शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडक खाल्डाखुल्डीले सास्ती

शनिबार, ०२ असार २०७५, १४ : १६
शनिबार, ०२ असार २०७५

महाेत्तरी– चारैतिर खाल्डाखुल्डी र कच्ची बाटो रहेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर अहिले हिलाम्मे बनेको छ । 

जिल्लाको सदरमुकाम भए पनि यहाँको कुनै पनि स्थानमा पिच बाटो नरहेको अवस्थामा विगत दुई तीन दिनमा पटकपटक भीषण पानी परेको कारण जलेश्वरको प्रत्येक चौक चौराहा, हाट बजार र सार्वजनिक स्थलमा अहिले हिलैहिलो भएको हो । 

वर्षाको पानीले जलेश्वरको शंकरचोक, नगरपालिकाचोक, दुर्गाचोक, खैराचौक, बुद्धिजीवीचोक, अस्पतालचोक, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, मालपोत, महिला विकास, जिल्ला शिक्षा कार्यालय, कृषि कार्यालय, पशु कार्यालय र जिल्ला अस्पताल जस्ता ठाउँमा हिलैहिलो भएको छ, भने नगरभरि बाटोमा रहेका खाल्डाखुल्डीमा पानी जमेर सर्वसाधारणलाई निक्कै सास्ती भएको छ । 

त्यसैगरी वर्षाको पानीले सबैतिर हिल्लामे बनाएपछि जिल्लाको सदरमुकामस्थित विभिन्न हाटबजार, कार्यालयसहित सेवा पाउने स्थानमा सेवाग्राहीको चहलपहलमा कमी देखिएको छ । 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आधा किलोमिटर पनि पक्की बाटो छैन भने केही दिनअघि नाला बनाउने नाउँमा नगरभरिको प्रत्येक बाटोकोबीच भएरै गहिरो खाल्डो खनिएपछि झन यहाँको कुनै पनि बाटो सुरक्षित र भरपर्दो छैन् । 

अहिले वर्षायाममा आएर जलेश्वरका मूल र सहायक सबै बाटो खनिएपछि विभिन्न स्थानमा मालबाहक तथा सवारी साधन फसेको छ, भने सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको छ । 

साथै बाटो खनेर जथाभावी छाडिएकाले प्रत्येक दिन मोटरसाइकल, ट्याम्पु र साइकल चढ्ने यात्रु दुर्घटनामा पर्ने गरेका छन् । 

यसैबीच रातिको बेला बाटो हिँड्ने बटुवा र चौपाया पनि नगरभित्रको खाल्डो खसेर दुर्घटनामा पर्ने गरेको नगरवासीले गुनासो गरेका छन् । 

स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधि आएर विकास गर्ने, जनतालाई सुख हुने विश्वास लिएका नगरवासीले स्थानीय तह सहित प्रदेश र संघको चुनाव भएको पनि यतिका दिन वितिसक्दा पनि विकासको अनुभूति गर्न नसकेको भन्दै निराशा व्यक्त गरेका छन् । 

साथै सम्बन्धित माथिल्लो निकायलाई सदरमुकामको अवस्थाप्रति ध्यानाकर्षणको माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप