शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चीन भ्रमण मंगलबारबाट, भ्रमण दलमा को–को छन् ?

बुधबार, ३० जेठ २०७५, १६ : ३५
बुधबार, ३० जेठ २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । 


परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नेछन्  । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् । 

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने जनाइएको छ । त्यहाँ उनले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता समेत गर्ने तालिका रहेको छ  । 

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ । 


यस्ता छन् प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा
 
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रेलमार्गदेखि उर्जा सहयोगसम्मका विषयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।  दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको थियो । 

प्रधानमन्त्रीका रूपमा ओलीको पहिलो चीन भ्रमणमा नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौता गर्ने समझदारी भएको थियो । अहिले उक्त सम्झौताको प्रोटोकललाई अन्तिम रूप दिइनेछ ।

त्यसैगरी चीन भ्रमणमा तातोपानीस्थित मितेरी पुल र रसुवागढीमा स्याफ्रुबेँसी जोड्ने पुल निर्माणको प्राविधिक र आर्थिक सहयोगसम्बन्धी सम्झौता हुनेछ । गल्छी–रसुवागढी–केरुङ चार सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन आयोजनाबारे पनि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुनेछ ।

त्यस्तै ४ सय ५० मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव गर्ने तयारी छ ।  यसबाहेक प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंदेखि केरुङसम्मको रेलमार्ग निर्माणको समझदारी (मेमोरेन्डम अफ अन्डरस्ट्याडिङ) हुने सम्भावना छ । 

त्यस्तै रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको विषय पनि प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा छ । केरुङदेखि काठमाडौं जोड्ने रेलमार्गलाई नै काठमाडौंदेखि पोखरा र पोखरादेखि लुम्बिनी जोड्ने सरकारको योजना छ । 

त्यस्तै नेपाल र चीनबीच लगानी प्रवद्र्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता (बिप्पा)का विषयमा   बिप्पाका विषयमा ठोस समझदारी वा सम्झौता हुने सम्भावना छ ।  त्यस्तै,दुई देशबीच निजी क्षेत्रबीच ४० अर्बको संयुक्त लगानी सम्झौता हुने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप