शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वामपन्थी सरकार छ, महँगी बढाउन छुट छ !

बुधबार, ३० जेठ २०७५, १४ : ३९
बुधबार, ३० जेठ २०७५

काठमाडौँ– आर्थिक समृद्धिको आधार वर्षको नारा दिएर संसदमा पेश भएको आर्थिक वर्ष ०७५/७६ को बजेटले सम्पूर्ण विकास प्रेमी र आर्थिक समृद्धिको सपना बुनेकाहरूलाई ठूलै राहत दियो ।   यता जेठ १५ गते सरकारको बजेट भाषण नसकिँदै आम उपभोक्तामा मूल्य वृद्धिको त्रास पनि उत्तिकै थियो । 

सरकारले केही वस्तुको अन्तःशुल्कमा वृद्धि गरेको भन्दै व्यवसायी त्यसको फाइदा उठाउन बजेट भाषणको भोलिपल्टैदेखि मूल्य वृद्धि गर्न थालेका छन् ।  यद्यपि बजेट भाषणपछि बजारमा देखिने मूल्य वृद्धि भने यो नै पहिलो भने होइन । 

यसअघिका बजेट भाषणपछि पनि अनावश्यक मूल्य वृद्धिको मारमा आम उपभोक्ता पर्दै आएका थिए ।   समृद्धिको सपना देखाएको बजेटले आम नागरिकको भने मूल्य वृद्धिले ढाड सेकेको छ ।  भान्सामा प्रयोग हुने सामानलगायत सबै सामानको मूल्यमा रातारात फरक पाउँदा सार्वसाधारण आक्रोशित बनेका छन् ।  

यता सरकारबाहिर रहेका प्रतिपक्षी दलका युवा विद्यार्थीले मूल्य वृद्धिको विरोध गर्दै आइरहेका छन् । रातारात महँगिएको आम नेपालीको भान्साबारे सरकार भने बेखबर देखिएको छ । अर्थविद् डा. चन्द्रमणि अधिकारी बजेट भाषण हुने वित्तिकै रातारात मूल्य वृद्धि गर्नु उचित नभएको बताउँछन् ।

 ‘करको दर लागू भएको र पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण अरू सामानको भाउ बढ्नु स्वाभाविक भए पनि अहिले बजेट भाषण भएकै भोलिपल्ट मूल्य बढ्नु भनेको सरकारको अनुगमन नपुग्नु हो’, उनले भने । आफूले पेस गरेको बजेट कार्यान्वयनका लागि भए पनि सरकारले कसले के गरिरहेको छ, त्यसतर्फ नजर पुर्याउनुपर्ने उनको तर्क छ । 

सरकारले समयमै अनुगमन नगर्दा अहिले महँगी बढेको हो । अनुगमन नभएका कारण उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।  हामीले आम उपभोक्ताले बजेटपछि बजारभाउ कस्तो पाएका छन् भनेर बुझ्ने प्रयास गरेका छौं ।

बजेट भाषण पहिला र पछि सामान किन्नका लागि बजार छिर्दा बुद्धराज पाण्डेले मूल्यमा निकै फरक पाए । उनले कपडाको मूल्यमा १ देखि ३ सयसम्म बढेको बताए ।  काठमाडौँमा सामान्य काम गरेर जीविकोपार्जन गर्दै आएका पाण्डेलाई कपडाभन्दा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ज्यादै वृद्धि भएको लाग्यो । 

उनी भन्छन्, कपडा कहिलेकाहीँ फेरौँला तर दैनिक उपभोग्य सामान दाल, चामल, नुन, तेललगायत भान्सामा प्रयोग हुने सामानको मूल्यवृद्धि हुँदा हामीजस्ता दैनिक काम गरेर खानेलाई समस्या भएको दुखेसो पोखे ।’ 

उनले थपे, ‘बजेट भाषण जेठमा भयो, कार्यान्वयन साउनमा हुन्छ तर मूल्यवृद्धि जेठदेखि नै भयो । बजेट भाषणपछि मूल्यवृद्धि गर्छन् भन्ने कुरा सरकारलाई राम्रोसँग थाहा छ । तर सरकारले कुनै चासो दिएको छैन ।’ 

कविता उप्रेती: उनी नयाँ बानेश्वरमा कपडा छान्दै थिइन् । कुराकानीका क्रममा बजेट भाषणपछि सबै सामानको मूल्य बढेको बताइन् ।  ‘मूल्यवृद्धिको के कुरा गर्नु ? एउटा अण्डामा पाँच रुपियाँ बढेको छ’, उनले भनिन्, ‘हरेक सामान बजेट भाषणभन्दा पहिलेको मूल्यमा पाइँदैन ।

धार्नीको ७०, ८० रुपियाँमा पाइने आलु अहिले एक सय २० भन्दा बढी भएको छ । किन महँगो भयो भन्दा हामीले होइन, उतैबाट यस्तो भएर आएको जवाफ दिन्छन् ।’ 

कृष्ण तिमल्सिना  ः उनको नयाँ बानेश्वर चोकमा संसद भवनको अगाडि ओरेन्ज फेसन नामको कपडा पसल छ । यहाँ कपडा पसल थालेको ७ वर्ष भयो । उनको पसलमा पनि बजेट भाषणपछि कपडाको पनि मूल्यवृद्धि भयो । मूल्यवृद्धि यो वर्ष मात्रै होइन प्रत्येक वर्ष हुँदै आइरहेको छ । यसपालि पनि त्यही क्रम दोरियो । कृष्णका लागि यो नौलो भने होइन ।  

बजेट भाषणपछि मूल्यवृद्धि गर्नुभएको हो भन्ने हाम्रो प्रश्नमा उनले भने– ‘मूल्यवृद्धि हामीले गरेको होइनौँ, उतैबाट वृद्धि भएर आएको हो ।’  कपडा अर्काे देशबाट ल्याउने र बजेट भाषणपछि भन्सार दर बढ्ने हुँदा कपडाको पनि मूल्यवृद्धि भएको बताए । 

कृष्ण भन्छन्– ‘मैले असनको होलसेल पसलबाट कपडा ल्याउने हो । बजेट भाषणभन्दा पहिला एक सय रुपियाँ कममा आउने कपडालाई अहिले सय रुपियाँ बढी थप्नुप¥यो । त्यसैले मैले पनि हरेक कपडामा एक सय बढाएँ ।’

रौतहटका दिनेश चौधरीले त्रिपुरेश्वरमा फलफूल व्यवसाय गरेको ३ वर्ष भयो । उनलाई पनि मूल्यवृद्धि भएको राम्रोसँग थाहा छ । एक बोरा मौसम १८ देखि २ हजार रुपियाँसम्ममा पाइन्थ्यो । तर अहिले ३ हजार पुगेको छ । सबै प्रकारका फलफूलको मूल्य बढिरहेको दिनेश बताउँछन् । तर उनलाई बजेट भाषणले भन्दा पनि गर्मी बढेका कारण मूल्य वृद्धि भएको हो कि भन्ने लागेको रहेछ । 

सीता चौलागाईंले नयाँ बानेश्वरमा जुत्ता पसल गरेको ८ वर्ष भयो । उनको पसलमा बजेट भाषणपछि नयाँ सामान आएको छैन । आउने तयारीमा छ । उनी पनि नयाँ सामान आएपछि मूल्य बढाउने तयारीमा छिन् । ‘ग्राहकले कति धेरै महँगो रहेछ भन्छन् । तर के गर्नु, हामीलाई पनि समस्या छ २ देखि ३ सय रुपियाँसम्म मूल्यवृद्धि भएको  छ । सबै वस्तुमा पहिलाको भन्दा मूल्य बढेको छ । यो प्रत्येक वर्ष हुने कुरा हो ।’ उनले भनिन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप