बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सडकबाट उदाएका नेयमार, जसको प्रतिभा देखेर छुट्टै टोली खडा भयो

आइतबार, ०३ असार २०७५, २१ : १५
आइतबार, ०३ असार २०७५


काठमाडौँ । साओ पावलो राज्यको मोगी दा क्रुसेज नगरपालिकाका साँघुरा सडक यतिबेला निलो र पहेँलो रंगको झन्डाले सिंगारिएका छन् । गल्ली छिचोल्दै जाँदा भेटिने स्थानीय सर्वसाधारणहरुले आफ्नो शरीरमा लगाएको १० नम्बरको जर्सीमा ब्राजिलका स्टार नेयमारको नाम अंकित छ । 

कतिपय त्यस्ता बालक तथा किशोरहरु पनि सडकमा भेटिन्छन् । जसले कट्टुमात्रै लगाएका हुन्छन् । अनि, मध्य गर्मीमा अर्धनग्न भएर सडकमा फुटबल खेलाइरहेका हुन्छन् । बुझ्न गाह्रो छैन, यी बालक कमजोर आर्थिक परिवारका हुन् । ब्राजिलको कूल जनसंख्याको २५ प्रतिशत अर्थात झन्डै ५ करोड नागरिक गरिबीको रेखामुनि छन् । 

फुटबलमा भने फरक छ, ब्राजिललाई यस खेलको बादशाह पनि भनिन्छ । किनकी उसले सर्वाधिक ५ पटक विश्वकप जितेको छ । गरिबी र आर्थिक अभावसँग जुध्दैं सडकमा फुटबल खेलेर आफ्नो यात्रा थालेका गारिन्चा, पेले, रोमारियो, रोनाल्डो, रिभाल्डो र रोनाल्डिन्होजस्ता खेलाडीकै बलमा ब्राजिलले यस्तो सफलता चाखेको हो । 

उनीहरुले सडकबाट सुरु भएको आफ्नो प्रशिद्धीलाई संसारभर फैलाए । यी खेलाडीहरु सडकमा फुटबल खेल्नेका आर्दश हुन् । ‘ हरेक बिहान उनीहरुजस्तै बन्ने चाहना बोकेर म उठेको हुन्थे । मलाई स्कुल पनि जानुपर्ने थियो र स्कूलबाट घर आउन साथ त्यही सडकमा फर्कन्थेँ । अनि रात नपरुन्जेसम्म खेल्थे,’ क्रुसेजका सडकमा फुटबल खेल्दाको सम्झना नेयमारले सुनाए, ‘बाल्यकाल मलाई निकै सुखद लाग्छ । त्यतिबेला मेरो धेरै मिल्ने साथीहरु थिए । सडकमा हामी फास्ट थियौं । ब्राजिली स्मार्टनेसको संकेत भेटिन्थ्यो ।’ नेयमार सानो छँदा फुटसलका प्रतिस्पर्धाहरुमा पनि भाग लिन्थे र उपाधि जित्थे । 

सन् २००३
नेयमार १२ वर्षको छदाँ उनको परिवार साओ भिसेन्टी स¥यो । त्यहाँ उनले पोर्चुग्वेसा सान्टिस्टा नामक स्थानीय क्लबको युवा टोलीबाट खेले । त्यसपछि अर्को वर्ष सान्तोषले उनलाई आफ्नो युवा टोलीमा भित्र्यायो । तत्कालिन प्रशिक्षक लिमा उनको सुरुकै खेल देखेर प्रभावित भएका थिए । 

‘जब मैलें नेयमारलाई चिने त्यतिबेला उनी १३ वर्षका थिए र फुटसल खेल्दै थिए । उनको खेल देखेर म निकै प्रभावित भएँ,’ लिमाले भने,‘ तर उनलाई क्लबमा ल्याउन समस्या थियो किनकी सन्तोषसँग १४ वर्षमुनिको उमेर समुहका लागि कुनै टोली नै थिएन । त्यतिबेला जिटो सन्तोष क्लबको युवा टोलीका निर्देशक थिए । मैले उनीसँग कुरा गरेँ ।’

नेयमारप्रति लिमाको विश्वास र भरोसा देखेपछि जिटोले १४ वर्षमुनिको उमेर समूहको टोली बनाउन प्र्रस्ताव राखे । यसरी नेयमारकै लागि नयाँ टोली बन्यो ।  अनि, उनी सान्तोष आए । १४ वर्षको छँदा उनी रियल म्याड्रिडको युवा टोलीमा ट्रायल दिन स्पेन पनि गएका थिए । त्यहाँ, छोटो समय अभ्यास गरेर स्वदेश फर्किए । 

१५ वर्षको छँदा नेयमार सान्तोषको युवा टोलीका स्टार भइसकेका थिए । उनले प्रतिमहिना १० हजार ब्राजिली रियल (अहिलेको बजार भाउ अनुसार २६८० अमेरिकी डलर÷२ लाख ९१ हजार नेपाली रुपैयाँ) आम्दानी गर्थे । त्यही पैसाले भाडाको घरमा बस्दै आएको नेयमारको परिवारले भिल्ला बेलमिरो नजिकै घर किन्यो । 

अर्को वर्ष नेयमारको तलब साढे १२ गुणा बढ्यो । उनले प्रतिमहिना १ लाख २५ हजार रियल कमाउन थाले ।

सन् २००९

१७ वर्षका नेयमारले सान्तोषबाट डेब्यु गरे । यस सिजन उनले ४८ खेल खेल्दै १४ गोल गरेका थिए । यही वर्ष यु–१७ विश्वकपमा जापान विरुद्ध नेयमारले गरेको उत्कृष्ट गोलपछि पेलेसँग उनको तुलना हुन थाल्यो । पेले, रोमारियो लगायतका हस्तीहरुले सन् २०१० को विश्वकपमा नेयमारलाई पनि खेलाउनुपर्ने तर्क गरे । तर, तत्कालीन ब्राजिली प्रशिक्षक डुंगाले नेयमारसँग ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव नभएको भन्दै उनलाई टोली बाहिरै राखे । १४ हजारभन्दा बढीले नेयमारको पक्षमा हस्ताक्षर संकलन गरेर ब्राजिली फुटबल संघलाई बुझाएका थिए । विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि प्रशिक्षक डुंगाको आलोचना गर्दै समर्थकहरुले नेयमारलाई टोलीमा नराख्नु सबैभन्दा ठूलो गल्ती रहेको प्रतिक्रिया दिए । 

विश्वकपपछि डुंगा बर्खास्त भए । नयाँ प्रशिक्षक मानो मेनिसेजले मैत्रिपूर्ण खेलमा नेयमारलाई अवसर दिए । अमेरिका विरुद्धको डेब्यु मैत्रिपूर्ण खेलको २८ औँ मिनेटमै उनले गोल गरे ।  

यही वर्ष उनलाई इंग्लिस क्लब चेल्सी र वेस्टह्यामले भित्र्याउन चाहेका थिए । तर, सान्तोषमै बसेर नेयमारले ६० खेलमा ४२ गोल गरे । दक्षिण अमेरिकी वर्ष खेलाडीका मनोनयनमा पर्दै तेस्रो स्थान हात पारे । 

कोपा लिबर्टाडोस च्याम्पियन 
सन् २०११ मा ब्राजिलियन क्लबले दक्षिण अमेरिकाको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता कोपा लिडर्टाडोस जित्दा नेयमार प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । यस खेलको कप्तानी सान्तोषका पूर्व लिजेन्ड इलानोले गरेका थिए । म्यानचेस्टर सिटी र गालातासारेबाट विश्वका ठूला प्रतियोगितामा प्रतिनिधित्व गरेका इलानोले सन् २०१० मा विश्वकप समेत खेलेका थिए । 

‘एकेडेमीबाट आएको छोटो समयमै नेयमार टोलीको मुख्य खेलाडी भइसकेको थियो । खेलको नयाँ स्तर पकड्न उसलाई समस्या थिएन किनकी उसँग भयंकर प्रतिभा थियो,’ इलानोले भने, ‘मैले देखेका  विश्वस्तरीय खेलाडीसँग जस्तो परिपक्वता थियो । १८ वर्षका नेयमारमा पनि त्यस्तै विशेषता र खुबी थियो । हरेक खेललाई गम्भिर रुपमा लिएर कडा परिश्रम गर्ने स्वभावका कारण दिनदिनै उसमा सुधार आइरहेको थियो । उनीसँग खेल्न पाउँदा मलाई निकै खुसी लाग्थ्योें ।’

सान्तोषलाई क्लब विश्वकपको फाइनल पु¥याउने क्रममा यी दुबै खेलाडीको प्रदर्शन महत्वपूर्ण थियो । सेमिफाइनलमा आयोजक जापानको कासिया रियोसल क्लबविरुद्ध नेयमारले गरेको उत्कृष्ट गोलको चर्चा अझै हुनेगर्छ । उनले ६ खेलाडीलाई जिल खुवाउँदै डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारले जाली चुमेको थियो । यस प्रतियोगिताको फाइनलमा मेस्सीको बार्सिलोनासँग सान्तोष ४–० ले पराजित भयो । तर, नेयमारको चौतर्फी प्रशंसा भयो ।  फिफा वर्ष खेलाडीको मनोनयनमा नेयमार अन्तिम २३ भित्र परे । कासिया रियोसल विरुद्ध गरेको गोलले वर्षको सर्वोत्कृष्ट गोलको अवार्ड जित्यो । 

यतिबेला सान्तोषलाई प्रशिक्षण दिएका मुरिकी रामाल्हो नेयमारको तारिफ गर्न चुक्दैंनन् । ‘१५–१६ वर्षको हुँदा उनी उत्कृष्ट भइसकेका थिए । २०११ को लिवर्टाडोरस कपमा उनीसँग केही कुराको कमी थियो भने त्यो अनुभव मात्रै हो । तर, त्यसले कुनै प्रभाव राखेन र उनी मैदानमा सहज देखिए,’ रामाल्होले भने, ‘उनले आफ्नै शैलीको खेल खेलेर उपाधि जिताए । हाम्रो टोलीमा अन्य खेलाडीहरु पनि महत्वपूर्ण थिए । तर नेयमारले त्यतिबेलै आफु विश्वको उत्कृष्ट खेलाडी बन्न लायक छु भन्ने प्रमाणित गरिसकेका थिए ।’

नेयमारलाई धेरैले घमण्डी भन्छन् । तर रामाल्हो यस्तो आरोप स्विकार्न तयार छैनन् । ‘जतिबेला नेयमारले जन्मदिन मनाउँथे । त्यतिबेला छिमेकका बच्चाबच्ची उनका पहिलो पाहुना हुन्थे । सान्तोष क्लबका सबैलाई बोलाइएको हुन्थ्यो । क्लबका अध्यक्षदेखि माली र किचेनका स्टाफसम्मलाई बोलाएर पार्टी गर्थे । उनी आफ्नो धरातल बिर्सने खेलाडी होइनन् ।’ 

उस्तै अनुभव इलानोको पनि छ । ‘कहिलेकाहीँ म उनलाई घर बोलाउथ्यें । घमण्डी होइन । उनी लजालु स्वमावका थिए । मेरो घर वरपरका ५० देखि १ सय बालबालिका उनको अटोग्राफ लिन झुम्मिन्थें । नेयमारले सबैलाई उत्तिकै समय र सम्मान दिन्थे,’ इलानोले भने । 

बार्सिलोनाबाट खेल्ने ब्राजिली स्टार काउटिन्हो पनि नेयमारलाई साधारण व्यक्ति भन्न रुचाउँछन् । ‘उनी आजको दिनमा ब्राजिलका सबैभन्दा ठूला आइडल हुन् । हामी एकअर्कालाई वर्षौदेखि चिन्छौँ । राष्ट्रिय टिमबाट उनले जे जस्तो खेलेका छन्, त्यो आफैंमा अचम्म लाग्दो छ,’ काउटिन्होले भने । 

सन् २०१३ मा सान्तोष छाडेर बार्सिलोनामा आबद्ध भएका नेयमारले क्याटालोनियामा चार वर्ष बिताउने क्रममा च्याम्पियन्स लिग र क्लब विश्वकपसहित क्लब फुटबलका सबै ठूला प्रतियोगिता जितिसकेका छन् । उनी अहिले फ्रान्सेली क्लब अहिले पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्छन् । आफ्नो कप्तानीमा ब्राजिललाई ओलम्पिक फुटबलमा पहिलो स्वर्ण जिताएका नेयमारले विश्वकप जित्न बाँकी नै छ । 

राष्ट्रिय टोलीबाट ८५ खेल खेल्दै ५५ गोल गरेका नेयमारले विश्वकप ट्रफी उचाल्ने सौभाग्य पाउँलान् ? नेयमारको परीक्षा आज हुने स्वीटजरल्यान्ड विरुद्धको खेलबाटै शुरु हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप