कविताः विकासको जतिसुकै...
-सरिता ढुङ्गाना
विकासको जतिसुकै सभ्य सहरमा पुगे पनि
विज्ञानका नयाँनौला प्रविधिमा सधैँ भुले पनि
मनैभित्र कालो र मैलो जकटिएका धर्मात्माहरू
घण्ट बजाएर मूर्ती र फोटा पूजा गर्नेहरू
आफूले आफैँलाई पवित्र परमेश्वर ठानी
महिनाको चारदिन अछूत बनाउँछन् नारी
इतिहासको कुनै पनि पानामा नछापिएको
संविधानका विगतदेखि वर्तमानसम्म कतै नलेखिएको
सभ्य र विकसित कुनै पनि मुलुकमा थाहै नभएको
जातभात भन्दा पनि अझै कडा
आफूखुसी बनाइएको नारीहरूकै स्वधर्ममा निहीत नियममा
हरेक महिना किन अछूत र अपवित्र बन्नुपर्छ नारीहरूले ?
आफैंले जन्माएका सन्तानलाई समेत छुन हुन्न रे
कोही टाढा जान लाग्दा झुक्किएर नि अगाडि नपर्नू रे
घरमा आएका वृद्व अतिथिको वरिपरि नै देखा नपर्नू रे
मानौँ ठूलै अपराध गरेको अपराधी जस्तै नारी
एउटै कोठाभित्र चुपचाप सीमित बनेर बस्नु रे
घरभित्रै हिँड्दा पनि लगाउँछन् जताततै सीमारेखाहरू
पटकपटक सुनाइरहन्छन् पुराना जमानाका कथाहरू
नेपालको गाउँ,सहर, सुदूर पश्चिम या पूर्व जताततै होस्
धेरै नीति र नियमहरू देखिन्छन् नारीहरूको लागि मात्रै
यति फरक छ कति कठोर र कति सहज छन् ती नियमहरू
कति मानवीता छ र कति पीडादायी भन्ने ती शासनहरू
तर घण्ट बजाएर धर्म गर्नेहरू
घर बाहिर त निकै आधुनिकता पनि देखाउँछन्
कुनै नारीलाई प्रश्न गर्दैनन् कि तिमी नछुनी भएकी छौ भनेर ?
किनकि उनीहरूलाई आधुनिकताको खोल ओडेर
फेरि मूर्ती र पण्डितलाई मनग्यै दक्षिणा र खानेकुरा चढाएर
प्रशस्तै धर्म गर्नु छ अदृष्य स्वर्गको ढोका खोल्नुछ
पण्डितकै दन्त्य कथा सुन्नु छ अनि आफू जस्तै नारीलाई
पण्डितको लहैलहैमा लागेर अछूत र अपवित्र बनाउनु छ
सुदूर पश्चिमको छौपडी प्रथामा कयौँ अकालमै मरिरहेछन्
शिक्षित हुन् या अशिक्षित गाउँमा हुन् या सहरभित्रै पनि
अफिस जाऊन् या घरमै बसून् धेरै नियम नारीलाई हुन्
घरभित्रै नारीहरू किचिएका, थिचिएका र दबिएका छन्
त्यसैले नारीको हक , हितको भाषण गर्ने सत्ताधारीहरू
सक्छौ भने हटाऊ यो अन्धविश्वास र कुरीतिलाई
कानून बनाऊ ती पण्डित बाजेहरूलाई पहिले
जसले हाम्रा आमा र हजुरआमालाई
बारम्बार उही पुरानै सती प्रथाको कथा सुनाइरहन्छ,
सुदूर पश्चिमको छौपडीप्रथालाई अझै उर्जाशील बनाउँछ
तिनकै कारण नारीलाई अछूत र अपवित्र बनाइन्छ
हरेक महिना घरभित्रै नारीलाई सीमारेखा लगाइन्छ ।
-गोंगबू , काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर