प्रहरीहरु नियमित मापसे चेकिङ गर्दै थिए ।

त्यही क्रममा एउटा सुमो गाडी रङवेबाट त्यहाँ आइपुग्छ । 

रोचक कुरा, त्यो गाडीको एउटा हेडलाइट बलिरहेको हुँदैन र उसको लुकिङ ग्लास पनि फुटेको हुन्छ ।

प्रहरीले चालकको चेकिङ गर्दा मापसे सेवन गरेको पाइन्छ । उनलाई तत्कालै पक्राउ गरिन्छ ।

‘शुरुमा त उसले आफ्नो गल्ती स्वीकार नै गरेन । तर, केरकार गरेपछि उसले अन्ततः सिनामंगलमा एकजना पैदलयात्रुलाई ठक्कार दिएको आफू भागेको स्वीकार गर्यो,’ लतिलपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले रातोपाटीसँग भने ।

पक्राउ पर्नेमा बारा घर भएका ३२ वर्षीय उपेन्द्र महतो रहेका छन् । उनले चलाएको ना १ ज ४२५० नम्बरको टाटा सुमोले ठक्कर दिँदा दोलखा घर भएकी ४७ वर्षीया गोमा भुजेलको मृत्यु भएको छ ।

‘यदी नियमित ट्राफिक जाँच नभएको भए  सायद उनी उम्किसक्थे,’ हाछेथु भन्छन्, ‘काठमाडौँको फरार अभियुक्त यता ललितपुरमा पक्राउ पर्लान् भनेर हामीले सोचेका पनि थिएनौँ । जिल्ला बाहिरको नम्बर प्लेट भएको गाडी यहाँबाट पनि उम्केको भए । सायद उनी कहिले पनि पक्राउ पर्ने थिएनन् । मृत्तकका परिवारले न्याय नै पाउने थिएनन् ।’

महतोलाई पक्राउ गरी प्रहरीले थप कारवाही अघि बढाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप