बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिफोन सेवा अवरुद्ध हँुदा सास्ती भोग्दै रोल्पाली

सोमबार, ०४ असार २०७५, १० : ३१
सोमबार, ०४ असार २०७५

रोल्पा -रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ । 

पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि आएको समस्याका कारण पूर्वी रोल्पाका बासिन्दा सास्ती भोग्दै आएका छन् । सो टावरमा आएको समस्यासँगै पूर्वी रोल्पाका तीन वटा गाउँपालिका प्रभावित भएका छन् । सुनछहरी गाउँपालिकाको गाम, सिउरी र सेरममा पूरै सेवा अवरुद्ध छ भने अन्य वडा पनि आंशिक रुपमा प्रभावित भएका छन् । केही दिन अघि परेको चट्याङका कारण सिष्टम जलेपछि सेवा अवरुद्ध भएको टेलिकम रोल्पाले जनाएको छ । 

समस्या देखिएका टेलिफोन टावर मर्मतका लागि आफूहरुले अञ्चल कार्यालय तुल्सीपुरलाई जानकारी गराएको नेपाल टेलिकम रोल्पाका प्राविधिक प्रतापकुमार महतोले जानकारी दिनुभयो । टावरमा ठूलो समस्या देखिएका कारण जिल्लाको जनशक्तिले नभ्याउने भएकाले अञ्चल कार्यालयमा जानकारी गराएका छाँै केही दिनमै सेवा सुचारु हुन सक्छ महतोले भन्नुभयो । 

सेवा अवरुद्ध हुँदा स्थानीय अत्यावश्यक सेवाका लागिसमेत घण्टाँै हिँडेर फोन गर्न बाध्य भएको स्थानीय शिक्षक देवसिंह ठकुरीले बताउनुभयो । 
उता पश्चिम रोल्पाको रातामाटा रिपिटर टावरमा आएको खराबीका कारण चार दिनदेखि अवरुद्ध टेलिफोन सेवा अझै सुचारु नहँुदा यहाँका स्थानीय मर्कामा परेका छन् । 

टेलिफोन सेवा अवरुद्ध हुँदा पश्चिम रोल्पाका आधा दर्जन बढी गाउँपालिका र रुकुम पूर्वका केही गाउँपालिका समेत टेलिफोन सेवा विहीन हुन पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप