बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चार मन्त्रालयको विनियोजनमाथि संसद्मा छलफल

बुधबार, ३० जेठ २०७५, १७ : ३४
बुधबार, ३० जेठ २०७५

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलमा भाग लिने सांसदले खासगरी कृषि, सञ्चार, खानेपानी र कानून निर्माणका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखे । 

उनीहरुले आ–आफ्ना निर्वाचन क्षेत्र र जिल्लामा रहेको खानेपानी र सूचना प्रविधिसम्बन्धी समस्या र कृषि क्षेत्रको विकासका लागि छुट्याउनु पर्ने बजेट र तर्जुमा गर्नुपर्ने कार्यक्रमको बारेमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । 

बैठकमा सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्था तथा सहकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकमाथि छलफल भएको थियो । 

बैठकमा सांसदहरुले सरकारले ९७ प्रतिशत जनतामा स्वच्छ खानेपानीको पहुँच पुगेको दाबी गरेपनि खानेपानी कै अभावमा कतिपय जिल्लाका नागरिक बसाइँ सर्नु परिरहेको घटनाका समाचार आइरहेको उल्लेख गरे । 

सांसदहरुले गरिबी न्यूनीकरण नभएसम्म हलिया, चरुवा, कम्लहरीजस्ता कुप्रथाको अन्त्य हुन नसक्ने भन्दै त्यसको अन्त्यका लागि जनताको आयस्तरमा सुधार र जीवनस्तर उकास्ने कार्यक्रमलाई बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

उनीहरुले बजेटले कृषिलाई प्राथमिकता दिइएको भनिए पनि विनियोजन रकमको विश्लेषण गर्दा त्यो पुष्टि नभएको तर्क प्रस्तुत गरे र कृषि, खानेपानी, सूचना प्रविधिलगायतको विकासका लागि आवश्यक बजेट र कार्यक्रम थप गर्न सुझाव दिए । 

विनियोजन विधेयकमाथिको छलफलमा सांसद सत्या पहाडी, देवप्रसाद तिमिल्सिना, खगराज अधिकारी, रामबहादुर विष्ट, सुरेन्द्रकुमार यादव, विरोध खतिवडा, सत्यनारायण शर्मा खनाल, सरिता गिरी, खेमप्रसाद लोहनी, कृष्णप्रसाद दाहाल, तेजुलाल चौधरी, संजयकुमार गौतम, गंगा चौधरी सत्गौवा, सुरेशचन्द्र दास, मैनाकुमारी भण्डारी, मीना पाण्डे, चन्द्रकान्त चौधरी, दलबहादुर राना, शान्ता चौधरी, भवानीप्रसाद खापुङ, यज्ञप्रसाद बोगटी, अनिलकुमार झा र देवप्रसाद गुरुङले भाग लिएका थिए ।

यसअघि सांसद अतहर कमाल मुसलमान, भरतकुमार शाह, पार्वता डिसी (चौधरी), प्रकाश रसाईली, दुर्गा पौडेल र प्रेम सुवालले विनियोजन विधेयक, २०७५ अन्तर्गत उक्त मन्त्रालयका शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए । 

विनियोजन विधेयकअन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल आज सम्पन्न भएको छ । बिहीबार विहान ११ बजे बस्ने प्रतिनिधिसभाको अर्को बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र अर्थ मन्त्रालय शीर्षकमाथि छलफल हुने सभामुख कृष्णबहादुर महराले सदनलाई जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप