बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा यस्तो देखियो राष्ट्रियसभाका सदस्यहरुको ‘लक्की ड्र'

सोमबार, ०४ असार २०७५, १३ : २२
सोमबार, ०४ असार २०७५

काठमाडौं । राष्ट्रिय सभाका ५९ सांसदको कार्यकालका लागि आज गोलाप्रथा गरिएको छ। 

प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने भएपछि नयाँ संविधान पछिको पहिलो सदन भएकाले यसका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ ।

त्यहीँ अनुसार १९ सांसदको दुई वर्ष कार्यकाल हुनेछ । अरु २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न थालिएको छ । 

सचिवालयले आइतबार पत्रकार सम्मेलनमार्फत गोलाप्रथाको विधिबारे जानकारी गराएको थियो । 

सबै सांसदलाई विभिन्न पाँच समूहमा विभाजन गरी गोलाप्रथा गरिएको थियो। ५९ मध्ये १९ जनाको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकीको ६ वर्ष हुने गरी गोलाप्रथा गरिएको छ। 

अध्यक्ष, सत्तापक्षको नेता र विपक्षी दलको नेता पनि सहभागी हुनेछन् ।  हाल राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमल्सिना, सत्तापक्षको नेता रहेका दीनानाथ शर्मा र प्रमुख विपक्षी दलको नेता रहेका सुरेन्द्र पाण्डेमध्ये एकजनाको दुई वर्ष, अर्का एकजनाको चार वर्ष र बाँकी एकको ६ वर्ष पदावधि हुने निश्चित छ । उनीहरू तीनैजना प्रदेश नम्बर ४ बाट अन्य खुला समूहबाट निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनादेखि गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडासम्मको कार्यकालको टुंगो गोलाप्रथाबाट लागेको छ । 

अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २  वर्षमात्रै कायम भएको छ । –गोला तान्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यकाल ६ बर्ष परेको छ । 
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल पनि ६ वर्ष कायम हुने भएको छ ।  तिमल्सिना  प्रदेश ४ बाट राष्ट्रियसभा सदस्य चयन भएका थिए । यसैगरी राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल  ४ वर्ष कायम भएको छ  भने दीनानाथ शर्माको कार्यकाल पनि ४ वर्ष कायम भएको छ । 

संघीय संसद्को सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन सक्ने व्यवस्था संविधानमा उल्लेख छ । ६ महिनाभित्र संघीय संसद्को सदस्य नभए मन्त्री पद खारेज हुनेछ भने सदस्य भए मन्त्री पद कायम रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप