शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी बलात्कारका अभियुक्तद्वारा अदालतभित्रै श्रीमतीको घाँटी रेटी हत्या, पुलिससमेत हैरान

सोमबार, ०४ असार २०७५, ०८ : २८
सोमबार, ०४ असार २०७५

दिलीप कुमार शर्मा /बीबीसी

असमको डिब्रूगढ जिल्लाको अदालत परिसरमा थुप्रै मानिसहरुको उपस्थितीमा एक व्यक्तिले आफ्नी श्रीमतीको घाँटी रेटी हत्या गरेका छन् ।

घटना शुक्रबार बिहान करिब १० बजेर ४० मिनेटको हो जब जिल्ला अदालतमा एक मुद्दाको सुनुवाइका लागि मानिसहरुको बाक्लै उपस्थिती थियो ।

अदालतजस्तो सुरक्षित स्थानमा एक व्यक्ति चक्कु लिएर पुग्नु र श्रीमतीको गला रेटी हत्या गरेको यो घटनाले पुलिस आफै पनि हैरानीमा परेको छ ।

पुलिसका अनुसार अभियुक्त ३५ वर्षीय पूर्ण नाहर डेका डिब्रूगढ जिल्लाका नाहरकटियाको लोंगबोंग अली सिंगा गाउँका बासिन्दा हुन् ।

जमानतमा छुटेका थिएः

डिब्रूगढ थानाको प्रभारी सिद्धेश्वर बोराले घटनाको जानकारी दिँदै बीबीसीलाई भने, ‘श्रीमान्–श्रीमतीबीच पहिलेदेखि नै विवाद थियो । वास्तवमा अभियुक्त पूर्ण नाहर डेकामाथि उनकी श्रीमती रिताले नाबालिग छोरीमाथि बलात्कारको मुद्दा केही महिनाअघि दर्ता गरेकी थिइन् ।’

‘उक्त मामलामा अभियुक्त पछिल्लो ९ महिनादेखि जेलमा कैद थिए । उनी हालै जमानतमा छुटेका थिए । जब उनी जेलमा थिए तब उनलाई श्रीमतीले एक पटक पनि भेट्न गइनन् । गत जून ६ तारिखमा जब अभियुक्त जेलबाट बाहिरिए तब गाउँलेको डरले उनी घर गएनन् र डिब्रूगढमा नै काम गरिरहेका थिए ।’

‘घटना हुनु तीन दिन अघि उनले श्रीमतीसँग फोनमा कुरा गरेका थिए । उनले फोनमा श्रीमतीलाई आफ्नो गल्ती महसुस भएको र अब कुनै दुष्कर्म नगर्ने बचन दिए । त्यसकारण श्रीमतीले बलात्कारको सजायँबाट जोगाउनका लागि अदालतमा अर्को बयान दिनुपर्ने उनले माग राखे । जून १५ तारिखमा उक्त मामलाको सुनुवाई थियो ।’

खल्तीबाट चक्कु निकालेर घाँटी रेटिदिएः

सिद्धेश्वर बोरा भन्छन्, ‘शुक्रबार सुनुवाई भएकाले उनकी श्रीमती पनि अदालत आएकी थिइन् । त्यतिबेला डेकाका दाइ र भाउजु पनि अदालत पुगेका थिए । बलात्कार साक्षी भाउजु नै थिइन् । उनीहरुलाई देखेर डेका थोरै रिसाएका थिए । उनीहरु अदालतबाहिर बसिरहेका थिए ।’

‘यसैबीच डेकको आफ्नी श्रीमतीसँग कुनै कुरामा झगडा भएपछि उनले अचानक खल्तीबाट चक्कू निकालेर श्रीमतीको गला रेटिदिए । रगतले लत्पत्तिएकी पिडित महिला भुइँमा ढलिन् । जब उनी त्यहाँबाट भाग्न लागे तब सुरक्षाकर्मीलगायतका अन्य मानिसहरुले पक्राउ गरे ।’

‘घाइते महिलालाई तत्काल असम मेडिकल कलेज र अस्पताल पुर्याइयो तर डाक्टरले उनलाई मृत घोषित गरे ।’

पुलिस के भन्छ ?

यसैबीच शनिबार पुलिसले अभियुक्तलाई अदालतमा हाजिर गरेका थिए, त्यहाँबाट उनलाई जेल पठाइएको थियो । यो घटनाले अदालतजस्तो सुरक्षित स्थानलाई प्रश्नको घेरामा ल्याइदिएको छ ।

पुलिस अधिकारी बोरा भन्छन्, ‘अदालत परिसरमा यस्तो घटना गराउनु त्यति सजिलो छैन । अदालतमा पुलिसको निगरानी हुन्छ तर यो घटना यति अचानक भयो कि प्रतिक्रिया गर्नका लागि कुनै समय नै भएन । घटनाको अनुसन्धानबाट थाहा हुन्छ कि अभियुक्तले श्रीमतीको हत्या योजना बुनेर आएका थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप