शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइनेः उपप्रधानमन्त्री यादव

बुधबार, ३० जेठ २०७५, १८ : ५४
बुधबार, ३० जेठ २०७५

सिन्धुपाल्चोक । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइने बताए । 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरेको प्राथमिक स्वास्थ्य केन्द्रको आज हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री यादवले भूकम्पले क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माण पनि छिट्टै सम्पन्न गर्ने बताए । 

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्ज र उपप्रधानमन्त्री उपेन्द्र यादवले संयुक्तरूपमा नवनिर्मित बाह्रबिसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रको बाह्रबिसे नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । 

‘भूकम्पले धेरै क्षति पुगेको जिल्लामध्ये सिन्धुपाल्चोक जिल्ला पनि एक हो, अमेरिकी सरकारले नेपाललाई आवश्यक पर्दा हरेक पल्ट सहयोग गरेको छ’, उपप्रधानमन्त्री यादवले भने । 


अमेरिकी राजदूत टेपलेट्जले भूकम्पपछि नेपालको कठिन घडीमा सहयोगी मित्रको भूमिका निर्वाह गर्न पाउँदा खुशी लागेको बताइन् । 

उनले भनिन्, ‘दुई देशको ७० वर्ष लामो मित्रता लाभदायी छ, विसं २०७२ को भूकम्पले क्षति पुगेपछि अन्य संरचनासँगै स्वास्थ्य केन्द्र क्षतिग्रस्त भए, यस्तो कठिन घडीमा सहयोगी हातको निकै ठूलो महत्व हुन्छ, तीमध्ये हामी एक सहयोगी बन्न पाउँदा खुशी लागेको छ ।’ 

बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुम्जो शेर्पाले बाह्रबिसे नगरपालिका विभिन्न समयमा विभिन्न विपत्तिबाट गुज्रिरहनुपरेको उल्लेख गर्दै नवनिर्मित स्वास्थ्य केन्द्रको भवनबाट जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । 

बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिनले बाह्रबिसे स्वास्थ्य केन्द्रबाट बाह्रबिसे नगरपालिका मात्र नभएर अन्य गाउँपालिकाका जनताले पनि लाभ लिने बताइन् । 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनतामार्फत आएको सहायताबाट १८ लाख डलरको लगानीमा बाह्रबिसे स्वास्थ्य केन्द्र निर्माण गरिएको हो । 

युएसएआइडीले भत्किएको स्वास्थ्य केन्द्र अवस्थित भवनमा दुई नयाँ भवन निर्माण गर्नुका साथै साविकको एक भवनको जीर्णोद्धार गरेको छ । सबै भवनलाई पूर्णरूपमा स्वास्थ्य मन्त्रालयका मापदण्डबमोजिम सुविधा सम्पन्न बनाइएको छ ।    
 
पन्ध्र श्ययाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले खतरामा रहेका शिशु र जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती महिला तथा आमालगायत ग्रामीण भेगका एक लाख १२ हजार मानिसलाई प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्ने बताइएको छ । 

अमेरिकी सरकारले विसं २०७२ भूकम्पपछि भूकम्प प्रतिकार्य तथा पुनरुत्थानमा रु १९ करोड अमेरिकी डलर लगानी गरेको युएसएआइडीले जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप