शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करोडौँ ‘ठगी’ : उजुरीको चाङ, गृहमन्त्रीको शरण !

शुक्रबार, ०१ असार २०७५, १४ : ११
शुक्रबार, ०१ असार २०७५

काठमाडौँ । राजधानीको बालुवाटारस्थित कालिका टावरमा एउटा लगानी कम्पनीको कार्यालय छ । 

‘माई इन्भेस्टमेन्ट लिमिटेड’ नामक उक्त कम्पनीका अध्यक्ष अनिल गजमेरले सोही लगानी कम्पनीको आवरणमा करोडौँ ठगी गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको छ ।   

लगानीका लागि सार्वजनिक आह्वान नै गरेर उक्त कम्पनीको आवरणमा गजमेरले करिब ४ सय मान्छेबाट ५ लाखदेखि ३५ लाख दरले ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको काठमाडौँ प्रहरीले जनाएको छ । 

२०१० मा स्थापना भएको ‘माई इन्भेस्टमेन्ट लिमिटेड’मा भक्तपुरका निर्मलकुमार रिमाललाई गजमेरले ‘कम्पनीमा सेयर पनि दिन्छु, २५ प्रतिशत ब्याज पनि दिउँला’ भन्दै पटक–पटक गरेर ५४ लाख हाल्न लगाए ।

२०६८ जेठदेखि २०७१ भदौसम्म पटक–पटक गरेर ५४ लाख रुपियाँ लिएर २५ प्रतिशत ब्याज दिने ‘सहमती कागज’समेत बनाएर गजमेरले ठगी गरेको भन्दै निर्मल रिमालका छोरा सुमिर रिमालले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । 

‘सुमिर रिमालसहित धेरै मान्छेहरू ठगिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ’, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (डीएसपी) मोहन थापाले भने, ‘सर्वसाधारणलाई झुक्यानमा पारेर कानुन विपरीत लगानी गर्न आह्वान गर्दै ठगी गरेको देखिन्छ, थप अनुसन्धान गरिरहेका छौँ ।’ 

सुनसरीको इनरुवा नगरपालिका–१ स्थायी घर भएका गजमेरले निर्मल रिमालसहित अधिकांश मानिसहरूलाई ‘२५ प्रतिशत ब्याज दिन्छु’ भन्दै ‘सहमती कागज’समेत दिने गरेको पाइएको छ । मुलुकी ऐन लेनदेनको महलअनुसार १० प्रतिशतभन्दा बढी ब्याज लेनदेन गर्न मिल्दैन ।

बैङ्किङ कारोबार तथा लोनको काम गर्नका लागि नेपाल राष्ट्र बैङ्कको अनुमती लिनुपर्ने भए पनि गजमेरले त्यस्तो अनुमती नै नदिई प्रलोभनका पारेर करोडौँ ठगी गरेको बताइएको छ । 

निर्मलकुमार रिमालका छोरा सुमिर रिमालले काठमाडौँ प्रहरीमा दिएको जाहेरीमा ‘माई इन्भेस्टमेन्ट कम्पनीमा लगानी गरेमा वृद्धहरूलाई राम्रो हुन्छ, हाम्रो कम्पनीलाई ब्याज दिन समस्या छैन, ब्याजले मात्रै खान पुग्छ’, भन्दै प्रलोभनमा पारेर ठगी गरेको उल्लेख गरिएको छ । 

कत्तिपय ठूलो रकम लगानी गर्नेहरूलाई गजमेरले ब्याजबापत पाउने रकमसमेत साँवामा परिणत गराइदिउँला भन्दै प्रलोभनमा पारेर ठग्ने गरेको उनको ठगीबारे अनुसन्धान गरिरहेका एक सिनियर प्रहरी अधिकृतले जानकारी दिएका छन् । 

जेठ ६ गते मेनपावर व्यवसायी राधिका कटुवालको जाहेरीले पक्राउ परेका अनिल गजमेर उनको पैसा फिर्ता दिएपछि थुनामुक्त भएका थिए । 

‘माई इन्भेस्टमेन्ट लिमिटेड’ कम्पनीमा सेयर दिन्छु भन्दै राधिकासँग २०६७ सालमा ३५ लाख लिएका गजमेरले पहिलो ३ महिना १ लाखका दरले ब्याज दिएको बताइएको छ । 

त्यसपछि ८ महिनासम्म ७० हजारको दरले ब्याज दिएका गजमेरले लामो समयसम्म सेयर नदिएर बहाना बनाएपछि कटुवाल प्रहरीका शरणमा गएकी थिइन् । प्रहरीले पक्राउ गरेपछि उनले राधिकालाई ७ महिनापछिको चेक दिएर थुनमुक्त भएको काठमाडौँ प्रहरीले जनाएको छ । 

उजुरीको चाङ, गृहमन्त्रीको शरण 

अनिल गजमेरले ‘सेयर र ब्याज’को प्रलोभन देखाएर झुक्यानमा पार्दै ठगी गरेको बारे महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखामा उजुरीको चाङ लाग्न थालेको छ । अपराध महाशाखामा करिब आधा दर्जन दलित समुदायका पीडितहरूले उजुरी दिएका छन् । 

काठमाडौंस्थित बास्तोला समाजबाट पनि गजमेरले ३१ लख ठगी गरेको पाइएको छ । कतिपय गजमेरबाट पीडित भएकाहरूले जिल्ला अदालत काठमाडौँमा समेत मुद्दा हालेको बताइएको छ । 

राधिका कटुवालको उजुरीपछि पक्राउ परेका गजमेर राधिकालाई चेक दिएर गृहमन्त्रीको शरणमा पुगेका छन् । 

काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरेलले अनावश्यक धरपकड गरेको भन्दै गजमेरले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रहरीलाई ब्याक गराइदिन आग्रह गरेका थिए । 

गृहमन्त्री बादलले गजमेरलाई लिखित उजुरी दिन आग्रह गरेको गृहमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । गृह मन्त्रीको आग्रह बमोजिम गजमेरले प्रहरीविरुद्ध लिखित उजुरीसमेत दिएको बताइएको छ । 

लगानी कम्पनीको नाममा प्रलोभनमा पारेर ठगी गरेको बारे जिज्ञासा राख्दा अनिल गजमेरले ‘माई इन्भेस्टमेन्ट लिमिटेड’ पब्लिक कम्पनी भएको दाबी गर्दै  सेयर होल्डरसँगै ऋण लिएको बताए । 

उनले भने, ‘सेयर अलग्गै छ, जस्तो मिस्टर ‘ए’ को दुई लाख सेयर छ भने १० लाखसम्म ऋण कम्पनीले लिएको हो, करार ऐनअन्तर्गत ऋण सम्झौता गरेको छु ।’ 

करार ऐनअन्तर्गत कम्पनीले २५ प्रतिशतसम्म ब्याज दिने सम्झौता गर्न मिल्ने दाबी गर्दै उनले भने, ‘माई इन्भेस्टमेन्ट लिमिटेड लगानी कम्पनी हो, सहकारीले २० प्रतिशतसम्म ब्याज दिन्छन् मैले २५ प्रतिशत दिने सम्झौता गरेको हुँ, पब्लिक कम्पनीले त्यस्तो सम्झौता गर्न मिल्छ ।’ 

२०१० देखि २०१५ सम्म आफ्नो कम्पनी नेपालको बेस्ट रिटर्न गिभिङ कम्पनीमा परेको दाबी गर्दै गजमेरले २०१५ को भूकम्प र नाकाबन्दीपछि आफ्नो आर्थिक स्थिति बिग्रिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप