बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मौसमसम्बन्धी सूचना पाउन बुधबारदेखि बेलुन उडाइने

मङ्गलबार, ०५ असार २०७५, २१ : ५९
मङ्गलबार, ०५ असार २०७५

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन (रेडियोसोण्ड) बुधबारदेखि उडाइने भएको छ । 

त्रिविमा आज आयोजित छलफल कार्यक्रममा रजिष्ट्रार डिल्लीराम उप्रेतीले माथिल्लो वायुमण्डलका विभिन्न उचाइ र तह, वायुमण्डलीय सूचक चाप, तापक्रम, सापेक्षित आद्र्रता, वायुको दिशा, गतिलगायत मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरणमार्फत जमीनमा पठाउन मौसमी बेलुन उडाइने तयारी गरिएकोे जानकारी दिए । 

‘अहिले हाम्रो मौसमको पूर्वानुमान लखनौको केन्द्रविन्दु मानेर गरिन्छ’, उनले भने,  ‘‘त्यसले नेपालको मौसमको पूर्वानुमानलाई सत्यता दिन सकेको छैन । अब हामीले हाम्रो देशबाट उडाइने बेलुनबाट मौसमसम्बन्धी सही सूचना पाउने छौ ।’ 

मौसमी बेलुनले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप वैज्ञानिक एवं तथ्यगत बनाउने र जल तथा मौसम विज्ञानको उच्चशिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने उनले बताए । 

जल तथा मौसम विभागका महादिर्शेशक डा ऋषिराम शर्माले मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन सरकारले जर्मनेली प्रविधिको सहयोगमा मौसमी बेलुन उडाउन थालेको बताए । उनले यसअघि पनि मौसमी बेलुन उडाएर प्रयास गरिए पनि प्रविधि खर्चिलो भएकाले अहिले पुनः कार्यान्वयनमा अघि बढेको जानकारी दिए । 

अहिले त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागबाट बिहान ५ः३० बजे बेलुन उडाइनेछ र क्रमशः नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चालन गरिने योजना रहेको विभागका प्रमुख प्रा डा दीपक अर्यालले बताए । 

बेलुन ३०–४० किमी माथिसम्म पुगी तल रहेको सूचना संकलन गर्ने यन्त्रलाई तथ्याङ्क पठाउनेछ र सोही तथ्याङ्कबाट नै मौसमको पूर्वानुमान गर्न सकिनेछ । उक्त बेलुन उडाउँदा दैनिक २०० अमेरिकी डलर खर्च हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप