मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वनझाँक्रीको खोजीमा

शनिबार, ०२ असार २०७५, ०९ : १६
शनिबार, ०२ असार २०७५

-सूचना तिमल्सिना 

अनायासै खुलेका नजरले धमिल ज्योति र जंगललाइ ठम्याउछु । चराको चिरबिर आवाज र हावाको चालमा स्यार्र स्यार्र बजेको रुखको पातको आभाषलाई मनन गर्दै आफ्नो परिस्थितिलाई ठम्याउन खोज्छु । ‘बल्ल उठ्नुभयो प्रमिलाजी, थकाइ मार्दा मार्दै निदाउनुभयो तपाईं त’ अग्लो केटा मलाई सम्बोधन गर्छ । त्रसित मन शङ्काको भुमरीमा मडारिन्छ र डरको आड लिएर परिचयका लागि व्याकुल हुन्छ । 
–माफ गर्नु होला चिनिनँ मैले त ?
–एक निन्द्रामै भुलिदिनुभयो मलाई, प्रमिलाजी । जाऊँ अब ढिला हुन्छ । 
–म प्रमिला होइन, सूचना हुँ । फेरि कहाँ जाने ?
–कहाँ हुनु नि तपाईंको काम वनझाँक्रीको खोजीमा । 
परिस्थितिको जोडघटाउमा लाग्छु । उचित सोचाइ पदार्पण हँुदैन । अग्लो, अपरिचित केटालाई घुरेर हेर्छु, चिनेको पाउदिनँ । डरको सीमाङ्कन बढ्दै जान्छ । पुरानो स्मृतिलाई ताजकीकरण गर्छु, उस्तै पाउँछु । तत्कालीन अवस्थाको स्मृतिमा शून्यता पाउँछु र टुङ्गो लाउन सक्दिनँ । वनझाँक्रीको खोजी मेरो रहर थियो अठोट थिएन । गर्नुपर्छ भन्ने थियो, सुरुवात गरेको थिइनँ । फेरि मैले पढेको विषय जीवविज्ञान होइन । म अग्लो केटालाई स्पष्टीकरण दिन्छु । ऊ मुस्कुराउँछ । 
–तपाईं वनझाँक्रीको खोजीमा नभए केको खोजीमा हुनुहुन्छ त ?
–मलाई थाहा छैन । म कसरी यहाँ आइपुगेँ पनि थाहा छैन । 
–तपाईलाई के थाहा छ त ?
–म सूचना हुँ भन्ने थाहा छ । 
–तपाईले प्रमिला भनेर परिचय दिनुभएको थियो त ! 
होइन, यो अग्लो केटा मलाई मूर्ख बनाउन खोज्दैछ । हातको मोबाइल हेर्छु, चार्ज सकिएको रहेछ । अन्योलतामा छट्पटिन्छु । पछाडि भिरेको झोला छाम्न पुग्छु । झोलाभित्रको जी.पी.एस. र म्याप भेट्छु । म्याप खोलेर हेर्छु ललितपुरको रहेछ । जी.पी.एस. हेर्छु उचाइ २००० मि. देख्छु । बल्ल वरिपरिको वातावरण निरीक्षण गर्ने होस्, आउँछ । वरिपरि देखिएका डाँडाहरू नियाल्छु । टावर भएको डाँडा फुल्चोकी भनी विश्वस्त हुन्छु । तर आफू भएको जङ्गलको पत्ता लाउन सक्दिनँ । 
–हामी कहाँ छौँ ?
–प्रमिलाजीको गाउँ नजिकको जङ्गलमा । 
–व्यर्थमा किन ढाँट्नुहुन्छ, साँचो बताउनुहोस् ?
–भर्खर म्याप हेर्नुभएको होइन, कि म्याप हेर्न आउँदैन ?
–आफ्नो गाउँ चिन्न म्याप हेरिरहनु पर्दैन । 
–हामी गाउँमा होइन जङ्गलमा छाँै । 
–त्यही त हामी जङ्गलमा किन छौँ ? 
–त्यो त प्रमिलाजीलाई थाहा हुनुपर्ने होइन र ?
–मैले थाहा पाउन सकिनँ । कृपया बताउनुहोस् । 
–म प्रमिलाजीको आग्रह मान्दै वनझाँक्री निरीक्षणका लागि राखेको सी.सी. क्यामारा परीक्षणका लागि जाँदैछु । 
–कहिले राखेको ?
–एक हप्ता भयो । प्रमिलाजी र प्रोफेसर भएर राखेको के त ?
–कतिपटक भनौँ म सूचना हुँ । अनि फेरि को फ्रोफेसर ? 
–तपाईंले वनझाँक्री अध्ययन लागि भनेर ल्याउनुभएको सर । बाँकी त तपाईंलाई थाहा होला । 
म थचक्क बस्छु । म खण्डित सोचाइलाइ जोड्छु । मैले कोही प्रोफेसर नभेटेको टुङ्गो लाउँछु । मेरो अघि रहेको अपरिचित केटो कहीँकतै कसैले बुनेको चक्रव्युहको फन्दा त होइन । मेरो अस्तित्वमाथि, मेरो इज्जतमाथि हावी हुन आएको जाल त होइन ? मलाई फनन्न रिँगटा छुट्छ । म उठ्न खोज्छु । मेरो हात खुट्टा लुला हुन्छन् । म उसको परिचयका लागि ढिपी कस्छु । ऊ प्रोफेसरको विद्यार्थी भन्दै परिचय दिन्छ । म पत्याउँदिनँ । ऊ चुपचाप हिँड्न थाल्छ । म प्रश्न गर्न छोड्दिनँ । ऊ चुप लाग्ने सङ्केत गर्छ । पत्कर बजेको चाल सुनिन्छ । ऊ मेरो हात च्याप्प समात्छ । रूखको छेकामा गएर साउती मार्छ, वनझाँक्री हुन सक्छ । 
धेरै वर्ष पहिले हाम्रो गाउँको एउटा घरमा वनझाँक्री कुराउनी खान आउने गथ्र्यो । उसको हात मानिसको जस्तै थियो । ऊ खड्प्वालबाट हात छिराएर हरेक रात कुराउनी माग्थ्यो । दैनिक उसको क्रियाकलापबाट दिक्क भएका त्यो घरका मानिसले कुराउनीको सट्टा पन्युँ तताएर उसको हातमा हानिदिए । त्यो दिनदेखि वनझाँक्री आउन छाड्यो । तर भोलिपल्ट उनीहरूको गोठको सबै गाईभंैसी मरे । 
यही कहानीको अर्को रूप यस्तो पनि थियो । वनझाँक्री कहाँ बस्ने होला भन्दै घरमा आउँथ्यो । ऊ मान्छेले देखाएको ठाउँमा मात्र बस्ने गथ्र्याे । नयाँ बनाएको परिकार खीर, नौनी खान आउन छुटाउँदैनथ्यो । एक दिन ऊ आएको बेला त्यो घरको मानिसले तताएको ताउमा बस्ने ठाउँ देखाइदिए । ऊ त्यीह बस्यो । उसलाई तातो ताउले पोल्यो । उसले चित्त दुखाएर अब कहिल्यै तेरो घर आउँदिनँ भन्दै गयो । नभन्दै ऊ आएन पनि । ऊ गएको भोलि पल्ट त्यो घरको सबै गाईवस्तु मरे । 
यी कहानीको स्रोता र दर्शक हाम्रा हजुरबा हजुरआमाहरू थिए । यी कहानीहरूले जीवन्तता कथा बनेर पाएका थिए । जुन कथा हामी एक अर्कालाई सुनाउने गथ्यौँ । यी कहानीलाई म कहावतमा सीमित गर्न सक्थेँ । तर मामा, मुमा, छिमेकीहरूले भागेको वनझाँक्रीको कहानीले कतै वनझाँक्री यथार्थ त होइन भनी झक्झाकाउँथ्यो । वनझाँक्रीले कसैको घरमा गाईको दूध दोइदिन्थ्यो । कसैलाई राति आएर चिल्लो लगाइदिन्थ्यो । उसको हात नरम र साना थिए । वनझाँक्रीसँग विशेष शक्ति थियो । ऊ मानिसलाई पढाउन लैजान्थ्यो । ऊ मानिसलाई मन्त्र दिन आउँथ्यो । यस्ता थुप्रै वनझाँक्री बारे सुन्दै हुर्किए । 
म ठूली हुँदै गएँ, वनझाँक्रीको कहानी द्वन्द्व कहानीमा विलय भए । त्यसपछि मैले वनझाँक्री बारे सुनिनँ । अनि मैले वनझाँक्रीलाई भुल्दै गएँ । आज एक्कासि यो केटा वनझाँक्रीको खोजी भन्दै मसँग छ । मैले नचिनेको प्रोफेसरको विद्यार्थी भन्छ । ऊबाट म हात फुत्काउँछु । ऊ मपट्टि फर्किएर हाँस्दै भन्छ, मृग रहेछ । 
–वनझाँक्री कस्तो हुन्छ, थाहा छ ?
–वनझाँक्री मानिस र चिम्पान्जी जस्तै हुन्छ तर उसको कद होचो हुन्छ । जिउभरि लामो रङ हुन्छ । उसले मानिससँग गर्न खोजेको घुलमिलदेखि चिमपान्जीभन्दा विकसित हुनुपर्ने भनेर तपाईंले प्रोफेसरलाई यही बयान गर्नु भएको थियो, होइन र ? 
–त्यो मैले भनेको कुरा होइन सुनेको कहानीबाट विश्लेषण गरेको कुरा थियो । 
–मानव उत्पत्तिको एक प्रजाति शिवथिपेकस अर्थात रामथिपेकसको जिवास्म बुटवको तिनाहुँ नदीको किनारमा भेटिएको थियो । त्यसैले सम्भावना जे पनि छ । वनझाँक्री मानव उत्पत्तिको अध्ययनमा छुटेको कहानी हुनसक्छ अथवा अहिलेसम्मको अध्ययनलाई चुनौती दिन बाँचिरहेको प्राणी हुनसक्छ भनी यो अध्ययनलाई गोप्य तरिकाले गरिनुपर्छ भनेर हामीबीच सल्लाह ।
बोल्दाबोल्दै उसको आवाज बन्द हुन्छ । म उसलाई हेर्छु । ऊ त गायब भएछ । शान्त हुन खोजेको मनमा फेरि चस्का पस्छ । ऊ हरायो भने मलाई घर जाने बाटो थाहा छैन । अब डरको ठाउँ चिन्ताले लिन्छ । एकछिनको पर्खाइपछि ऊ देखा पर्छ । म डराएकी भन्दै प्रश्न गर्छ । म आफ्नो डर लुकाउँदै रिस पोख्छु । 
–मलाइ सूचना भनेर बोलाउनुहोस् । 
–वैज्ञानिकहरू आफ्नो नाम भुलेर काम गर्थे रे । तपाईं भने आफ्नै नामको पछि लाग्नुभएको छ । 
–त्यही त म वैज्ञानिक होइन । म होस् राखेर काम गर्न चाहन्छु, आफै हराएर होइन । छोड्नुहोस् यी कुरा, साच्ची वनझाँक्री कसले देखेको भएर सी.सी. क्यामारा राखेको ?
प्रतिजवाफका लागि म उसको मुख ताक्छु । ऊ मलाई एकहोरो हेर्न थाल्छ । म यतात्यता नजर अलमलाउँदै उसको हेराइबाट मुक्ति खोज्छु । उसको अनुहार परिवर्तित हुँदै जान्छ । उसको कद छोटो हुँदै जान्छ । उसका जीउभरि लामा रङ आउँछ । मलाई पसिना छुट्छ । कहीँ भगाँै भन्ने लाग्छ । तर हिँड्न शक्ति आउँदैन । भुइँमा थेचारिन पुग्छु । के कुनै शक्ति छैन जसले गर्दा म यो अजीव जनावरबाट छुट्कारा पाउन सक्छु । परिवर्तित आकृति बोल्न थाल्छ । 
–अब भन्नुहोस् वनझाँक्री छ कि छैन ?
भयले कम्पित लवज बाहिर निस्कन मान्दैन । म भुइँमा आँखा विछ्याउँदै सानो स्वरमा बोल्ने चेष्टा गर्छु । 
–के साँच्चिकै तपाईं वनझाँक्री हो ?
–हिजो पनि मानव हाम्रो अस्तित्व स्वीकार गर्न सक्दैनथ्यो । आजसमेत हामीलाई अध्ययन गर्न डराउँछ । यही भएर हाम्रो लोप हुँदैछ । 
–हामी मानवलाई थाहा नभएको प्राणीहरू पृथ्वीमा थुप्रै छन् । जुन आज पनि बाँचिरहेका छन् । लोपको कारण प्रकृतिसँगको सङ्घर्ष हो । 
–हामी मानवसँग मित्रता चाहन्थ्यौँ । त्यही भएर हामी उनीहरूको वरिपरि जङ्गलमा रहन्थ्यौँ । हाम्रो सोझोपन, मित्रता व्यवहारलाई उनीहरूले फाइदा उठाइरहे । 
उसको अनुहार कुरूप बन्दै जान्छ । उसले फड्फडाएको नाकको फोहोरादेखि रिस मापन गर्न सकिन्छ । म एक्लो प्राणी उसको क्रूरतापन कति होला भनी आँकलन गर्न नसकी साहयताका लागि बर्बराइरहन्छु । कसैले मेरो हात समात्यो । म उसलाई बचाउ भन्न चाहन्छु । तर बोली घाँटीमा अड्किन्छ । 
मेरो आँखा खुल्छ । बिहानीपख कति निदाएको भन्दै मुमाले मेरो हात समाति बोलाउँदै हुनुहुँदोरहेछ । धन्न सपना रहेछ ! म जुरुक्क उठ्छु । सिरानीको छेउमा हिजो राति सुत्नुअघि हेरेको बुकलेट देख्छु । त्यो अर्ध मानवको चित्र रहेछ । मुमा चिया बोकेर आउनुहुन्छ । ओछ्यानमा अझै अल्मलिएको भनी गुनासो गर्नुहुन्छ । म चिया पिउँदै सपना बताउँछु । उहाँ चाँसो मान्दै फेरि मैले सुनिसकेको वनझाँक्री कहानी दोहो¥याउनुहुन्छ । तेरो घरको हजुरबा, मामा घरको हजुरबा, मामा सबले देखेका रे मैले चाहिँ देखिन मुमा वनझाँक्रीको बयान गर्नुहुन्छ । म वनझाँक्रीको अस्तित्व बारे दोधारमा पर्छु । यसबारे लेख्नै पर्ने भनि निक्र्याैल गर्छु । ल्यापटप खोल्छु । लेख वा कथा के लेख्यौँ भनी घुरिरहन्छु । जे लेखे पनि शीर्षकको चयन गर्छु– वनझाँक्रीको खोजीमा । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप