शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाती राजा !

शनिबार, ०२ असार २०७५, ०९ : ११
शनिबार, ०२ असार २०७५

-प्रकाश तिवारी  

तिनताका सर्मिला र रमेश प्लस टु उत्तीर्ण गरी ब्याचलर पढ्दै थिए । सँगै हिँड्थे, खान्थे, बस्थे । उनीहरूको बढ्दो सामीप्यता देखेर अन्य सहपाठीहरू ईष्या गर्थे । कुरा रमेशको  घरसम्म पुग्यो । सर्मिलासँगको बढ्दो हिमचिम रमेशका बाबुआमा उत्तम र सीतालाई पटक्कै मनपरेको थिएन ।
‘हामी बाहुन, सर्मिला नेवारकी छोरी ! चालचलन, रीतिरिवाज क्यै मिल्दैन । छोराको बुद्धि फि¥यो भनेको त फेरि उस्तै ! सबैले तिमेरका कुरा गर्चन् । तँ ऊसित लठारिएर हिन्चस् रे !’ एक दिन आमा सीताले छोरासँग गुनासो गरिन् ।
‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन !’ महाकवि देवकोटाले लेखेकोे कुरा हो यो  । सर्मिला तल्लो जातिकी भएर के भो ? उसको दिल ठूलो छ । ऊ मेरी जीवनसाथी हुन योग्य छ । ढिलो चाँडो म उसैसित बिहा गर्चु आमा !’ रमेशले जवाफ दियोे ।
‘कविहरू लहडी हुन्चन् । लहडमा जे पनि लेख्चन् ! समाज कविताले हैन परम्परा र रीतिरिवाजले चल्छ । कलेजका कक्षा कोठा र नेताका भाषणमा समानता र स्वतन्त्रताका जति नै ठूला उपदेश दिइए पनि हाम्रो समाज जातीयताको जालोबाट मुक्त छैन । जातीयता समाजको यथार्थ हो । त्यसैले सर्मिलालाई बिर्सिदे ।’ बाबु उत्तमले पनि सम्झाए ।
रमेश र सर्मिला पछाडि फर्किनै नसक्ने विन्दुमा पुगिसकेका थिए । पछाडि फर्कनु भनेको पानीबाट माछा अलग गर्नुजस्तै हुन्थ्यो । 
सर्मिला सपनामा दुलही बनेर आउँथी । रमेशसँग साथै जिउने साथै मरेने वाचा–कसम खान्थी । ‘तिम्रो अभावमा म तत्क्षण मृत्यु वरण गर्नेछु !’ ऊ भन्थी । रमेशले झल्याँस्स सर्मिलाले भनेको वाक्य सम्झियो । 
एकातिर जन्म दिने मातापिताको आनाकानी अर्कोतिर प्रेममा जातीयता निषेध गरेर देखाउन चाहने भावुक जवानी ! त्यस रात रमेश किंकर्तव्यविमुढ हुँदै ओछ्यानमा पल्टियो । घरि ओल्लोे घरि पल्लोे कोल्टो गर्दागर्दै कतिबेला ऊ निदायोे पत्तै भएन ।

बिहानको समय । रमेश प्यारी सर्मिलाको साथमा बोटानिकल गार्डेनमा घुमिरहेको थियो । ‘हेर त जाताततै सम्भ्रान्त फूलहरू मुस्कुराइरहेका ! सम्भ्रान्त फूल अर्थात सयपत्री, मखमली, गुलाफ अनि कमल ! खै त यहाँ हामीले द्यौरालीमा चढाउँदै आएको पाती ? मालीको नजरमा के गुलाफ, के पाती ? ए माली ! तँ किन यति विभेदकारी ? किन लगाइनस्, तैले बगैँचामा हरियो पाती ?’ सर्मिलाले दुखेसो गरी । 
सर्मिलालाई बगैँचामा हरियो पातीको बोट हेर्ने रहर थियो । उनीहरू बगैँचाका चारै कुना चहारे  तर कहीँ कतै ‘पाती’ भेटिएन । ‘विविधतायुक्त प्रकृतिको आँगनमा किन यति विभेदकारी माली !’ सर्मिला भुट्भुटिई ।
‘हो सर्मिला ! प्रकृति जगतको सबैभन्दा ठूलो पाठशाला हो । भेदभावरहित उसको आँगनमा हजारौँ प्रजातिका फूलहरू एकसाथ फूलिरहेछन् । के सयपत्री, के मखमली, के बुकी, के उनिउँ । उसले कहिल्यै कुनै फूललाई फुल्नबाट निषेध गरेन । तर मानिसले भने सयपत्रीलाई गमलामा रोप्यो,  पातीलाई जरैदेखि उखेलेर फाल्यो ! मानिसमाजस्तै बगैँचाका फूलहरूमा पनि वर्गीय र जातीय विभेद कति सारो चर्को ? मानिसमा सूद्र दमै–कामी ! जनावरमा सूद्र सुँगुर ! फूलमा सूद्र पाती ! एक्काइसौँ सताब्दीमा पाइला टेकेको मानिसले निकालेको निष्कर्ष के यही हो र ! किन मानिस विविधतायुक्त प्रकृतिको काखमा वर्गीय र जातीयताको कृत्रिम बीज रोप्न खोज्छ !’ रमेशले सर्मिलाका कुरामा सही थाप्योे ।
रमेश बोल्दै थियो । एउटा अज्ञात आवाज आयो । आवाज मानिसको जस्तै  थियो ।
‘सुन त रमेश ! कोही बोलेको आवाज आइरहेछ ।’ सर्मिलाले भनी । दुवैले चौतर्फी नजर दौडाए तर कोही देखिएन । 
फेरि अर्को सन्देश आयो । ‘सुन मनुवा ! तँ अबूझ होस् ! तँ सठ् होस् । नादान होस् ! आज म तँलाई फूलको जातीयता बारे तैले आजसम्म थाहा नपाएको कुरा बताउँछु । छोउँछोउँ, टिपूँटिपूँ लाग्ने सुन्दर फूल गुलाफ, फूलहरूको माथिल्लो जाति हो ! मानिसमा माथिल्लो जाति ब्राह्मण भएजस्तै । अनि सयपत्री क्षत्री, कमल वैश्य, पाती सूद्र !’ ती अज्ञात  ध्वनिहरू विचित्रका थिए । 
शीत ऋतुको समय थियो । बोटबिरुवा र झारपातहरू आफ्ना अङ्गबाट रात्रिकालीन शीत टक्टक्याउने तरखर गर्दै थिए । उनीहरू बगैँचाबाट बाहिर निक्ले । रमेशका आँखा सूद्र ठानिएको फूल ‘पाती’माथि परे । गेटको ठीक अगाडि पातीको बुट्यान आँखाबाट अश्रुधारा बगाउँदै रोइरहझैँ लाग्दथ्यो । रमेश र सर्मिलाले उसको आँखाबाट झरिरहेकोे आँशु पुछिदिए । मायालु हातले सुम्सुम्याए । पहिलो पटक यति गाढा प्रेम पाएकोमा पाती खुसीहुँदै आफ्नै भाषा र लयमा बोल्न थाल्यो । 
उसले बयान दियोे–
‘मानिसको परिभाषामा म पनि यौटा फूल ! तर मेरो दुर्भाग्य ! मैले कहिल्यै लाल रङमा फूल्ने सौभाग्य पाइनँ । बगैँचाका सम्भ्रान्त फूलहरूसँग कुममा कुम जोडी भलाकुसारी गर्न पाइन ! रङका पुजारीहरूको पहिलो रोजाइमा म कहिल्यै पर्न सकिनँ । म एक तीतेपाती । फूलहरूको समाजमा सीमान्तकृत प्रजाति ! म पुग्छु बिरलै भगवानको शिरमाथि ! बगैँचा मेरोलागी विरानो मुलुक !’
पातीको मर्मस्पर्सी बयानले रमेशको मन छोयो । फूलहरूमाझको जातीय विभेद देखेर उसको मन रोयोे । अनायास उसका आँखा रसाउन थाले । उसले झरिरहेको आँशु पुछ्यो अनि पातीको बोटलाई प्रेमसाथ सुमसुम्यायोे । उसलाई पातीको त्यो बिरुवा घरमा लगेर हुर्काउन मन लाग्यो । तब उसले त्यसलाई घरको गमलामा लगेर सा¥यो ।
बोटानिकल गार्डेनको मूल गेट अगाडि पालेझैँ ठिङ्ग उभिएर पनि मानिसको नजरमा बिरलै पर्नेे त्यस ‘सूद्र फूल’ घरको गमलामा सजिने सौभाग्य पाएकोमा दङ्ग थियोे । रमेशले पातीलाई मलजल, गोडमेल गरी हुर्कायो । पोषिलो स्याहारसुसार पाएर अपहेलित पाती दिनदिन मौलाउँदै गयो । उसका हाँगाबिँगाहरू फैलँदै गए । असीम प्रेमले द्रविभूत उसका ओठहरू चलमलाउन थाले । पाती भावुक भयो ।
 ‘पानीझैँ समय युगौँयुगदेखि अविरल प्रवाहित छ । पहराको कठोर छातीलाई छेदन गर्दै मैदान पुगेको नदीजस्तै हिँजो र आजको मेरो जीवनका पनाहरूमा कति धेरै भिन्नता ? मेरो परिभाषामा वर्तमान भन्नु मायाँको सागर ! विगत उपहासको ढुङ्गे बगर !’ आफ्नो विगतलाई वर्तमानसँग तुलना गर्दै पाती गुनगुनायोे । 
दिनहरू बित्दै गए । ‘रमेशको घरको गमलामा अति सुन्दर पाती छ रे !’ हल्ला फैलियो ।
‘पाती पनि यति सुन्दर हुँदोरहेछ !’ देख्नेहरू यसै भन्ने गर्थेे । पाती बिस्तारैबिस्तारै ब्यापक चर्चाको विषय बन्यो । उसका बीजहरूबाट छेउछाउमा थुप्रै सुन्दर सन्ततीहरू पैदा भए । 
‘तँ त्याज्यबाट पूज्य भइस् । सूद्रबाट ब्राह्मण बनिस्् । जसरी ऋषि विश्वामित्र क्षत्रीबाट ब्राह्मण भएका थिए । तेरो यात्रा अझै टुङ्गिएको छैन । तँ अब रैतीबाट राजा बन्नुछ । एक दिन तँ भारत वर्षको राजा हुनेछस् । नसोध् के यो सम्भव छ ? याद गर् महामानवका वचनहरू– संसारमा असम्भव केही छैन ! यो अभियानमा म तेरो सारथी बन्नेछु । तेरो शिरमा मुकुट परेको दिन गिनिज बुकमा नयाँ दस्तावेज लेखाउनेछु !’ रमेशले उद्घोष ग¥यो । 
रमेशको रहर विचित्रको थियो । उसले पातीको राज्याभिषेक गर्ने विचार ग¥योे । राज्याभिषेक कार्यक्रममा उपस्थित हुन सबैलाई निम्ता बाँडियोे । पातीको राज्याभिषेकका लागि घर नजिकैको चौरमा भव्य मञ्च बनाइयो । मञ्चको बीच भागमा कलात्मक सिंहासन तयार गरियोे ।
 राज्याभिषेकको दिन आयो । कार्यक्रमस्थलमा आमन्त्रितहरू खचाखच भरिए । वातावरण उल्लासमय थियो । 
कार्यक्रम सुरु भयो । मङ्गल धुन बज्यो । बटुकहरूले मङ्गलवाचन गरे । पातीको गमला राज  सिंहासनमा लगेर राखियोे । रमेशले पातीको शिरमा श्रीपेच पहि¥याइदियो । 

पातीको राज्याभिषेक भएको घटनालाई हेर्ने दृष्टिकोण सबैको समान थिएन । सूद्र फूललाई मुकुट पहि¥याएकोमा ताली बजाउने र गाली दिने सराबरी थिए । 
‘पातीको शिरमा मुकुट यौटा विम्ब हो । समाजका तिरस्कृत, बहिस्कृत र सीमान्तकृतप्रतिको सम्मानको प्रतीक हो योे ! युग परिवर्तनको आँधीले सूद्र सम्झी किनारामा फ्याँकेकालाई पनि कुनै दिन शासनसत्ताको सर्वोच्च स्थानमा लगेर राख्न सक्छ भन्ने कुराको उदाहरण हो यो ! आउनुस् आज जातीयताको अन्तिम सतगती गरौँ अनि भनाँै– संसारका मानव एक हौँ !’ रमेशले थप उद्घोष ग¥यो । सर्मिलाले रमेशको स्वरमा स्वर मिलाई ।
‘पातीको पनि राज्याभिषेक ! कहीँ नभएको जात्रा हाँडिगाउँमा... !’ विपक्षमा रहेकाले हँसीमजाक गरे ।
कार्यक्रमको समापन हुँदै थियो । ठीक यति नै बेला मञ्चमा भयानक विष्फोट भयो । विष्फोटमा परेर पातीको गमला टुक्राटुक्रा भयो । सर्मिला अङ्गभङ्ग भई । उसकोे सम्पूर्ण शरीर रक्ताम्य थियोे । रमेश सर्मिलालाई उठाउन अगाडि बढ्दै गर्दा बेजोडले चिच्यायो । चिच्याहटसँगै ऊ निद्राबाट झल्याँस्स बिउँझियोे । ब्युँझँदा उसको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप