बैङ्गलोरमा नर्सिङका विद्यार्थीको बिजोग : पढाइ बैङ्गलोरमा, प्रयोगशाला चाहिँ नेपालमा

person access_timeJuly 13, 2017, 1:08 p.m. chat_bubble_outline0
SHARES
Click to Load Image

बैङ्गलोर– कक्षा १२ को परीक्षा सकिनेबित्तिकै बाग बजार, पुतलीसडक र बानेश्वर क्षेत्रमा १७, १८ वर्षका नानीहरूको लर्को सुरु हुन्छ । कारण हो, बीएस्सी नर्सिङका लागि ब्रिजकोर्स । प्लस टुको परीक्षा सकिनेबित्तिकै सुरु हुने यस्ता ब्रिजकोर्स नतिजा आएको पहिलो हप्तासम्म जारी रहन्छ । ब्रिजकोर्स गरेर बीएस्सी नर्सिङको प्रवेश परीक्षामा सफलता हासिल गर्ने उनीहरूको प्रमुख उद्देश्य हो । यही उद्देश्यले धेरै नेपाली विद्यार्थी यिनी ब्रिजकोर्स सेन्टरमा धाइरहेका हुनछन् । 

जब नतिजा प्रकाशन हुन्छ, तब सुरु हुन्छ ब्रिजकोर्स सेन्टरको खास धन्दा । यी सेन्टर वास्तवमै ब्रिजकोर्स मात्रै भन्दा पनि नेपाली विद्यार्थीलाई बैङ्लोरमा बेचेर पैसा कमाउनका लागि बढी लालायित हुन्छन् ।

सुरुमा यिनै ब्रिजकोर्स सेन्टरले विद्यार्थीहरूलाई बैङ्गलोरमा धेरै राम्रो पढाइ हुन्छ भन्दै काउन्सिलिङ सुरु गर्छन् । ब्रिजकोर्सकै बीचमा नेपालका कन्सल्टेन्सीका सञ्चालक र कतिपय इन्स्टिच्युटमा त बैङ्गलोरबाटै आएका कलेजका एजेन्ट छिराएर बैङ्गलोरबारे मीठा सपना देखाइन्छन् । 

बैङ्गलोरको बीएस्सी विश्वमै उत्कृष्ठ भन्दै भ्रम छर्ने दिनको सुरुवात हुन्छ  र गुरुहरूमा धेरै मान्ने र विश्वास गर्ने हाम्रो समाजमा ‘गुरु’बाटै सुरु हुन्छ ‘दलाली धन्दा’ । सुरु हुन्छ मोलमोलाई अनि अगाडि बढ्छ बैङ्गलोर जाने प्रक्रिया । भविष्यको सपनासहित नानीहरू नयाँ बाटोको खोजीमा हुन्छन् । यहीँ मौका कुरेर बसेका हुन्छन्, कन्सल्टेन्सी सञ्चालक । 

अहिले बागबजार, पुतलीसडक र बानेश्वरक्षेत्रका धेरै कन्सल्टेन्सीले आफ्नै अस्पताल भएको र धेरै बिरामी आउने अस्पताल भएको कलेज भन्दै प्रचार गरेर नेपाली विद्यार्थीलाई भारतमा निर्यातको व्यापार गरिरहेका छन् । तर, भारतमा बीएस्सी नर्सिङ पढाउने अधिकांश कलेजसँग आफ्नो अस्पताल नै छैन ।

अस्पताल भएका कलेजका विद्यार्थीले पनि ‘प्राक्टिकल’ गर्न पाउने सम्भावना नै छैनभन्दा हुन्छ । किनभने, पहिलो कुरा बिरामीभन्दा बढी त विद्यार्थी नै हुन्छन् भने दोस्रो कुरा विद्यार्थीले बिरामीको उपचारमा प्रत्यक्ष संलग्नता जनाउनै पाउँदैनन् ।


‘प्राक्टिकल’ नै नभई पढाइएको बीएस्सी नर्सिङ कस्तो होला ? यही हो मूल प्रश्न । 

बैङ्गलोरमा बीएस्सी नर्सिङ : सुनौलो सपना, दर्दनाक यथार्थ

यसरी ठगी गर्छन्, नेपालका कन्सल्टेन्सी


अहिले काठमाडौँबाट भारतको बैङ्गलोरमा विद्यार्थी पठाउने कन्सल्टेन्सीको सङ्ख्या १ सय ५० भन्दा बढी भएको अनुमान गरिएको छ । यी कन्सल्टेन्सीले ब्रिजकोर्स पढाउनेदेखि ब्रिजकोर्स सेन्टरसँग सम्पर्क गरी नेपाली विद्यार्थीलाई बैङ्गलोरमा निर्यात गरिरहेका हुन्छन् । अब विद्यार्थीसँग कसरी झुठ हुन्छ, यसको पर्दा खोलौँ । 

झुठ नम्बर १– कक्षामा अधिकतम ४० विद्यार्थी

बानेश्वरको बहुचर्चित कन्सल्टेन्सीले काठमाडौँका संजय (नाम परिवर्तन, विद्यार्थीलाई कलेजले दुख दिने भएकाले) लाई फकाइफुल्याई बैङ्गलोर कजेलमा पठायो । कन्सल्टेन्सीले एउटा कक्षामा मात्र ४० जना विद्यार्थी हुन्छ भनेको थियो तर कक्षमा अहिले ८६ जना विद्यार्थी छन् । जब कि बैङ्गलोर विश्वविद्यालयको नियमअनुसार एउटा कक्षामा अधिकतम ६५ जना भन्दा बढी विद्यार्थी राख्न पाइँदैन । तर उनको कक्षामा ८६ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । जबकि अगाडिको ३ बेन्चमा बस्ने विद्यार्थीबाहेक अन्य विद्यार्थीले पढाएको केही बुझ्दैनन् । बैङ्गलोरमा भेटिएका ती विद्यार्थीले सुनाएको कथा हो । 

झुठ नम्बर २– क्लास सुरु नै भएको छैन


नेपालका कन्सल्टेन्सीले गर्ने अर्को झुठको खेती हो, क्लास सुरु भएको छैन । यी कन्सल्टेन्सीले कार्तिकसम्म पनि विद्याथीलाई बैङ्गलोरमा पठाइरहेका हुन्छन् । उनीहरूले भारतमा क्लास सुरु नै नभएको भनेर झुठ बोलिरहेका हुन्छन् । जब कि बैङ्गलोरमा कक्षा सुरु साउनको पहिलो साताबाटै भइसकेको हुन्छ । तर उनीहरूले कार्तिकसम्म पनि विद्यार्थी पठाउँदै गरेका हुन्छन् । अनि भन्छन्, क्लास छुटे पनि रिकभर क्लास हुन्छ, जुन झुट मात्रै हो । असोज–कार्तिकमा बैङ्गलोर गएका विद्यार्थीले यस्तो कथा सुनाउँछन् । 

झुठ नम्बर ३– होस्टेलको कोठामा २ जना मात्रै 

कन्सल्टेन्सीले बारम्बार बोल्ने अर्को झुठ हो– होस्टेलको रुममा जम्मा २ जना मात्रै विद्यार्थी बस्ने । यो झुट अधिकांश कन्सल्टेन्सीले बोल्ने गर्छन् । उनीहरूले काठमाडौँमा काउन्सिलिङ गर्दा के भनेका हुन्छन् भने होस्टेलको एउटा कोठामा २ जना मात्रै विद्यार्थीहरू बस्ने हो । तर बैङ्गलोरको यथार्थता बेग्लै छ । किनभने होस्टलको एउटा कोठामा कम्तीमा पनि ६ जना विद्यार्थी बस्नुपरेको छ । कलेजको नीतिअनुसार सानो कोठा भए ६ जना र ठूलो कोठा भए एउटा कोठामा ८ जना विद्यार्थी राखिन्छ । जब मैले बैङ्गलोरका होस्टेलको अवस्था जान्न खोजेँ, काठमाडौँमा बोलिएका झुठको पर्दाफास भयो । 

झुठ नम्बर ४ : नेपाली खाना पाइन्छ

नेपालका कन्सल्टेन्सीले बोल्ने अर्को झुठ हो, बैङ्गलोरमा नेपाली खाना पाइन्छ । अहिले बैङ्गलोरका नेपाली विद्यार्थीले भोगेको अर्को ठूलो समस्या हो, खाना । सुरुमा नेपाली विद्यार्थीलाई नेपाली खाना दिइन्छ भने पनि बैङ्गलोरमा त्यस्तो छुट्टै खाना दिने व्यवस्था छैन । नेपाली विद्यार्थीले खाए पनि नखाए पनि त्यही साउथ इन्डियन खाना, डोसालगायतका खानेकुरा खान दिइन्छ । जुन अधिकांश नेपाली विद्यार्थीले खान सक्दैनन् । बैङ्गलोरको खाना नेपाली विद्यार्थीका लागि अनुकुल छैन । मैले बैङ्गलोरमा जति विद्यार्थी भेटेँ, सबैले खानाको समस्या सुनाए । 

झुठ नम्बर ५ : प्राक्टिकल प्रशस्तै हुन्छ


बारम्बार बोलिने अर्को झुठ हो, बैङ्गलोरमा प्रशस्तै ‘प्राक्टिकल’ गर्न पाइन्छ । तर बैङ्गलोरको वास्तविकता ठीक उल्टो छ । किनभने बैङ्गलोरमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले बिरामी छुनै पाउँदैनन् । किनभने भारतका निजी अस्पतालमा पढ्दै गरेका विद्यार्थीले बिरामीको प्रत्यक्ष हेरचाह वा उपचार गराउनै पाउँदैनन् । उनीहरूले डाक्टर वा रजिस्टर्ड नर्सले गरेको काम हेर्ने मात्रै हो । दोस्रो कतिपय कलेजको आफ्नै अस्पताल भए पनि त्यहाँ बिरामीको सङ्ख्याभन्दा बढी त विद्यार्थी नै हुन्छन् । त्यसैले उनीहरू उपचारमा संलग्न हुन पाउने कुरै भएन । ‘प्राक्टिकल’को समस्या, सबै विद्यार्थीको साझा समस्या हो । 

एउटै विद्यार्थीबाट १ लाख कमिसन


अहिले काठमाडौँका कन्सल्टेन्सीले १ जना विद्यार्थीबाट सरदर १ लाख कमिसन खाने गरेका छन् । कलेजले शुल्क तोकिदिएको हुन्छ र विद्यार्थी पठाइसकेपछि उनीहरूले विद्यार्थीबाट उठाएको रकमका करिब १ लाख घटाएर बैङ्गलोरमा पठाउँछन् । कमिसन धेरै आउने भएकाले पनि अहिले कन्सल्टेन्सीले झुठ बोल्दै विद्यार्थीलाई बैङ्गलोर पठाइरहेका छन् । तर, झुठको पत्तो लागिसकेपछि पनि उनीहरू नेपाल फर्कन भने पाउँदैनन् । किनभने कलेजले सक्कल प्रमाणपत्र राखिसकेको हुन्छ, जसका कारण उनीहरू नेपाल फर्कन चाहेमा पनि ४ वर्षकै शुल्क तिरेर मात्रै नेपाल फर्कन पाउँछन् । 

यसरी भारतमा नेपाली विद्यार्थी पठाएर काठमाडौँका केही कन्सल्टेन्सीको आम्दानी त राम्रै भएको होला । तर अधिकांश नेपाली विद्यार्थी मात्रै सर्टिफिकेट किन्न बैङ्गलोरमा पुगिरहेका छन् र एउटा सर्टिफिकेटको लागि ९ लाख नेपाली रूपियाँ खर्च गरिरहेका छन् । यतिसम्म कि नेपाली विद्यार्थीलाई मात्रै भर्ना लिनका लागि बैङ्गलोरमा नर्सिङ कलेज खोलिएका छन् । अझभन्दा पसल थापिएका छन् र धन्दा चलाइएका छन् ।

कन्सल्टेन्सी त दलाल नै हुन् : कबिन मलेकु


भारतमा लामो समयदेखि रहेर अध्ययन तथा नेपाली विद्यार्थीका पक्षमा काम गरिरहेका कबिन मलेकुका अनुसार नेपालका सबै कन्सल्टेन्सी ‘ठग’ हुन् ।


उनी भन्छन्, ‘कन्सल्टेन्सीले सही कुरो कहिल्यै गर्दैनन् र मात्र २, ४ लाख कमाउनका लागि नेपाली विद्यार्थीलाई भारतमा बेचिरहेका छन् । 


उनी अगाडि थप्छन्, ‘कन्सल्टेन्सी भनेको सही काउन्सेलिङ गर्ने हो । तर उनीहरू काउन्सेलिङ गर्ने नभएर झुठो प्रचार मात्रै गर्छन् । त्यसैले उनीहरू ठग र दलाल हुन् ।’
कबिनको आरोप छ, नेपालका कन्सल्टेन्सीहरूले बोल्ने शब्द र गर्ने प्रचार ९० प्रतिशत झुठो हुन्छ । 


कबिनजस्तै अर्की विद्यार्थी पनि कन्सल्टेन्सीको कुरा पत्याउनै नहुने बताउँछिन् । उनका अनुसार कन्सल्टेन्सीले मात्र झुठको खेती गर्छन् र भ्रम छर्छन् । उनका अनुसार कन्सल्टेन्सीले बोल्ने ७५ प्रतिशत कुरा झुठा हुनछन् । 

पढाइ भारतमा प्रयोगचाहिँ नेपालमा !

नेपाली विद्यार्थी गएर पढ्ने बेङ्गलोरका अधिकांश नर्सिङ कलेज बेकामे छन् । दुई चारवटा कलेजलाई छाड्ने हो भने अधिकांश कलेज ‘डब्बा’ छन् र नेपाली विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै दिएर लुट गरिरहेका छन् । अनि नेपाली विद्यार्थीले भारतबाट सर्टिफिकेट किनेर नेपाल ल्याउँछन् र नेपाली गरिब बिरामीमाथि ‘प्राक्टिकल’ गर्छन् र अस्टे«लियाको बाटो तताउँछन् । यसको अर्थ पैसा खर्च भारतमा गर्छन् र नेपाललाई प्रयोगशाला मात्रै बनाउँछन् । 

बैङ्गलोरको यथार्थता बुझ्नका लागि हामी बैङ्गलोरमै पुग्यौँ । त्यहाँको वास्तविकता के हो भनेर जान्न र नेपाली विद्यार्थीलाई भेट्नका लागि हामी बैङ्गलोर पुगेका थियौँ । जुन दिन हामी बैङ्गलोर पुगेका थियौँ, त्यस दिन बैङ्गलोरको मेजिस्टेक सिटीमा रहेको नाइटिङ्गेल इन्स्टिच्युट अफ नर्सिङ कलेजमा ग्राजुएसन सेरेमनी हुँदै थियो । 

नेपाली विद्यार्थी दीक्षित भएकामा खुसी त थिए, तर अब नेपाल गएपछि के हुने हो भन्ने चिन्ता उनीहरूमा थियो । किनभने बैङ्गलोरमा ४ वर्ष बसेर पढ्दा उनीहरूमा कुनै ‘कन्फिडेन्स’ थिएन । राम्रोसँग सुई लगाउन नजान्ने र रगत झिक्न नजान्ने विद्यार्थी पनि थिए । ४ वर्ष अध्ययन गरेर ग्राजुयट भएका विद्यार्थी सुमिन्ना भन्दै थिइन्, ‘यहाँ प्राक्टिकल गर्छु भनेर त नसोचे पनि हुन्छ ।’

दीक्षान्त समारोहमा उपस्थित भएकी सुमिन्नाको मुहारमा चिन्ता पनि उत्तिकै झल्कन्थ्यो । किनभने उनलाई बिरामीको कसरी उपचार र हेरचाह गर्नेभन्ने राम्ररी जानकारी नै थिएन । आफ्नै अस्पताल नभएको कलेजमा पढेकी उनले बिरामीको हेरचाह वा उपचार गर्न पाइनन्, मात्रै अरूले गरेको हेरेको आधारमा जान्ने कुरै भएन । उनले भनिन्, ‘बिरामी त छुनै पाइँदैन ।’

करिब १० लाख खर्च गरेर ४ वर्ष भारतमा पढेकी सुमिन्ना (नाम परिवर्तन) अब प्राक्टिकल चाहिँ नेपालमै आएर गर्ने सोचमा छिन् । तर नेपालका अस्पतालहरूले पनि ‘भोलिन्टियर’ राख्ने हो कि नराख्ने भन्ने चिन्ता छ उनमा । उनी भन्छिन्, ‘नेपालमा जति सिकिन्छ, भारतमा त्यो कल्पना नगरे पनि हुन्छ । त्यसैले पढाइ भारतमा गरियो, अब प्राक्टिकल चाहिँ नेपालमै गएर गर्ने हो ।’

यो चितवनकी सुमिन्नाको मात्रै कथा होइन, बैङ्गलोरमा गएर बिएस्सी नर्सिङ पढ्ने करिब ९० प्रतिशत नेपाली विद्यार्थीको सामुहिक जवाफ र यथार्थता हो यो । किनभने भारतमा गएर पढ्ने नेपाली विद्यार्थीहरूले प्राक्टिकल गर्नै पाउँदैनन् । जब विषय नै व्यावहारिक छ तर व्यावहारिक ज्ञान छैन भने ती विद्यार्थीले नेपालमा आएर गर्ने काम भनेको प्राक्टिकल मात्रै हो र उनीहरूले नेपाललाई बनाउने भनेको प्रयोगशाला मात्रै हो । 


पैसा जति भारतमा खर्च गर्ने तर नेपालका गरिब बिरामीमाथि प्राक्टिकल गर्दछन्, बैङ्गलोरका बीएस्सी नर्सहरू । 
 

मदन ढुङ्गाना

मदन ढुङ्गाना खोज पत्रकारिकता गर्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ