शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप प्रिभ्यु : १२ वर्षपछि विश्वकपमा फर्किएको स्वीडेनबिरुद्ध दक्षिण कोरिया

सोमबार, ०४ असार २०७५, ०९ : ४१
सोमबार, ०४ असार २०७५

समय – ५ः४५ 

स्थान – निज्नी नाभागोरोड रंगशाला 

सन् २००६ पछि स्वीडेनले पहिलो पटक विश्वकप खेल्दैछ । टोलीमा यसपटक अनुभवी खेलाडी ज्लाटन इब्राहिमोविच छैनन् । सन् २०१६ को युरोकपपछि इब्राभोमिचले अन्तर्राष्ट्रिय सन्यास घोषणा गर्दा स्वीडेन कमजोर हुने अनुमान लगाइएको थियो । तर त्यस्तो भएन ।  

स्वीडेनले विश्वकप यात्रा गर्दा विश्वका दुई शक्तिशाली राष्ट्रको सपना चकनाचुर पारिदिएको थियो । युरोपेली छनोटअन्तर्गत आफ्नो समूहमा स्वीडेनभन्दा पछाडि परेपछि नेदरल्यान्डस् प्लेअफमा छनोट हुन सकेन र विश्वकप खेल्न वञ्चित भयो । प्लेअफमा स्वीडेनले चार पटकको विश्वकप विजेता इटलीलाई हरायो । छनोटका क्रममा फ्रान्स पनि समूह चरणमा स्वीडेनसँग पराजित भएको थियो । 

अन्तर्राष्ट्रिय फुटबलमा स्वीडेन र दक्षिण कोरियाको नियती उस्तै छ । घरेलु मैदानमा उत्कृष्ट खेलेर गर्विलो इतिहास रचेका यी दुवै टोलीले घरबाहिर प्रतिष्ठा कायम राख्न सकेका छैनन् । 

सन् १९५८ मा घरेलु मैदानमा भएको विश्वकपमा स्वीडेन फाइनल पुगेको थियो । यो टोली ब्राजिलसँग पराजित भयो । त्यस्तै, सन् १९९४ को विश्वकपमा स्वीडेन तेस्रो भएको थियो । 

दक्षिण कोरियाले घरमै भएको सन् २००२ को विश्वकपमा सेमिफाइनलमा स्थान बनाएको थियो । तर त्यस्तो सफलता दोहो¥याउन सकेको छैन । दक्षिण कोरियाले सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा अन्तिम १६ को यात्रा गरेको थियो । घरबाहिर उसको उत्कृष्ट प्रदर्शन यही नै हो । 

ब्राजिलमा आयोजना भएको २०१४ विश्वकपमा दक्षिण कोरिया पहिलो चरणबाटै बाहिरियो । त्यो पनि कुनै खेलमा जित हात पार्न नसकी ।  रुष्ट बनेका समर्थकहरुले इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका खेलाडीहरुलाई चकलेटले हिर्काएका थिए । 

यसपटक समूह एफमा यी दुई टोलीसँगै मेक्सिको र डिफेन्डिङ च्याम्पियन जर्मनी छन् । त्यसैले पनि दुवै टोलीका लागि सुरुवाती खेल महत्वपूर्ण छ । मेक्सिकोले सुरुवाती खेलमा जर्मनीलाई हराएर आफ्नो यात्रा लम्बिने संकेत गरिसकेको छ । सुरुवाती खेल हारेको जर्मनी बाँकी खेलमा यी दुपै राष्ट्रमाथि  जीत हासिल गर्ने दबाबमा छ । यस्तो जोखिमपूर्ण परिस्थितीबीच यी दुवै टोलीका लागि पहिलो खेल जित्नैपर्ने दबाब छ । 

स्वीडेनका प्रमुख खेलाडी स्ट्राइकर मार्कस वर्ग हुन् । प्रशिक्षक जान्ने एन्डरसनको प्रशिक्षणमा रहेको टोलीमा डिफेन्डर तथा कप्तान आन्द्रेस गान्कफिस्ट र आक्रामक मिडफिल्डर इमिल फोर्सवर्ग पनि महत्वपूर्ण साबित हुने अनुमान गरिएको छ । यसको अर्थ स्वीडेन यी खेलाडीमा निर्भर छ भन्ने होइन । टोलीका सबै खेलाडीले सन्तुलित प्रदर्शन गरेका छन् ।  

दक्षिण कोरिया भने फरक छ । टोट्टेनह्यामबाट खेल्ने फरवार्ड सन हिउन्ग मिनप्रति टोली अत्याधिक निर्भर छ ।  उनले गत सिजन सबै प्रतियोगितामा गरेर १८ गोल गरेका थिए । २५ वर्षका यी स्टारले राष्ट्रिय टोलीबाट ६७ खेलबाट २१ गोल गरिसकेका छन् । 

पछिल्ला वर्ष खराब खेलिरहेको राष्ट्रिय टोलीको खेलभन्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछिको घटनाक्रममा जनतालाई धेरै चासो छ । 

हिउन्ग मिनपछि दक्षिण कोरियाको टोलीमा चर्चामा रहेका अर्का खेलाडी किम सिन वुक हुन् । ६ फुट ६ इन्च अग्ला यी खेलाडी एयर बल खेल्न माहिर छन् । स्वीडेन र उत्तर कोरियाबीचको खेल मस्कोबाट पूर्वमा रहेको निज्नी नाभ्गोरोडमा हुँदैछ । भोल्गा र ओका नदीको संगमस्थल रहेको यहीं शहरमा चर्चित लेखक म्याक्सिम गोर्की जन्मिएका थिए । यो त्यस्तो शहर हो । जहाँ सोभियतकालमा सैनिक अनुसन्धान तथा उत्पादनगृह थियो । त्यसैले वर्षौसम्म विदेशीहरुलाई घुम्न प्रतिबन्ध थियो । 

प्रभाव पार्ने खेलाडी 
कि सुङ युङ स्वान्सी सिटीका यी सेन्ट्रल मिडफिल्डर दक्षिण कोरियाका कप्तान हुन् । उनले केही समय ऋणमा सन्डरल्यान्डबाट पनि खेलेका थिए । प्रिमियर लिगमा खासै चल्न नसकेपनि उनले दक्षिण कोरियाबाट १ सय २ खेल खेल्दै १० गोल गरेका छन् । सन् २०१० को विश्वकपमा दक्षिण कोरियालाई अन्तिम १६ मा पु¥याउने क्रममा उनको प्रदर्शन महत्वपूर्ण थियो । समुह चरणमा उनले ग्रिस र नाइजेरिया विरुद्धको खेलमा १-१ गोलका लागि एसिस्ट गरेका थिए । २०१० को लण्डन ओलम्पिकमा दक्षिण कोरियाले कास्य पदक जित्दा उनको प्रदर्शन महत्वपूर्ण थियो । 

२०१४ को विश्वकप दक्षिण कोरियाका लागि बिर्सन लायक रह्यो । एक खेल पनि नजिती टोली समुह चरणबाटै बाहिरियो । ठूला खेलमा सफलता र असफलता भोग्दाको राम्रो अनुभव युङसँग छ । उनले स्वीडेन विरुद्धको खेलमा आफ्नो टोली हाबी हुने दाबी गरेका छन् । ‘मलाई लाग्छ ठूला प्रतियोगिताको अनुभवलाई आधार मान्ने हो भने हामी स्वीडेनभन्दा माथि छौं । मलाई थाहा छैन स्वीडेनका कति खेलाडीले यसअघि विश्वकप खेलेका छन् । तर, हाम्रा धेरै खेलाडीसँग त्यस्तो अनुभव छ । त्यसलाई हामी मैदानमा उतार्नेछौं,’ खेल सुरु हुनअघि पत्रकार सम्मेलनमा युङले भनेका छन् ।  

केही तथ्य 
–  गत नोभेम्बरमा प्लेअफमा इटलीलाई हराएपछि स्वीडेनले कुनै पनि खेल जित्न सकेको छैन । पछिल्ला तीन वार्म अप म्याचमा स्वीडेनले कुनै गोल समेत गर्न सकेन । 

–    दक्षिण कोरियाले पनि पछिल्लो एक महिना राम्रो खेल्न सकेको छैन । सेनेगल र बोस्निया एन्ड हर्जिगोभिना विरुद्धको मैत्रिपूर्ण खेलमा कोरिया पराजित भएको थियो । 

–    यी दुई टोलीबीचका अहिलेसम्म चार भिडन्तमा स्वीडेनले दुई खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको छ । विश्वकपमा दुई टोली पहिलोपटक आमने–सामने हुन लागेका हुन् । 

–     स्वीडेनले विश्वकपको पहिलो खेल स्वीडेनलाई फाप्दैन । पछिल्ला ७ खेलमध्ये स्वीडेनले ५ खेल बराबरी खेलेको छ भने २ खेल बराबरी खेलेको छ । यता, कोरियालाई सुरुवाती खेल फाप्ने गरेको छ । पछिल्ला चार खेलमध्ये उसले ३ खेल जितेको छ भने १ खेल बराबर गरेको छ । 

–    विश्वकपमा खेलेका पछिल्ला ९ खेलमध्ये दक्षिण कोरियाले १ खेलमा मात्रै जित निकालेको छ । ३ खेल बराबर भएको छ भने ५ खेलमा पराजित भएको छ । पछिल्लो पटक दक्षिण कोरियाले सन् २०१० को विश्वकपमा ग्रिस विरुद्ध २–० को जित निकालेको थियो । 

–    दक्षिण कोरियाले विश्वकपमा गरेका पछिल्ला ८ गोलमध्ये ५ गोल डिबक्स बाहिरबाट भएका छन् । त्यस्तै, पछिल्ला १३ गोलमध्ये १२ गोल हाफटाइमपछि मात्रै भएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप