केन्द्रीय संस्करण

करियरको लास्ट इनिङमा छु : अनिलकेशरी शाहसँगको अन्तरवार्ता

person access_timeअसार ५, २०७५ chat_bubble_outline0

अहिले बैङ्किङ क्षेत्रमा ब्याजदर र मौद्रिक नीति बारे बहस चलिरहेको छ । राष्ट्र बैङ्क मौद्रिक नीति ल्याउने अन्तिम तयारी पनि गरिरहेको छ । पछिल्लो समय चर्किएको लगानीयोग्य रकमको अभाव र बढ्दो ब्याजदरलाई मौद्रिक नीतिले सम्बोधन गर्ला या नगर्ला भन्ने चासो र अपेक्षा पनि उत्तिकै छ । यही सेरोफेरोमा रहेर नविल बैङ्कका कार्यवाहक​ सीईओ अनिल केशरी शाहसँग कुरा गरेका छौँ । शाहको बैङ्किङ करियरमा सम्भवतः नविल बैङ्क नै अन्तिम रहेको उनले बताइरहेका छन् । यसैले अनिलले आफ्नो करियरको लास्ट इनिङलाई कसरी प्रयोग गरिरहेका छन् भनेर रातोपाटीका लागि एलिजा उप्रेतीले बुझ्न खोजेकी छन् । 

नविल आउनुभएको झण्डै ४ महिना भएको छ, तपार्ईंंकै भाषामा भन्नुपर्दा लामो समयपछि घर फर्कदा के–के कुराको कमी पाउनुभयो वा पहिलेको भन्दा पूर्ण लाग्यो ?
ग्रिनलेजबाट सुरु भएको मेरो बैङ्किङ करियरमा १३ वर्ष त्यहाँ बसेपछि नविल बैङ्क आएको थिए । सीईओ भएर ५ वर्ष नविल बसेर मेगा बैङ्क गएको हो । मेगा बैङ्कलाई स्थापना गरेर ८ वर्ष पछि फेरि नविल फर्कंदा घर फर्केको जस्तो भएको छ । यहाँको टिम र सिस्टम परिचित भए पनि परिस्थिति अलि फरक भएछ । पहिला यहाँ हुँदा काम गरेर बैङ्कलाई नम्बर वान बनाइयो । अहिले आउँदा बैङ्कहरू मात्र होइन उहाँहरूको व्यवसाय पनि बढेको छ । प्रतिस्पर्धामामा तीव्रता छ । जुनकाम गरिरहेका छौँ, त्यो मात्र गरेर अब पुग्नेवाला छैन । यो सँगसँगै नयाँ काम गरेर अघि बढ्नुपर्छ ।  घर फर्केको छु तर चुनौतीहरू धेरै छन् । चुनौतीलाई अवसरमा कसरी परिवर्तन गर्ने भन्ने छ । मेगा भनेको नयाँ संस्था थियो, जहाँ फ्लेक्सिबिलिटी आउँछ । पुरानो संस्थाको आफ्नै संस्कार र सिस्टम बसिसेको हुन्छ र त्यसको विपरीत जान कठिन हुन्छ । अब नविलको ब्रान्डलाई रिइर्नजाइज गर्नुपर्ने चुनौती छ । नविल बैङ्कमा विश्वास छ । सेवाको स्तर देखेर ग्राहकहरू सन्तुष्टि छन् तर त्यो सन्तुष्टिको मात्रा कसरी बढाउने भनेर हेर्नुपर्छ ।  अब नविल नै मेरो बैङ्किङ करियरको अन्तिम अवस्था पनि हो । 

नविल बैङ्क नै तपाईंको बैङ्किङ करियरको लास्ट इनिङ भन्नु भएको हो ?
मैले ३० वर्ष वित्तीय क्षेत्रमा काम गरिसकेको छु । अब नविलमा काम गरेर मेरो कार्यकाल सकिएपछि फेरि अर्को बैङ्कमा जाने सोच छैन  । मेरो बैङ्किङ करियरको अन्तिम अवस्था हो र यो भनिरहँदा जहिले पनि लास्ट इनिङ राम्रै होस् भन्ने सबैको चाहना हुन्छ । हो त्यस्तै म पनि चाहन्छु । साम, दाम, दण्ड, भेद जसरी भए पनि यो टिमसँग मेरो लास्ट इनिङ सम्झन लायक बनाउनु छ ।  नेपालमा धेरै विदेशी जोइन्ट भेन्चरले नेपालमा आएर कम्पनी खोले र विदेशमा धेरै डिभिडेन्ड लैजान्छन् । नविल पनि विदेशमा शाखा खोल्न चाहन्छ । नाफा नेपाल ल्याउन चाहन्छ । केही न केही फरक गर्ने पक्षमा छु । सातवटा प्रान्तीय अफिस खोलेका छाँै । राजनीतिक शक्ति विकेन्द्रीकरण भएजस्तै आर्थिक क्षेत्र पनि विकेन्द्रीकरण हुनुपर्छ, त्यो काम वित्तीय क्षेत्रले गर्नुपर्छ । त्यसमा पनि नविल बैङ्कले सुरुवात गर्नुपर्छ । यहाँबाट रिटायर भएपछि अरू केही काम गर्छु होला तर त्यो काम गरिरहँदा पछाडि फर्केर  हेर्दा सन्तुष्टि मिलोस् भन्ने मेरो चाहना छ  । नविल बैङ्क नम्बर वान बैङ्क भएर म यहाँ आएको होइन, यहाँको अनुभवी टिम र बोर्ड सदस्यहरूकै कारण म यहाँ छु । करियरको अन्तिम अवस्थामा यो टिमसँग काम गर्न पाउनु मेरो सौभाग्य पनि हो । 

पछिल्लो समय ब्याजदरलाई लिएर निकै बहस हुन थालेको छ । एकाथरि ब्याजदरलाई खुला बजारमा छोडिदिनुपर्छ  भन्छ अर्कोथरि त्यसरी छोडिँदा एक÷दुई बैङ्कका कारण समग्र सिस्टममै समस्या आउँछ भन्छ, यसमा तपार्ईंको धारणा के छ ? 
वित्तीय क्षेत्र भनेको अरू क्षेत्रभन्दा फरक छ  । बैङ्कको सबैभन्दा ठूलो खम्बा भनेको विस्वास हो । १ खर्ब २५ अर्ब रुपियाँ सर्वसाधारण नेपालीको निक्षेप छ यो बैङ्कमा जुन ८ अर्बको बैङ्क हो । यो डिपोजिटलाई पनि सुरक्षित राख्दै विश्वास डगमगाउन दिनु हुँदैन ।  ब्याजदर यसै छोडेर निक्षेपकर्तालाई फाइदा भए पनि ऋणी मारमा पर्छन् । निक्षेपकर्ता जस्तै ऋणी पनि हाम्रै ग्राहक हुन् । अहिले यो बिजुली बत्ती बलिरहेको ऋण लिएर बनाएकै आयोजनाले गर्दा हो । ऋण लिनै नसक्ने ब्याजदर भएपछि खाद्यान्न र आधारभूत आवश्यकता पूरा गर्न पनि समस्या हुन्छ । ब्याजदरमा एउटा सन्तुलन हुनुपर्छ, चाहे राष्ट्र बैङ्कले व्यवस्था गरोस्, चाहे हामी  बैङ्कहरू मिलेर नै व्यवस्था गरौँ ।  फरक बैङ्कको फरक समस्या हुन्छ ।

हाम्रै नविल बैङ्कलाई हेर्नुहुन्छ भने आज पनि सीसीडी (कर्जा, पुँजी, निक्षेप अनुपात) ७५ प्रतिशत छ । कस्ट अफ फन्ड पनि व्यवस्थित छ ।  बेस रेट नै ७.५ प्रतिशत जति छ । हाम्रो स्प्रेड ५ प्रतिशत पुगिसकेको छ । हामीलाई ब्याजदर बढाउँदै लैजान कुनै समस्या छैन । तर एउटा पुरानो र ठूलो बैङ्क भएकाले हामीले हाम्रो समग्र उद्योग र अर्थतन्त्रलाई हेर्नुपर्छ । ८ प्रतिशतको वृद्धिदरसहितको बजेट आएको छ । ६.७ प्रतिशत मुद्रास्फीति भनेको छ । मौद्रिक नीतिले  स्थायित्व ल्याउने हो । बजेटलाई प्रोत्साहन गर्नुको साथै स्थायित्वतर्फ अहिलेको मौद्रिक नीति पनि आउला । यसका लागि पनि ब्याजदर नियन्त्रणमा राख्नुपर्छ । फ्री मार्केट भन्दै छोडेर भोलि १ वर्षको बचतलाई १५ प्रतिशत दिन लाग्यौँ भने ऋणीको हालत के हुन्छ ?  ब्याजदरमा स्थिरता ल्याउन नियामक र बैङ्क तथा वित्तीय संस्था स्वयम्ले भूमिका खेल्नुपर्छ । 

उसो भए तपाईं ब्याजदरलाई जथाभावी छोड्दिनु भएन भन्ने पक्षमा देखिनुहुन्छ ?
हो, ब्याजदरलाई त्यसै छोडेर होला जस्तो देखिएन । जसले जति पायो उति लिने देखियो । पेट्रोलको मूल्य नियन्त्रण गर्छौं, बिजुलीको मूल्य निर्धारण छ । पानीको मूल्य निर्धारण गर्छौं भने पुँजी पनि त्यस्तै हो । हाम्रो जस्तो आर्थिक अवस्था भएको देशमा ब्याजदरलाई पूरै छोड्न मिल्छ जस्तो मलाई लाग्दैन । 

राष्ट्र बैङ्कले ल्याएको मर्जर एक्विजिसनबाट पनि वाणिज्य बैङ्कको सङ्ख्या नघटेपछि अहिले बिग मर्जरका विषयमा बहस हुन थालेको छ । यदि त्यसो भयो भने फेरि बैङ्कहरू विग मर्जरमा जान तयार छन् ?
बैङ्क तथा वित्तीय संस्था भनेको अल्पकालीन कारोबारी होइनन् । एउटा एलसी खोल्यो, सामान ल्यायो बेच्यो र नाफा कमायो भन्ने जस्तो बैङ्किङ बिजनेस होइन । हाम्रो दृष्टिकोण दीर्घकालीन हुन्छ र हाम्रो नियामकको पनि त्यस्तै हुनुपर्छ । केही बैङ्कहरू हुँदा धेरै बैङ्कहरूलाई लाइसेन्स दिइयो । त्यतिबेला मैले सङ्ख्या मात्र बढाएर हँुदैन संस्थाको आकार पनि बढाउनुपर्छ भनेका थिए । उहाँहरूले होइन प्रतिस्पर्धा चाहिन्छ, प्रतिस्पर्धादेखि तपाईंहरू नडराउनुस् भन्नुभयो । ३२ वटा बैङ्कको लाइसेन्स दिनुभयो, अहिले हामी २८ मा झरेका छौँ । पछि आएर बैङ्कको साइज बढाउन एउटा नीति ल्याउनुभयो । सबैजनाले त्यो नीतिमा पनि राम्रै हो, हकप्रद सेयरमा सिमा लगाउनुपर्ने र मर्जरलाई प्रोत्साहन गर्नुपर्ने भनेका थिए । नत्र सबै ८ अर्ब बैङ्क भएपछि झन् समस्या होला पनि भन्यौैँ । अहिले लगभग त्यस्तै भएको छ । सबै बैङ्कको ८ अर्ब पुँजी पुगेको छ । २८ वटा बैङ्क ८/८ अर्ब पुँजी यो अर्थतन्त्रले धान्छ कि धान्दैन भन्ने विषय अर्थमन्त्रालय, योजना आयोग र राष्ट्र बैङ्कले हेर्ने कुरा हो । बैङ्कको सङ्ख्या अझै घटाउनुप¥यो भने अलि राम्रोसँग गृहकार्य गरेर नीति ल्याउनुपर्छ । सुपर मर्जर गर्ने हो भने तीनवटा ठूला बैङ्क मर्ज भयो भने त्यसले मात्र पनि नहोला । साना साना बैङ्क मर्ज भए त्यो पनि नहोला । फेरि मर्जरको कुरा आयो भने पर्याप्त गृहकार्य गर्नुपर्छ । हामीले के गर्न खोजेका हौँ, कहाँ जान खोजेका हौँ र त्यहाँ जाने बाटो के हो, स्पष्ट हुनुपर्छ । पुँजी त ८ अर्ब अहिले पनि ठूलै हो । स्टक मार्केट बैङ्कमै बढी निर्भर छ । आउने दिनमा लगानीकर्ताले लाभांश चाहन्छन् भने पनि ५, ७ वर्ष दिन नसक्ने अवस्था आउँछ । बैङ्कको पुँजी बढाएर मात्र हुँदैन, यसको प्रभाव स्टक मार्केटमा के पर्छ भन्ने पनि बुझ्न जरुरी छ । 

राष्ट्र बैङ्कले अहिले मौद्रिक नीति पनि बनाइरहेको छ । लगभग अन्तिम चरणमा छ । अब आउने मौद्रिक नीति कस्तो हुनुपर्ला ?
अब आउने वर्ष सबै बैङ्कहरू ८ अर्ब रुपियाँ पुगेको बैङ्क हुनेछन्, जुन पहिलो वर्ष हो । मौद्रिक नीतिले वित्तीय क्षेत्रको स्थिरता कसरी ल्याउने भन्ने विषयलाई सम्बोधन गर्नुपर्छ । ब्याजदरमा स्थिरता आउनुपर्छ । ब्याजदरमा क्यापिङ, मनिटरिङ वा करिडोर जे अपनाए पनि स्थिरता ल्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्न कल रेटमा राम्रो विचार गरेर नीति ल्याउनुपर्छ । वित्तीय क्षेत्र भनेर एउटै रूपले सबैलाई नहेर्नुहोला । सबै बैङ्कहरूको आआफ्नै चुनौती र अवसर छन् । मौद्रिक नीति वित्तीय क्षेत्रले कार्यान्वयन गर्ने हो । बैङ्कर्सहरूको चासो बजेटमा भन्दा मौद्रिक नीतिमा हुन्छ । मौद्रिक नीतिले मुद्रास्फीतिलाई नियन्त्रण गर्छ । बजेट भनेको हात खुट्टा जस्तो र मौद्रिक नीति भनेको मुटु जस्तो हो । त्यही भएर मुटु स्वस्थ हुनुपर्छ । 

नविल बैैङ्कलाई लगानीयोग्य रकमको अभाव छ कि छैन ?
सीसीडी ७५ प्रतिशतभन्दा बढ्दैन भने हामीलाई लगानीयोग्य रकमको अभाव छैन । अलिकति उथलपुथ हुँदा मान्छेहरू सुरक्षातिर जान्छन् र यो सुरक्षातिर जाँदा स्टक मार्केट उथलपुथल भइरहेको छ ।  यस्तो बेलामा ग्राहकले नविल बैङ्कलाई माया गरेका छन् । हाम्रो निक्षेप बढेको बढेकै छ ।  अरूको डिपोजिट रेटभन्दा कम छ हाम्रो लेन्डिङ रेट । हामी मिड कोअपरेट र एसएमईमा फोकस छौँ । हामीलाई तरलता समस्या छैन । त्यो भन्दैमा सबैमा समस्या छैन भन्न खोजेको होइन । कतिवटा बैङ्कहरूमा अझै अभाव छ । आर्थिक वर्षको अन्त्यमा धेरै रकम सिस्टमबाट  बाहिर जान्छ । सबैले कर तिर्नुपर्छ । यसले लिक्विडिटीमा फेरि समस्या हुने देखिन्छ । अर्थमन्त्रीले ल्याएको बजेटमा कसैले फरक देखेको छैन तर मैले फरक देखेको छु, यस पटक कार्यान्वयन राम्रोसँग हुन्छ भनेर साउन १ गतेबाट फरक देखिन्छ । यही बजेटले गर्दा पनि पहिलो महिनादेखि नै तरलता बजारमा आउँछ भन्नेमा ढुक्क छु । 

भनेपछि राष्ट्र बैङ्कले विदेशबाट पुँजी भित्र्याउन दिएको सहुलियत तपाईंहरूलाई आवश्यक छैन र तपार्ईंहरू विदेशी पुँजी ल्याउनुहुन्न ?
नविलले विदेशबाट पुँजी ल्याउँछ भन्ने विषयमा सोचेको पनि छैन । हामीले नेपालबाटै त्योभन्दा कम लागतमा पैसा उठाइरहेका छौँ भने विदेशको पुँजी हामीले किन ल्याउनुप¥यो । 

पछिल्लो ७, ८ वर्षयता मेगा भन्ने वित्तिकै अनिल केशरी शाह भन्ने इमेज सबैको दिमागमा आउँछ, त्यस्तै अबको केही वर्षपछि नविल भन्ने वित्तिकै अनिल केशरी शाह भन्ने इमेज बन्ला ?
तपाईंले भनेजस्तै अनिल शाह र मेगा बैङ्क भन्ने उस्तै उस्तै हो सोच्छन् । तर म नविल बैङ्कमा त्यस्तो चाहिदिनँ, किनभने यो संस्था मभन्दा धेरै ठूलो संस्था हो । म जहिले पनि के चाहन्छु भने नविल  बैङ्कको एउटा अङ्ग हुँ । मेरो नामले नविल बैङ्क चल्दैन । यसैको नामले म यसलाई चलाउन सक्छु । पहिला यहाँ हुँदा पनि अनिल भनेको नविल र नविल भनेको अनिल भन्थे । मेगामा गएपछि त्यसले रिप्लेस ग¥यो । एउटा सीईओको काम वित्तीय क्षेत्रमा विश्वास जगाउनु पनि हो । यो अनिल शाह एमबीए गरिसकेपछि ३ हजार ५ सय रुपियाँमा बैङ्कको जागिरमा प्रवेश गरेको हो । ३० वर्ष काम गरेर म यहाँ पुगेको छु । म चाहन्छु ३० वर्ष  बैङ्किङ क्षेत्रमा काम गरेको मानिस मभन्दा धेरै माथि पुग्नुहोस् भनेर ।  

 

 


 

एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि बिजनेस रिपोर्टिङ गर्छिन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ