शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटा यूवा डाक्टरले यसरी सम्झिइन् डा. देवकोटालाई

मङ्गलबार, ०५ असार २०७५, १२ : ०६
मङ्गलबार, ०५ असार २०७५


डा. राजन किशोरी केसी

लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट  पीडित वरिष्ठ न्युरोसर्जन तथा पूर्व स्वास्थ्य मन्त्री  डा. उपेन्द्र देवकोटाको निधनले आम मानिसलाई शोकाकुल बनाएको छ । उहाँको निधनबाट देशले चिकित्सा क्षेत्रमा अपुरणीय क्षति बेहेर्नु परेको छ  ।  जन्मपछि मृत्यु स्वभाविक प्रक्रिया हो तर उपेन्द्र देवकोटाको अनुहारमा मृत्युको त्रास कहिलै देखिएन । मृत्युलाई साहसिक रूपमा स्विकार्नुभएको थियो । उहाँ हामी माझ नरहे पनि उहाँले गरेको सम्झनालायक अनगिन्ति काम हामीलाई छोडेर जानुभएको छ ।

नेपालको स्वास्थ्य क्षेत्रको  विकासमा  डा. देवकोटाको अमूल्य योगदान छ । करिब ३७ वर्ष लामो चिकित्सा पेसा  बिताइसकेका डा. देवकोटाले लगभग ३४ हजारभन्दा बढीको  शल्यक्रिया,  १२  लाखभन्दा  बढी बिरामीहरूको उपचार र धेरैलाई पुनर्जीवन दिनुभएको थियो । २५ वर्ष जति वीर अस्पतालमा बिताउनुभएको देवकोटाले गरिब तथा निम्नस्तरका बिरामीहरूलाई सेवा दिँदै आउनुभएको थियो ।

सात महिना स्वास्थ्य मन्त्री हुँदा उहाँले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ कामको थालनी गर्नुभएको थियो । अध्यादेशमार्फत राष्ट्रिय चिकित्सा विज्ञान  प्रतिष्ठान (नाम्स) बनाउने, विशेषज्ञ अध्यनको पढाइ नेपालमा नै सुरु गर्ने, गुणस्तरीय स्वास्थ्य सेवालाई विकेन्द्रित गर्ने, वीर अस्पतालमा न्युरो सर्जरी विभागको स्थापना गर्ने, स्वास्थ्य बिमा लागू गर्ने, दुई वर्ष दुर्गममा बसेपछि सरकारले पोस्टग्राजुयट (पीजी) निःशुल्क पढाइदिने आदि कुराहरूलाई प्राथमिकताका साथ  गर्नुभएको थियो । यसले गर्दा नै आज नेपालको इतिहासमा चिकित्सा क्षेत्रले गुणस्तरीय सेवा दिँदै आएको र एसियामा  नेपालले स्वास्थ्य विज्ञानमा उत्कृष्ट भूमिका निभाउँदै आएको छ भनेर चिनाउँदै आउनुभएको   थियो । त्यसैगरी  नेपालको पहिलो दक्षता  तथा सेवायुक्त न्युरो अस्पताल स्थापित  गरेर लाखौँ बिरामीहरूलाई सेवा र  धेरै नयाँ दक्ष न्युरो चिकित्सकहरू उत्पादन  गरी नेपालको चिकित्सा सेवामा अतुलनीय  योगदान दिनुभएको थियो । चिकित्सा क्षेत्रमा नेपाल र नेपालीको शान  डा. देवकोटा नेपालमा मात्र नभएर एसियाको एक अब्बल र नामी  न्युरोसर्जनका रूपमा प्रख्यात हुनुहुन्थ्यो । अब राष्ट्रले उहाँ जस्तो न्युरोसर्जन जन्माउन पक्कै पनि धेरै समय लग्नसक्छ । डा. देवकोटा हामी नेपालीहरूका लागि एक अमूल्य गहना हुनुन्थ्यो । साथै  स्वास्थ्य क्षेत्रमा मात्र नभई राजनीतिलाई नजिकबाट  नियल्ने एक प्रबुद्ध नागरिक हुनुहुन्थ्यो  ।

बेलायतमा उच्च  शिक्षा हासिल गरी आफ्नै मातृभूमिको सेवा गर्ने भनेर  स्वोदेश फर्केर आउनुभएको र आफ्नै माटोमा केही गर्छु भनेर दृढता बोकी असङ्ख्य बिरामीको सेवामा समर्पित हुनुभएको थियो । उहाँको त्याग, तपस्या र साधनाले मातृभूमिप्रति आगहद प्रेम देखाई दिनुभएको छ । लाखौँ प्रतिभाशाली तथा दक्ष युवालाई  प्रेरणा र हौसला प्रदान गर्दिनुभएको छ । साथै सम्पूर्ण नेपालीहरू माझ एकपल्ट फेरि देशभक्ति र एकता जगाइदिनु भएको छ । बेलायतबाट उपचार सम्भव नभएपछि स्वोदेशमा नै फिर्ता भई देहत्याग गर्ने इच्छा व्यक्त गर्नुभएको डा. देवकोटाको जीवनसँग मेल खाने बालकृष्ण समद्वारा लिखित देशप्रेमले भरिएको कविताको सानो अंश :


इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्यु शैया जली
मेरो रक्त सुकाउला म गरूँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरू परून् नेपालकै केवल
जे–जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।

बालकृष्ण समले भनेजस्तै उहाँले जीवनको अन्तिम अवस्थामा आफ्नो जन्मथल गोर्खाको सिस्नुधाराको पानी पिएर सन्तुष्टिको सास फेर्नुभएको थियो । आफूलाई जन्म दिने आमा र आफ्नो जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने कुरालाई चरिथार्थ गराएर जानु भयो ।

डा. उपेन्द्र देवकोटाको  बैकुण्ठमा बास होस् । उहाँप्रति हर्दिक  श्रद्धाञ्जलि अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामना साथै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।

(प्रसूति तथा स्त्री रोग विशेषज्ञ अध्यनरत, हाल चीन ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप