बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डलाई किन चाहियो शक्तिशाली हेडक्वाटर ?

मङ्गलबार, ०५ असार २०७५, १० : १८
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं– शुक्रबार एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि बलियो हेडक्वाटर चाहिएको बताए । 

तत्कालीन माओवादीमा एकल रूपमा हेडक्वाटरको अभ्यास गरेका प्रचण्ड अब अलि फराकिलो हेडक्वाटरको अभ्यासमा लाग्नुपर्ने बाध्यतामा छन् । ठीक यहीबेला उनले बलियो हेडक्वाटर चाहिने मुद्दा उठाएका छन् । 

यस्तो बलियो हेडक्वाटरको पक्षमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली पनि छन् । प्रधानमन्त्री ओलीले सरकारले ल्याएको बजेटका बारेमा जथाभावी अभिव्यक्ति नदिन सांसदहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका थिए । 
नेकपाको संसदीय दलको असार २ मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न निर्देशन दिएका थिए । 
ओलीले सङ्घीय संसदको मर्यादा, सत्तापक्ष र प्रतिपक्षी दलको मूल्य र मान्यतामा कायम रहँदै सरकारले ल्याएको बजेटको बचाउमा आफ्ना अभिव्यक्ति केन्द्रित गर्न आफ्ना सांसदलाई निर्देशन दिए । ओलीले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरूलाई सचेत गराए । 

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट माथि सङ्घीय संसदमा सत्तारुढ दलकै सांसदहरूले सरकारका मन्त्रीहरूको चर्को आलोचना गरेपछि नेकपाले त्यसबारे छलफल गर्न शनिबार बिहान संसदीय दलको बैठक बोलाएको थियो । यही बैठकमा ओलीले सांसदहरूलाई निर्देशन दिएका थिए । 

पार्टी हेडक्वाटर बलियो चाहिने प्रचण्डको अभिव्यक्ति र बजेटमाथि केही टिप्पणी नगर्न प्रधानमन्त्री ओलीले दिएको निर्देशनले दुई अध्यक्ष आफ्नो अधिकार प्रयोगमा धेरै सचेत छन् भन्ने सन्देश दिन्छ । त्यति मात्र होइन, प्रचण्डको भनाइको पछाडि पार्टीभित्र पूर्ववत गुटहरू सक्रिय छन् भन्ने सन्देश पनि छ । त्यस्ता गुटहरूको उपचार बलियो हेडक्वाटरको जगमा मात्र सम्भव भएको प्रचण्डको भनाइ छ । 

बलियो हेडक्वाटर चाहिनुको कारणबारे प्रचण्डको आफ्नै तर्क छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको संयुक्त विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट पार्टी सामूहिकतामा चल्ने भएकाले त्यसका लागि छुट्टाछुट्टै पार्टी र समूह आवश्यक नभएको भन्दै दुई पार्टी एकतापछि अब बलियो हेडक्वाटर चाहिएको बताएका थिए । 

‘अब बलियो हेडक्वाटर चाहिएको छ, त्यसको विकास गर्नुपर्छ’, प्रचण्डले भनका थिए । नेतृत्व धेरै महत्वपूर्ण भएको भन्दै उनले यो जनताले आन्दोलनबाट छान्ने र त्यही छानिएकाबाट हेडक्वाटर बन्ने कम्युनिस्ट नियम भएको बताएका थिए ।

उनले भनेका थिए ‘पार्टी एकता गर्दा राम्रा र नराम्रा दुवै कुराहरू एकतामा आएको र अब तिनीहरूलाई छुट्याउन जरुरी भएको छ । व्यक्तिवादी सोच, गुट–उपगुट हामीमा अझै छ । पार्टी एकतापछि राम्रा कुरा विकसित गर्ने र नराम्रा कार्यशैली साथै सोचलाई बदलेर अवसरलाई सदुपयोग गर्दै राम्रो पार्टी बनाउने सङ्कल्प गर्नुपर्छ ।’ 

प्रचण्डले भनेका थिए, ‘पार्टी एकता अवसर र चुनौती दुवै हो । विभिन्न खालका आत्मकेन्द्रित चिन्तनहरू, असाध्यै व्यक्तिवादी सोच भएका, अपारदर्शी, गुटबनाएर चल्ने जस्ता रोगहरू अलि अलि लाग्दै जान थालेको हामीले धेरथोर महसुस गरेका छौँ ।’

अब बलियो हेडक्वाटर चाहियो : प्रचण्ड

प्रचण्डले थप भनेका छन्, ‘यो एकता शुद्धीकरण र सृदृढीकरणको अभियान हुन सक्छ । राम्रा कार्यशैलीलाई विकसित गरेर नराम्रा प्रवृत्ति र सोचलाई बदलेर राम्रो पार्टी बनाउनुपर्छ भनेका छौँ ।’ 

त्यसो भए नेकपाभित्र गुटउपगुट सक्रिय छन् ? 

प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त विस्तारित वैठकलाई सम्बोधन गर्दा पार्टी एकता प्रक्रियाको लामो व्याख्या गर्दै प्रचण्ड पार्टीभित्रका नराम्रा प्रवृत्ति हावी हुन थालेकोमा केन्द्रित थिए । 

उनको पछिल्लो भनाइबाट नेकपामा गुटउपगुटको प्रवृत्ति हावी हुन थालेको हो त ? भन्ने शङ्का उपशङ्का बढ्न थालेका छन् । 

दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकतापछि नेकपा आफैमा शक्तिशाली पार्टी बनेको छ । नेकपाको ९ सदस्यीय सचिवालय आफैमा शक्तिशाली देखिन्छ । 

आफैमा शक्तिशाली पार्टीलाई अब किन शक्तिशाली हेडक्वार्टर आवश्यक प¥यो ? तत्कालीन एमाले र माओवादी हुँदा दुई पार्टीभित्र विभिन्न खालका गुट–उपगुट थिए । जसले दुवै पार्टी प्रताडित थिए । तिनै गुट–उपगुट पनि एकीकृत पार्टीमा छन् । यस्तोमा अब पार्टीभित्रै रहेका गुटउपगुट प्रवृत्तिलाई निस्तेज पार्नुपर्ने चुनौती नेकपालाई देखिन्छ । 

नेताहरूको भनेजस्तै नेकपालाई बलियो हेडक्वार्टर किन आवश्यक प¥यो ? केही नेताहरूलाई सोधेका थियौँ ।  

नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल भन्छन्, ‘अब विगतमा जस्तै पार्टीभित्रका गुट–उपगुट नेकपामा हुनुहुँदैन । नेकपालाई गुट–उपगुट नभएको सशक्त र शक्तिशाली पार्टी बनाउन बलियो हेडक्वार्टर आवश्यक परेको हो । पार्टीभित्र नराम्रा प्रवृत्ति हावी हुन नदिन र पार्टी सन्तुलित ढङ्गबाट सञ्चालन गर्न बलियो हेक्वाटर चाहिन्छ । 

नेकपाका सांसदलाई ओली-प्रचण्डको लगाम !

त्यस्तै नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले नेकपालाई बलियो हेडक्वार्टर आवश्य छ भन्नुको अर्थ के ? भन्ने प्रश्नमा भनेका थिए, ‘पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, पार्टी केन्द्रलाई बलियो बनाएर त्यसको वरिपरि सिङ्गो पार्टी सङ्गठनलाई गोलबन्द गर्ने र परिचालन गर्ने भन्ने अर्थ हो । हेडक्वार्टर बलियो हुँदा जनवादी केन्द्रीयता ध्वस्त हुन्छ भन्ने बुझ्नु हँुदैन । अब व्यवहारमा कसरी प्रस्तुत हुने भन्नेमा भरपर्छ । त्यसैले हेडक्वाटर बलियो हुनुपर्छ र सिङ्गो पार्टीलाई सशक्त ढङ्गले अघि बढाउनुपर्छ । 

विद्यानमा सचिवालयको जिम्मेवारी 

नेकपाले ९ सदस्यीय सचिवालयलाई हेडक्वार्टर मानेको छ ।

कार्यदलले तयार पारेको विद्यानमा सचिवालयको काम, कर्तव्य र जिम्मेवारी तोकेको छ । 

विद्यानमा उल्लेखअनुसार सचिवालयले केन्द्रीय कार्यालय सञ्चालन गर्ने छ । 

साथै केन्द्रीय स्तरबाट तयार गरिनुपर्ने कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार पार्ने छ । 

त्यस्तै  केन्द्रीय कमिटी, पोलीटब्युरो र स्थायी कमिटीको वैठकका लागि कार्यसूचीसम्बन्धी प्रस्ताव तयार पार्नेछ । 

केन्द्रीय विभाग, मातहत कमिटी संसदीय दल, मोर्चा सङ्गठन, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन तयार गर्ने र केन्द्रीय कमिटी, पोलीटब्युरो तथा स्थायी कमिटीमा प्रस्तुत गर्नेछ । 

त्योसँगै सचिवालयले समसामयिक विषयमा पार्टी निर्णय सार्वजनिक गर्ने साथै केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीले तोकेका  अन्य कार्यहरू गर्ने उल्लेख छ ।

विधानमा सचिवालयमा अन्य पदाधिकारी रहने उल्लेख छैन । यद्यपि पार्टी घोषणा गर्नुपूर्व एकता संयोजन समितिले महासचिव चाहिने भन्दै नेकपाको महासचिव विष्णु पौडेललाई बनाएको थियो । 

साथै पार्टीको विधान र नियमावलीको मस्यौदा बनाउन महासचिव पौडेलको नेतृत्वमा कार्यदलल गठन भएको थियो । 

उक्त कार्यदलले अध्यक्षद्वयलाई बुझाएको मस्यौदामा महासचिवले अध्यक्षद्वयसँगको परामर्शमा पार्टी नीति, निर्णय र सङ्गठनसम्बन्धी सबै काम गर्न पाउने भएका छन् । 

तर ती सबै काममा अनिवार्य अध्यक्षद्वयसँग परामर्श गर्नैपर्ने बाध्यकारी व्यवस्था नेकपाको विधानमा उल्लेख छ । 

काँग्रेसको आशङ्का 

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेपछि काँग्रेसले देश अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै आएको छ । काँग्रेसले सत्तारुढ दलले विपक्षीको भूमिका निस्तेज पार्न थालेको पनि आरोप लगाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप