शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयता असफल भए मुलुक असफलः मुख्यमन्त्री राउत

आइतबार, ०३ असार २०७५, २० : ११
आइतबार, ०३ असार २०७५

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल सरकारले हालै सार्वजनिक गरेको बजेट संघीयता कार्यान्वयनप्रति उदासीन रहेको आरोप लगाएका छन् । 

एभिन्युज टेलिभिजनले आज वीरगन्जमा आयोजना गरेको ‘संघीय बजेट’ विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट संघलाई बलियो बनाउने हुनुपर्नेमा बजेटले उल्टै संघलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । 

उनले आव २०७५÷०७६ को बजेटमा कुनै प्रदेशलाई बढी र कुनै प्रदेशलाई थोरै रकम विनियोजित गरीे प्रदेशप्रदेश बीच विवाद हुने अवस्था सिर्जना गरेको दाबी गरे । उनले संघीयतालाई सफल बनाउनु सबैको दायित्व भएको र संघीयता असफल भए मुलुक नै असफल हुने भएकाले संघलाई बलियो बनाउँदै राष्ट्रलाई विकसित र समृद्ध बनाउनेतर्फ केन्द्र सरकारले आफ्ना क्रियाकलाप केन्द्रित गर्नुपर्ने बताए । 

चौवन्न लाखभन्दा बढी जनसंख्या रहेको प्रदेश नं २ मानव सूचकाङ्कमा अन्य प्रदेशको तुलनामा अन्तिम दुईमा रहेकाले केन्द्र सरकारले बजेट विनियोजित गर्दा २ नं प्रदेशमा पूर्वाधार विकासका लागि बढी बजेट दिनुपर्ने उनको भनाई थियो । उनले पछि परेका प्रदेशलाई थोरै र अघि रहेका प्रदेशलाई धेरै बजेट विनियोजित गर्नु गलत रहेको टिप्पणी गरे ।  

मुख्यमन्त्री राउतले प्रदेश नं २ समृद्ध र विकसित नभए देश नै विकसित हुन नसक्ने दाबी गर्दै यस प्रदेशको पूर्वाधार विकासप्रति गम्भीर हुन केन्द्र सरकारलाई आग्रह गरे । 

अन्तरक्रियामा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योगी जगदीश अग्रवाल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहासचिव नजामुद्दीन समानी, राजपाकी नेत्री रम्भा झा तथा उद्योगी, व्यापारीले बजेटका विभिन्न पक्षमाथि चर्चा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप