शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हाँडीकोटमा पूर्वाधार बन्दै

मङ्गलबार, ०५ असार २०७५, १५ : ०२
मङ्गलबार, ०५ असार २०७५

बागलुङ– जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोट जाने पदमार्ग निर्माण शुरु भएको छ ।  धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकाले पदमार्ग बनाउन लागेको हो । हाँडीकोट नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङ्खानीको सिमानामा अवस्थित छ । व्याड्थलादेखि हाँडीकोटको धुरीमा पुग्न करीब तीन किलोमिटर पदमार्ग निर्माण गरिने नगरपालिकाले जनाएको छ । 

चालु आवमा विनियोजित रु दुई लाख बजेटबाट एक सय मिटरमा पदमार्ग बनिसकेको छ । आगामी आवको बजेटबाट बाँकी काम पूरा गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख लीला रानाले बताए । ‘व्यवस्थित र पर्यटनमैत्री हिसाबले पदमार्ग बन्छ,’ उनले भने, ‘हाँडीकोटलाई पर्यटकीय गन्तव्य बनाउन नगरपालिका अग्रसर छ ।’ 

हाँडीकोट पुग्ने बाटोस्तरीय नहुँदा पर्यटकलाई झण्झटिलो यात्रा गर्नुपर्ने बाध्यता छ । आन्तरिक पर्यटकको रोजाइँमा परेको हाँडीकोटमा पूर्वाधार विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य नगरपालिकाको छ । 

समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित हाँडीकोट ऐतिहासिक महत्वका कारण परिचित छ । भुरे टाकुरे राजाको पालामा दरबार रहेको हाँडीकोटमा प्राचीन महत्वका वस्तु तथा कला छन् । 

ढुंगामा कुँदिएका हस्तकला र शिलालेख अहिले पनि रहेको स्थानीयवासी मित्र थापाले बताए । उनका अनुसार साधु सन्तले ध्यान, साधनाका लागि बनाएका कुटीका अवशेष पनि हाँडीकोटमा छन् । मनोरम हिमशृंखलाको अवलोकनका साथै प्राकृतिक सौन्दर्यमा रमाउने पर्यटकका लागि हाँडीकोट राम्रो गन्तव्य मानिन्छ । हाँडीकोटमा शिव मन्दिर रहेको छ । 

यहाँ शिवरात्रीमा ठूलो मेला लाग्ने गरेको वडा नं १० का वडाध्यक्ष नरबहादुर थापाले बताए । ‘प्रचारप्रसार नहुँदा हाँडीकोट ओझेलमा परेका छ,’ उनले भने । नगरपालिका नहुँदै तत्कालीन राङखानी गाविसले हाँडीकोट संरक्षणको काम गर्दै आएको थियो । हाँडीकोटसँग सिमाना जोडिएका सबै वडाले हाँडीकोटको विकासलाई प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष थापाको भनाइ छ । 

धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जैविक हिसाबले समेत हाँडीकोटको महत्व छ । हाँडीकोट क्षेत्रमा बहुमूल्य जडीबुटी समेत पाइने स्थानीवासी बताउछन् । जैमिनी नगरपालिकाले यसलाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्य लिएर काम अघि बढाएको छ । सदरमुकामदेखि तीन घण्टा कच्ची सडकको मोटर यात्रापछि हाँडीकोट पुग्न सकिन्छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप