शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘डा देवकोटाको निधनबाट अपुरणीय क्षति’

मङ्गलबार, ०५ असार २०७५, ०९ : ५२
मङ्गलबार, ०५ असार २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । 

उनले ट्वीट गर्दै नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा देवकोटाले पुर्याएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने बताए । 

यस दुःखद् घडीमा दिवंगत डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा. देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

“स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुल्ला प्रतिस्पर्धामार्फत योग्यताका आधारमा विश्वका प्रसिद्ध न्युरो सर्जरी विश्वविद्यालयबाट हासिल गरेको ज्ञान र सीप नेपालमै प्रयोग गर्न उहाँले देखाएको प्रतिबद्धताका लागि उहाँप्रति राष्ट्र सधैँ ऋणी रहिरहनेछ ।” विज्ञप्तिमा भनिएको छ, “आफ्नो मातृभूमिप्रतिको यो अगाध प्रेम र समर्पण हामी सबैका लागि प्रेरणादायी भइरहनेछ । आफ्नो ज्ञान र सीपका माध्यमबाट हजारौँ मानिसहरुलाई जीवन दिने प्रा।डा। देवकोटा हाम्राबीचमा नरहे पनि उहाँको अद्वितीय योगदान सदा स्मरणीय भइरहनेछ ।” 

यता, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।
अध्यक्ष प्रचण्डले दिवंगत डा. देवकोटा चिकित्सा क्षेत्रका एक नक्षेत्र रहेको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यस्तै, नेपाली काँग्रेसले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनप्रति शोक व्यक्त गर्दै उनको निधनले काँग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ । 

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी हजारौँको जीवन बचाउन सफल डा देवकोटाको असामयिक निधनबाट राष्ट्रका लागि ठूलो क्षति पुगेको बताए । 

काँग्रेसले डा देवकोटाको निधनबाट चिकित्सा जगत्मा दक्षिण एशियाकै लागि अपुरणीय क्षति पुगेको छ, विज्ञप्तिमा भनिएको छ, “दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उहाँले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहिरहने छ ।” 

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पनि वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधनप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप