शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगलका युरो–२०१६ का स्टार कसरी १५ अर्बको फ्लपमा परिणत भए ?

शुक्रबार, ०१ असार २०७५, १७ : २७
शुक्रबार, ०१ असार २०७५

एजेन्सी । पोर्चुगलले भलै दुई वर्षअघि युरोपियन च्याम्पियनसीप जितेको होस्, तर विश्वकपमा त्यतिबेलाको उसको टोली र अहिलेको टोलीमा निकै फरक छ ।

प्रशिक्षक फर्नान्डो सान्तोषले युरोप विजेता २३ सदस्यीय टोलीबाट १० जना खेलाडीलाई विश्वकपको टोलीमा समावेश गरेका छन् । जसमा केही हाईप्रोफाइल खेलाडीहरु समेत रहेका छन् ।

यसका विभिन्न कारणहरु छन् । डिफेन्डर रिकार्डो कार्भाल्हो ४० वर्ष पुगेका छन् र युरो कपपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइसकेका छन् । स्टाडे डे फ्रान्समा भएको फाइनलमा निर्णायक गोल गरेका स्ट्राइकर अडेर लिले र लोकामोटिभ मस्कोमा पछिल्ला दुई सिजन फर्मका लागि संघर्षरत थिए । उनले यस क्रममा ११ गोलमात्र गरे ।

अन्य खेलाडीहरुले आशा गरे अनुसार खेलमा सुधार गर्न सकेका छैनन् भने फ्रान्सविरुद्धको जीतपछि ठूलो रकममा विभिन्न क्लबमा आबद्ध भएका खेलाडीहरुको खेल स्तर खस्किएको छ ।

फ्रान्समा ‘ट्रफी मार्च’ का दौरान निकै उदयमान खेलाडीको रुपमा आशा गरिएका १८ वर्षीय रेनाटो सान्चेजले टिममा स्थान बनाउन सकेनन् । त्यस्तै आन्द्रे गोमेज र नानी पनि विश्वकपको टोलीमा स्थान बनाउन असफल रहे ।

‘२३ जना खेलाडी चुन्न निकै कठिन थियो,’ अन्तिम टोली घोषणा गर्ने क्रममा पत्रकार सम्मेलनमा सान्तोषले भनेका थिए, ‘मैले निर्णय गर्नुपर्छ र मलाई थाहा छ मेरो निर्णयले सबैलाई खुसी बनाउने छैन ।’

‘पोर्चुगलको फुटबलमा सुनौलो इतिहास लेख्ने अडेर, नानी लगायतलाई नछान्नु निकै गाह्रो थियो । तर, मैले प्रतिस्पर्धामा राम्रो खेल्नेलाई छान्नुपर्ने हुन्छ ।’

१०० क्यापसहित सन् २००६ मा डेब्यु गरेका नानी पोर्चुगलबाट धेरै खेल खेल्ने खेलाडीमध्येमा पर्दछन् । युरोपछि निकै चर्चाका साथ उनलाई ८५ लाख युरोमा भ्यालेन्सियाले फेनरबाचेबाट अनुबन्ध गरेको थियो ।

तर, निकै निराश सिजनपछि उनलाई तत्कालै लाजियोमा लोनमा पठाइएको छ । त्यस यता उनले गतसिजन सबै प्रतियोगितामा इटालियन टोलीका लागि मात्र २५ खेल खेले । 

सोही समय आन्द्रे गोमेसले भ्यालेन्सिया छाडेर ३.५ करोड युरोमा बार्सिलोनासँग अनुबन्ध भए जसमा २ करोड पाउण्डको थप शर्तहरु थिए । तर, क्याम्प नाउ आएपछि उनको सिजन पनि निरश बित्यो । गोमेले आफै बार्सिलोना आएपछि डिप्रेशनको शिकार भएको बताएका थिए ।

यसमध्ये रेनाटो सान्चेज सबैभन्दा ठूलो निराशा बने । बेनफिका छाडेर ३.५ करोड युरो र ४ करोड थप सर्तहरुसहित बायर्न म्युनिखसँग अनुबन्ध भए । तर, उनले बायर्नका लागि पहिलो सिजन सबै प्रतियोगितामा मात्र २५ खेल खेले । लगत्तै उनी स्वान्सीसँग अनुबन्ध भए जहाँ उनले झन् १६ खेलमात्र खेले । उनको टोली अहिले प्रिमियर लिगबाट रेलिगेशनमा परेको छ ।

युरोकपपछि क्लब परिवर्तनमा गर्ने अर्का खेलाडी थिए जोआ मारियो । स्पोर्टिङबाट ४ करोड युरो तथा ५० लाख युरोका थप शर्तहरुसहित इन्टर मिलानसँग अनुबन्ध भएका मारियो, नानी र सान्चेजजस्तै पहिलो सिजनमा राम्रो खेल प्रदर्शन गर्न नसकेपछि, अर्को क्लबमा लोनमा पठाइए । गत सिजनको दोस्रो हाफ उनले वेस्ट ह्याममा बिताए ।

जोआ मारियो भने विश्वकपमको टोलीमा छन् र उनी क्लबभन्दा देशका लागि राम्रो खेल्ने खेलाडीको रुपमा चिनिन्छन् । सान्तोषको नजरमा पर्न उनले सिजनको दास्रो हाफमा निकै मिहिनेत गरे ।

यता, सान्चेज, नानी, अडेर र आन्द्रे गोमेजले २३ सदस्यीय टोलीमा स्थान नै बनाउन सकेनन् । उनीहरुको स्थानमा पोर्चुगलले बर्नाडो सिल्भा, ब्रुनो फर्नान्डेज, गेल्सन मार्टिन्स, आन्द्रे सिल्भा र गोनकालो गुइडेजलाई नयाँ जेनेरेसनको ट्यालेन्टको रुपमा पाएको छ ।

२४ वर्षीय विङ्गर सिल्भाले मोनाको र अहिले म्यान्चेस्टर सिटीमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले चोटका कारण युरो २०१६ गुमाए पनि दुई क्लबबाट लगातार दुई उपाधि जितेका छन् । उनी स्पेनविरुद्ध शुक्रबार हुने खेलमा शुरुवाती ११ मा अटाउने प्रबल सम्भावना रहेको छ ।

स्पोर्टिङका अट्याकिङ मिडफिल्डर २३ वर्षीय फर्नान्डेज रसियामा खेल्ने अर्का युवा खेलाडी बन्न सक्छन् त्यस्तै छन् उनका क्लबका समकक्षी २३ वर्षीय गेल्सन मार्टिन्स ।

स्ट्राइकर आन्द्रे सिल्भा पनि निकै धैर्यताका साथ आफ्नो मौकाको खोजीमा छन् । पोर्टोका पूर्व स्ट्राइकरको सन् २०१७–१८ मा एसी मिलानमा सिजन राम्रो रहेन । तर, पोर्चुगलका लागि २३ खेलमा १२ गोल गरिसकेका उनी सान्तोषका प्रिय हुन् ।

कप्तान क्रिस्टियानो रोनाल्डोसँगै गोनकालो गुइडेजले आक्रमणको नेतृत्व गर्ने सम्भावना छ । २१ वर्षीय विङ्गरले गत सिजन पेरिस सेन्ट जर्मेनबाट भ्यालेन्सियामा लोनमा बिताए । यस क्रममा उनले ५ गोल र ११ एसिस्ट गरे । गत हप्ता अल्जेरियाविरुद्ध उनले २ गोल गरे ।

त्यसैले, केही स्टार खेलाडीहरुको खेलमा ह्रास आए पनि पोर्चुगलको २३ सदस्यीय टोली उदयमान खेलाडीहरुले भरिपूर्ण रहेको छ । यद्यपि, कारभाल्होको सन्यास र ३५ वर्षीय पेपे मात्रको भरोसाले पोर्चुगलको डिफेन्स कमजोर देखिन्छ ।

‘युरो २०१६ खेल्ने टोलीभन्दा यो टोली सशक्त छ भनेर म भन्दिन,’ सान्तोषले भने, ‘तर, यो टोलीमा मेरो पूर्ण विश्वासाछ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप