शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपाका खास–खास व्यक्तिलाई सरकारमा जान हतारो छ : वृषेशचन्द्र लालसँगको अन्तर्वार्ता

बिहीबार, ३१ जेठ २०७५, १० : ५४
बिहीबार, ३१ जेठ २०७५

राष्ट्रिय सभाका सदस्य एवम् राष्ट्रिय जनता पार्टी नेपाल उपाध्यक्ष वृषेशचन्द्र लाल पार्टीभित्र बौद्धिक नेताका रूपमा चिनिन्छन् । साहित्य रचना, विभिन्न पत्रपत्रिकामा विभिन्न लेखद्वारा आफ्ना विचारहरू प्रस्तुत गर्दै आएका लाल अहिले मातृशोकमा छन् । यता, राजपा नेपालभित्र बेथिति बढेकाबढै छन् । राजनीतिक समितिको बैठक स¥यास¥यै छ । पार्टीभित्र कति नेताले सरकारमा जानुपर्छ भनिरहेका छन्, कतिपयले जानु हुँदैन भनिरहेका छन् । यस्ता बेथिति र समस्याबाट गुज्रिरहेका राजपा नेपालका बारे उपाध्यक्ष लालसँग रातोपाटीका लागि गरिएको कुराकानीः

छवटा पार्टी मिलेर बनेको राजपा नेपाल अहिले निकै अप्ठ्यारोमा गएको महसुस गरिँदैछ, किन त्यस्तो ?
–जनताले मधेसका जति पनि दलहरू छन्, सबै दललाई एकजुट भएर आउनुपर्छ । तराई–मधेसमा आधारित मजबुत बृहत् राजनीतिक शक्तिको निर्माण गरेर आगाडि बढ्नुपर्छ भन्ने चाहना मधेसी जनताले राखेको थियो । त्यसैलाई शिरोधार्य गरेर मधेसका छवटा दलहरू मिलेर राजपा नेपाल बनेको हो हो । जनताले यस उपक्रमको समर्थन पनि ग¥यो र हामी सङ्घीय संसदमा महत्वपूर्ण अङ्गका रूपमा उपस्थिति दर्ज गर्न समर्थ भयौँ । तथापि सङ्ख्या आवश्यकता अनुरूप नभएको स्थिति छ । तर हामी सङ्घीय समाजवादी फोरमसँगै संयुक्त रूपमा प्रस्तुत भएका निर्वाचन क्षेत्रहरूमा जनताको राम्रो समर्थन पाएका छौँ । प्रदेश २ मा स्वशासनको प्रत्याभूति दिन समर्थ हुने गरी सङ्ख्या पायौँ । सङ्घीय संसदमा अहिलेसम्मको भूमिका सन्तोषजनक छ । निर्वाचित सांसदहरू राम्रो भूमिकामा प्रस्तुत हुने प्रयास गरिरहेका छन् । संविधान संशोधन, सङ्घीयता र जनताको प्रत्यक्ष सरोकारसँग सम्बन्धित कुराहरू उठाइरहेका छन् । छवटा पार्टी मिलेर दल निर्माण भएको छ । अहिले पनि दल निर्माणकै प्रकृयामा रहेको छ । छ दल मिलेका कारणले केही बहस, केही छलफल हुनु स्वभाविक हो । त्यसलाई अस्वाभाकि रूपमा लिनु हुँदैन जस्तो लाग्छ । पार्टी कुनै अप्ठ्यारोमा छैन । ठीक ट्र्याकमा गइरहेको छ । निर्माण प्रकृयामा रहेकाले अरूलाई लागेको होला कि राजपा नेपाल अप्ठ्यारोमा छ । तर वास्तविक त्यो होइन । 

प्रदेश २ मा राजपा र फोरम नेपालको संयुक्त सरकार गठन भएको छ । सो सरकारको बारेमा पनि विभिन्न प्रश्न उठेका छन्, तपाईंलाई कस्तो लाग्छ ? 
–प्रश्न उठ्नुलाई म अस्वभाविक रूपमा लिइदिनँ । काम गराइका क्रममा केही नकेही त्रुटि हुन्छन् । जसले काम गर्छ, त्यसैबाट त्रुटि हुने हो । त्यसलाई अन्यथा लिनु हुँदैन जस्तो लाग्छ मलाई । अर्को कुरा प्रदेश २ का सरकार सञ्चालनमा अनुभवको कमी छ जस्तो लाग्यो । त्यहाँ काम गर्न कानुन पनि पर्याप्त छैनन् । हालसम्म फोरम नेपाल र राजपा नेपालले न्यूनतम साझा कार्यक्रम पनि बनाउन सकेको छैनन् । न्यूनतम साझा कार्यक्रमको साथै विपक्षमा रहेका दलहरूसँग पनि छलफल गरेर लामो अवधिको सर्वदलीय सहमतिको योजना तयार गरिनुपर्छ । न्यूनतम साझा कार्यक्रम तयार गर्न सकियो भने देखिएका विवाद र असन्तुष्टि आफै हराएर जान्छन् । अर्को कुरा, सरकारलाई सहयोग गर्न दुई दल मिलेर प्रभावकारी राजनीतिक संयन्त्रको निर्माण पनि शीघ्र गर्नुपर्ने देखिन्छ । 

केही व्यक्तिहरूमा जिम्मेवारीको कमी देखिन्छ । उहाँहरूले मिडियामा दिइरहनु भएको अभिव्यक्तिका कारण पार्टीमा विवाद छ कि मतभेद छ कि भन्ने देखिन्छ । पार्टीले निर्णय नै नगरिसकेका विषयमा कतिपय नेताहरूले ‘पार्टीको यो लाइन हो’ भन्नु कदापी उचित होइन ।

तपाईंले भनेका यी कार्य गर्नमा किन ढिलाइ भइरहेको छ त ?
–हुनुपर्छ भनेर भनिरहेका छन् । केही कुराको सुरुवात पनि गरेका छन् तर प्रगति सन्तोषजनक छैन । मलाई लाग्छ, हाम्रा अध्यक्ष मण्डलका नेताहरू यी कार्यलाई प्राथमिकतामा राखेर सक्रिय हुनुपर्ने देखिन्छ । जबसम्म केन्द्रबाट यसको हस्तक्षेपकारी भूमिका देखाइँदैन तबसम्म सन्तोषजनकबाट काम आगाडि बढ्दैन । तर केही नभएको पनि होइन । थुप्रै कामहरू आगाडि बढेको छ तर देखिने गरी बाहिर आएको छैन । 

तपाईंको राजपा नेपालभित्र मतेक्यता छैन भन्ने सुनिन्छ, विभिन्न नेताहरूको फरक फरक धारणा आइरहेका छन्, खास कुरो के हो ? 
–पार्टीभित्र के कुरामा मतभेद छ, त्यो कुरा बाहिर आएको छैन । मैले अघि नै भने नि पार्टीभित्र कुनै प्रकारको मतभेद छैन । मतभेदको कुनै मुद्दा बाहिर आएको छैन । केही व्यक्तिहरूमा जिम्मेवारीको कमी देखिन्छ । उहाँहरूले मिडियामा दिइरहनु भएको अभिव्यक्तिका कारण पार्टीमा विवाद छ कि मतभेद छ कि भन्ने देखिन्छ । पार्टीले निर्णय नै नगरिसकेका विषयमा कतिपय नेताहरूले ‘पार्टीको यो लाइन हो’ भन्नु कदापी उचित होइन । उहाँहरूले यो मेरो व्यक्तिगत धारणा हो भन्दासम्म ठीक छ । तर तोकेर नै यो पार्टीको लाइन हो भनेर अभिव्यक्ति दिनु गलत कुरा हो । जबकि पार्टीले हालसम्म सरकारमा जाने, नजाने विषयमा कुनै निर्णय नै गरेका छैनन् । नेताहरूले बटमलाइन र अप्परलाइन नै नबुझेर त्यस्तो अभिव्यक्तिहरू दिन थाल्नुभएको छ । जुन पार्टी हित विपरीत हो । यस्तो अभिव्यक्ति दिएका कारण पार्टीभित्र मतभेद रहेको भ्रम भएको देखिन्छ ।

त्यसो भए सही कुरा के हो त तपाईं नै भन्दिनुस् न ?
–अहिलेको अवस्थामा सरकारमा जाने कुरा हाम्रो प्राथमिकताको विषय नै होइन । संविधान संशोधनका लागि राजनीतिक अभियान, प्रदेश २ मा स्वशासनको प्रत्याभूति दिलाउने गरी स्थायी र कर्मठ सरकार हाम्रो प्रथम प्राथमिकता हो । जनताको चाहना पनि यही हो । जनताले यही भूमिका दिएको छ । त्यसको पालना हुनु पर्छ । केही नेता र साथीहरूको बाहिर आइरहेको अभिव्यक्तिले कुन्नी किन खास–खास व्यक्तिलाई सरकारमा जाने हतारो भएको जस्तो लाग्छ । यो पार्टीको निर्णय होइन । व्यक्तिगत अभिव्यक्ति हो । म पनि व्यक्तिगत रूपमा नै भनिरहेको छु । मलाई लाग्छ, पार्टीका साथीहरू पनि यस्तै सोच्छन् । मधेसले दिएको भूमिका नै हाम्रो जिम्मेवारी हो । सबैको भविष्य पनि यसैमा निहित छ । पार्टीमा थुप्रै सम्भावनायुक्त र जनाधारका साथीहरू हुनुहुन्छ । सीमित समूह नै सबैथोक हो भन्ने सोच्नु गलत हो । 

तपार्इंहरूको बटमलाई रेशम चौधरीको रिहाइ र शपथग्रहण होइन ? 
–हो । अहिलेको हाम्रो बटमलाइन भनेको यही हो । जनताबाट चुनिएका एकजना सांसद अहिले थुनामा हुनुहुन्छ । जबकि उहाँले कुनै त्यस्तो अपराध गर्नुभएको छैन । उहाँले अपराध गरेको कुरा अहिलेसम्म पुष्टि पनि भएको छैन । तर राज्यले पूर्वाग्रही ढङ्गबाट उहाँलाई थुनेर राखेको छ । उहाँ रिहाइ हुनुपर्छ र शपथग्रहण गर्न पनि पाउनुपर्छ । हामी यसैका लागि लडिरहेका छौँ । तर यो मात्र हाम्रो मुद्दा होइन । मधेस मुद्दाका लागि नै रेशमजीले यति कष्ट भोगिरहनु भएको छ । जनताको समर्थन पनि मधेस मुद्दाप्रति उहाँको प्रतिबद्धताले हो । रेशमजी चौधरीलाई शपथ ग्रहण नगराएर सरकारले अन्याय गरिरहेको छ । जनताको मतको अपमान भइरहेको छ । सम्बन्धित निकायले जनताको मतको सम्मान गर्नु पर्छ ।

पार्टीको महाधिवेशन एक वर्षभित्र गर्ने भन्नुभएको थियो । एक वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म केही सुरसार छैन किन ? 
–पार्टीको महाधिवेशन पनि आवश्यक छ तर त्यसअघि पार्टीको साङ्गठनिक संरचना पनि सोची विचारी तय गरिनु पर्छ । यदि पार्टीभित्र बराबरी भागबण्डाको नीतिले सङ्गठनमा प्रभावकारिता राख्ने साथीहरू पछाडि पर्छन् । पार्टीलाई चुस्त दुरुस्त बनाउनका लागि गाउँदेखि केन्द्रसम्म निर्वाचनको प्रक्रियामा जानुपर्छ । तलैदेखि अधिवेशनको अभ्यास ग¥यो भने त्यसले सङ्गठनलाई मजबुत बनाउनुको साथै कार्यकर्ता तथा नेतामा जाँगर पनि आउँछ ।

महाधिवेशन भइसकेपछि अध्यक्ष मण्डलको आवश्यकता पर्छ कि पर्दैन ? 
–अध्यक्ष मण्डल अन्तरिम व्यवस्था थियो । एकीकरण होस् भनेर तत्कालका लागि मानेका हौँ । सदासर्वदा तदर्थवाद हावी हुनु हुँदैन । सामूहिक नेतृत्व चाहिन्छ र जरुरी पनि छ । तर समूहको पकड ठीक छैन । खास खास व्यक्तिका लागि मात्र सामूहिक नेतृत्व हुन्छ तर त्यसको प्रभाव तलसम्म देखिनु हुँदैन । यो आन्तरिक लोकतन्त्रको महत्वपूर्ण अभ्यास हो । नेता र पदाधिकारीहरू जो महाधिवेशनबाट आउँछन्, उनको सामूहिक नेतृत्व हुनसक्छ । अहिले समयानुकूल समझदारी हुन सक्छ । उदाहरणका लागि सुरुवातमा अध्यक्ष मण्डलबाटै पदाधिकारीहरू रहोस् । सामूहिक निर्णयले आगाडि बढ्ने व्यवस्था होस् । तर सबै महाधिवेशनको प्रक्रियाले मात्र हुनुपर्छ । यो नै ठीक हुन्छ ।

निर्वाचन आयोगले पत्र लेखेअनुसार चाँडो महाधिवेशन गराउने बाध्यता छैन ?
आयोगले अन्तरिम विधानअनुसार के भइरहेको छ भन्ने सोधेको जस्तो लाग्छ । सम्झना गराउनुसम्म ठीक हो । आयोगले किन यस्तो पत्र लेख्यो मलाई थाहा छैन । हतार हतारमा महाधिवेशनको कर्मकाण्डी प्रक्रिया चाहनेहरू यसले उत्साहित भए होलान् । अन्तरिम विधानमा सामान्य संशोधन जो अध्यक्ष मण्डलले नै गर्न सक्ने प्रवधान छ भए गरे भइहाल्छ नि ! महाधिवेशनको प्रक्रिया तलैबाट प्रारम्भ गर्नु पर्छ र गम्भीरतापूर्वक गर्नुपर्छ ।

पार्टीमा दुईटा गुट देखिन्छ । यस्तै रह्यो भने पार्टी विभाजन हुन्छ कि क्यो हो ? 
–पार्टी नै विभाजन हुने अवस्था आउँछ जस्तो मलाई लाग्दैन । तपाईंले भनेको जस्तो गुट पनि छैन । केही साथीहरूले प्रायोजित रूपमा पार्टी गुटको हल्ला चलाएका छन् । त्यसमा कुनै सत्यता छैन । 

सरकारलाई विश्वासको मत पनि दिनुभएको छ, उता विपक्षी बेन्चमा बस्नुभएको छ, किन यस्तो ?
–हामीले सरकारलाई विश्वासको मत दिएका छौँ । तर विपक्षको सिट ग्रहण गरेका छौँ । त्यसकारण विपक्षी हौँ । विपक्ष हुँदैमा सरकारको कुनै मुभको समर्थन नगर्ने भन्ने होइन । समर्थन गरेपछि सबैमा ‘हँ’ भन्ने पनि होइन । हो, सरकारमा सामेल भएपछि यस्तो अवस्था रहँदैन । तर राजपा सरकारमा सामेल हुँदैन किनभने जनताको यस्तो म्यान्डेट छैन ।

अन्त्यमा, प्रदेश २ को सरकार छाड्दै हुनुहुन्छ भन्ने हल्ला छ नि ?
–मधेसी जनताले फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार अर्थात मधेस सरकार बनाउने म्यान्डेट दिएको थियो । त्यसलाई राजपा नेपालले पालन गरिरहेको छ । प्रदेश २ को सरकार छाड्दा त्यो जनताको म्यान्डेट विपरीत हुन्छ र त्यो हामीले चाहेका पनि छैनाँै । दुई दलको संयुक्त सरकारलाई राजपा नेपालको तर्फबाट अनावश्यक समस्या हुँदैन भनेर हामीले पटक पटक प्रष्ट पारिसकेका छौँ । फोरम नेपालबाट नै त्यस्तो कुनै कदम चाल्यो भने त्यसमा केही भन्नु छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप