शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहकारीबाट ऋण लिएर गाईपालन

बुधबार, ३० जेठ २०७५, ०८ : ४१
बुधबार, ३० जेठ २०७५

स्याङ्जा - स्याङ्जाको भरकोट नगरपालिकाका विभिन्न स्थानका किसानले व्यावसायिक रुपमा गाई पालन गर्दै आएका छन् । 

भिरकोट–१ बयरघारीमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारीले संस्थामा आबद्ध शेयर सदस्यलाई गाई पाल्न प्रोत्साहन गर्दै समूहमार्फत ४० लाख बिना धितो ऋण उपलब्ध गराएपछि किसान यस पेशाप्रति आकर्षित भएका हुन् । 

“संस्थामा आबद्ध ३१ जना शेयर सदस्यले जर्सी र होलिस्टिन जातका गरी कूल १११ वटा गाई पाल्दै आएका छन्” सहकारी संस्थाका प्रबन्धक लेखबहादुर केसी (किरण)ले भने, “हाल किसानले पाल्दै आएका गाईबाट दैनिक ६५० लिटर दूध उत्पादन हुँदै आएको छ ।” 

किसानले उत्पादन गरेको दूधलाई सहकारीले घरघरमै पुगेर संकलन गर्ने व्यवस्था मिलाएको छ । यहाँ उत्पादन भएको दूधमध्ये ५० लिटर स्थानीय बयरघारी बजारमा खपत हुने गरेको छ भने ६०० लिटर दूध फिस्टेल डेरी पोखरासँग गुणतर कायम गरी प्रतिलिटर रु ४७ सम्झौतामा पोखरा लैजाने व्यवस्था मिलाएको सहकारीले जनाएको छ । 

संकलित दूध संकलनका लागि बयरघारी बजार नजिकै एक हजार लिटरको एउटा र पाँच÷पाँच सय लिटरका दुई गरी दुई हजार लिटरका चिस्यान केन्द्र स्थापनासमेत गरिएको छ । 

“सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर शेयर सदस्यका लागि आयस्तर वृद्धि गर्ने संस्थाको उद्देश्य हो” प्रबन्धक केसीले भने, “भीरकोट तथा यस क्षेत्रलाई दुधको पकेट क्षेत्रको रुपमा स्थापित गराउँदै आर्थिक अभावका कारण विदेशिने युवालाई स्वदेशमै स्वरोजगार बनाउने कार्यका लागि हामी निरन्तर लागिरहेका छौँ ।” 

दुई वर्षदेखि संस्थाले यो अभियान चालेको र समूहमार्फत कर्जा प्रवाह गर्दै आएको संस्थाले एकजना शेयर सदस्यलाई बढीमा बिनाधितो पाँच वटासम्म गाई खरिदका लागि करीब पाँच लाख लगानी गर्दै आएका छन् । 

सहकारीले समूहमार्फत लगानी गरी खरिद गरिएका गाईको सुरक्षाका लागि बीमा कम्पनी र किसानबीच सहजीकरणको भूमिका खेल्दै आएको छ । सहकारीले गाईका लागि आवश्यक पर्ने गुणस्तरीय दाना, चोकरको व्यवस्था गरी किसानको घरदैलोमा पु¥याई सहयोग गर्दै आएको छ । 

दुई वर्षअघि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख ऋण लिएर गाई पाल्दै आएकी भिरकोट–६ ठाडाहटिया सिमलचौरकी कमला गोदारले अहिले सातवटा गाई पाल्दै आएकी छन् । 

जर्सी र होलिस्टिन जातका गाईको क्रसबाट जन्मेका गाई पाल्दै आएकी गोदारले हाल दैनिक ३३ लिटर दूध बिक्री गर्दै आएकी छन् । 

“अहिले गाईहरु ब्याउनी छन् दूध घटेको अवस्था छ” महिला पशु व्यवसायी गोदारले भनिन्, “कुनै बेला दैनिक ४५ लिटरसम्म दूध बिक्री गरेकी थिएँ ।” 

सबै खर्च कटाएर मासिक रु २५ हजार बढी बचत गर्दै आएकी गोदार यो पेशाबाट सन्तुष्ट छिन् । उनी एक्लैले सञ्चालन गरेको व्यावसायिक गाईपालनका लागि दुई रोपनी क्षेत्रफलमा नेपियर घाँस लगाएकी छन् । 

विदेशबाट बिदामा घर आएका बेला गाई पालन गर्ने सोच बनाएर गाईपालन व्यवसाय थालेका भिरकोट–१ हेकडाँडाका लक्ष्मण केसीको फर्ममा अहिले पाँच वटा जर्सी गाई छन् । “विदेशी भूमिको गर्मीमा श्रम गरेर पसिना बगाउनभन्दा आफ्नै परिवारसँगै बसेर व्यावसायिकरुपमा गाई पाल्ने सोच बनाएँ” पशु व्यवसायी केसीले भने, “विदेशमा कमाउने पैसा स्वदेशमै काम गरेर कमाउन सकेकोमा म यो पेशाबाट सन्तुष्ट छु ।” 

एक वर्ष अघिदेखि गाईपालन व्यवसाय थालेका केसीले अहिले दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन् । केसीको फर्ममा रहेका चार वटा गाई अहिले ब्याउनी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप