शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अदिभारा–डाँडागाउँ सडकको मार्ग खुल्यो

मङ्गलबार, ०५ असार २०७५, १७ : १३
मङ्गलबार, ०५ असार २०७५

बाबियाचौर– आठ वर्षको प्रयासपछि म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा सडक पुर्याइएको छ । वि.सं २०६७ मा अदिभारादेखि शुरु भएको सडकको मार्ग निर्माण कार्यले हालै पूर्णता पाएको हो । करिब रु एक करोड सात लाखको लागतमा अदिभारादेखि सेउलुङ औला डाँडागाउँ हुँदै किटिनी जोड्ने १६ किलोमिटर सडकको मार्ग निर्माण भएको हो । अदिभारादेखि औलाभिरसम्मको तीन किलोमिटर सडक निर्माणमा तत्कालीन जिविस र रुम गाविसबाट करीब रु ५० लाख लगानी भएको थियो । 

गत वर्ष औलाका बासिन्दाले रु १८ लाखको लागतमा औलाभिरको पहाड फुटाएर गाउँमा सडक पुर्याएका थिए । यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रु ३५ लाख बजेटबाट औलादेखि डाँडागाउँ किटिनी हुँदै बागलुङको तमानखोला गाउँपालिकाको सिमाना सोलेडाँडासम्म सडक पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष पदम पुनले बताए । 

भिरालो र चट्टानी पहाडमा सडक निर्माण गर्दा धेरै बजेट र समय खर्च भएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । यो सडकबाट सेउलुङ, औला, डाँडागाउँ, पात्ले, किटिनीलगायत बस्तीका ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । तमानखोला गाउँपालिकाका बासिन्दालाई पनि यो सडकले सुविधा पुगेको वडाध्यक्ष हेमबहादुर पुनले जानकारी दिए । 

डाँडागाउँसँगै सातवटा वडा रहेको मालिका गाउँपालिकाका सबै वडा र बस्ती सडक सञ्जालमा जोडिएका छन् । सडक निर्माण भएपछि स्थानीयवासीलाई आवत जावत, निर्माण तथा खाद्यान्न सामग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि, पशुजन्य वस्तु र वनपैदावार बजारसम्म पु¥याउन सहज भएको छ । ढुवानी खर्च घटेको छ । भौगोलिकरुपमा विकट क्षेत्रका बासिन्दालाई स्वास्थ्य संस्थामा पुगेर सेवा लिन सहज भएकामा स्थानीयवासी केशबहादुर बुढाथोकीले खुशी व्यक्त गरे । 

पाँच मिटर फराकिलो सडकमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि जिप, ट्र्याक्टर, ट्याक्सीले सेवा दिन थालेका छन् । दरवाङदेखि तमानखोला जोड्ने छोटो दूरीको मानिएको यो सडकलाई सुधार, स्तरोन्नति र नियमित सवारी सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप