हामी ‘त्यो’ नियति भोग्दैनौँ : जर्मनीका प्रशिक्षक लो

एजेन्सी । जर्मनीका प्रशिक्षक जोआचिम लोले समर्थकहरुलाई जर्मनीलाई जसरी पनि विश्वकप २०१८ को नकआउटमा पुर्याएर छाड्ने वाचा गरेका छन् ।
आइतबार मेक्सिकोसँग अप्रत्यासित हार बेहोरेपछि साबिक विजेता जर्मनीका प्रशिक्षकले सो कुरा बताएका हुन् ।
लुझिन्कि स्टेडियममा भएको खेलमा हर्भिङ लोजानोको गोलको मद्दतले मेक्सिकोले जर्मनीमाथि ऐतिहासिक जित हासिल गरेको थियो ।
पछिल्ला चारमध्ये तीन डिफेन्डिङ च्याम्पियन समूह चरणबाटै बाहिरिएको रेकर्ड भए पनि यसमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको लोले बताए ।
‘अन्य देशहरुसँग किन यस्तो भयो मलाई थाहा छैन,’ उनले भने, ‘तर हामी त्यो नियति भोग्नेछैनौँ । हामी अर्को चरणमा पुगेर छाड्छौँ ।’
मेक्सिकोविरुद्धको खेलमा डिफेन्स कमजोर देखिए पनि ५२ वर्षीय प्रशिक्षकले टोलीमा त्यति धेरै परिवर्तन आवश्यक नरहेको पनि दाबी गरे ।
‘पहिलो हाफ हामीले निकै खराब खेल्यौँ । हामीले हाम्रो नियमित खेल खेल्न सकेनौँ,’ खेलपछिको पत्रकार सम्मेलनमा लोले भने ।
‘तर, हामी अब दिशाहीन भएर अघि बढ्दैनौँ । अत्तालिएर तित्तरबित्तर हुन आवश्यक छैन, एकै खेल हार्दैमा,’ उनले भने ।
तपाईको ईमेल गोप्य राखिनेछ