शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुर्गादेवीमा ४३ वर्षदेखि धुलोमै बसेर पढाइ

बुधबार, ०६ असार २०७५, ०८ : ५९
बुधबार, ०६ असार २०७५

जाजरकोट - यहाँको कुशे गाउँपालिका–६ भार्मस्थित दुर्गादेवी आधारभूत विद्यालयमा पढ्ने विद्यार्थी धुलोमा बसेर पढ्न बाध्य छन् । 

उनीहरू फर्निचर अभावमा भुइँमा बसेर पढाइ गर्न बाध्य भएका हुन् । विद्यालय रहेको स्थान कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र पनि हो । गाउँपालिकाको केन्द्र कायम भएपछि भार्म गाउँको परिचय बदलियो, तर विद्यालयजस्तो शिक्षण संस्थाको अवस्था परिवर्तन हुन सकेन । 

कार्यालय भवन, मोटरबाटो, खानेपानी, विद्युत्लगायत पूर्वाधार विकासको हिसाबले गाउँपालिका सदरमुकाम भार्मको परिचय बदल्न खोजिए पनि विद्यालयमा आधारभूत पूर्वाधार विकासमा बेवास्ता भएको स्थानीय वीरबहादुर विष्टले बताए । 

४३ वर्षअघि स्थापना भएको विद्यालयको कक्षाकोठामा एउटा पनि फर्निचर छैन । कक्षाकोठा सफासमेत छैनन् “नवआगन्तुकलाई विद्यालय भैँसी गोठ हो कि कक्षाकोठा हो भनेर छुट्याउन गाह्रो पर्छ,” विष्टले भने। विद्यालय बत्तीमुनिको अँध्यारो बन्न पुगेको उहाँको भनाइ छ । 

बाल विकास केन्द्रदेखि ८ कक्षासम्मको पढाइ हुने विद्यालयमा भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको प्रधानाध्यापक सुनरलाल चौधरीले बताए । फर्निचरको व्यवस्थाका लागि शिक्षा समन्वय एकाइलगायत निकायलाई पटक–पटक सहयोग मागे पनि बेवास्ता भएको प्रधानाध्यापक चौधरीले जनाए । 

विद्यालयमा इलेक्ट्रोनिक हाजिरी तथा ३०० वाट क्षमताको सोलार सेटका साथै कम्प्युटरको व्यवस्था छ । तर, कम्प्युटर उपयोगविहीन छ । सोलार भने विद्यालयका शिक्षक र स्थानीय अभिभावकलाई मोबाइल चार्ज गर्ने काममा मात्र सीमित छ । 

गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटबाट विद्यालयमा इलेक्ट्रोनिक हाजिरी, कम्प्युटर र सोलारको व्यवस्था गरेको हो । विद्यालयमा २० जना बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकासहित १६९ विद्यार्थी छन् । कक्षाकोठामा बस्ने बेन्च तथा कार्पेटको व्यवस्था नहुँदा भुइँमा बसेर पढ्न बाध्य भएको विद्यार्थी हरि विष्टले बताए । 

भुइँमा बस्दा चिसो लाग्ने, धुलोले कपडा छिट्टै फोहर हुनेलगायत समस्याले सताउने गरेको उहाँको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप